सिन्धुपाल्चोक । किसानलाई खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । मानो रोपेर मुरी उब्जाउन दिनरात पसिना बगाइरहेका किसान धानबालीमा हाल्न रासायनिक मल नपाएर हैरान छन् । तर सिन्धुपाल्चोकको तातोपानी भन्सारमा दुई महीनादेखि करीब १० हजार बोरा युरिया मल थन्किएर बसेको छ ।
तातोपानी भन्सारमा गत वैशाख २५ गते २ हजार १० बोरा युरिया मल आइपुग्यो । मल आएपछि खेतबारीमा हाल्न खाँचो नहुने भयो भन्दै कृषक उत्साहित भए । लगातार मल आउने क्रम बढ्दै गएपछि खुशी भएका किसान सो मल दुई महीनादेखि नाकामै थन्किँदा निराश बनेका छन् ।
भोटेकोशी गाउँपालिका–१ लिस्तीकोटका सुनबहादुर तामाङले मल आएर गोदाममा थन्किएको लामो समय भइसक्दा समेत किसानले नपाएको दुःखेसो गरे । ‘मल यहाँ आएर बसेको छ, आफूले खेतमा हाल्न नपाएर बाली बिग्रिसक्यो,’ उनले भने । उनको जस्तै गुनासो भोटेकोशी गाउँपालिका–३ का माइला थामीको पनि छ । किसानलाई चाहिने बेला आएको मललाई समेत विक्रीवितरण गर्न नसक्नु सरकारको कमजोरी रहेको उनले बताए । ‘आवश्यक परेको बेला मल नपाए अघिपछि के काम ? सरकारले तुरुन्तै मल विक्रीवितरणको मेसो मिलाउनुपर्छ,’ उनले भने ।
नाकामा वैशाख २५ गते २ हजार १० बोरा, २६ गते २ हजार २७ बोरा, २७ गते १ हजार ९८० बोरा, २९ गते २ हजार १२ बोरा र ३१ गते १ हजार ९४२ बोरा गरी सो प्याकेजमा कुल ९ हजार ९७१ बोरा मल आइपुगेको थियो ।
आयातकर्ता र सरकारबीचको बेमेलका कारण ती मल नाकामा अड्किएको दुई महीना भइसकेको छ । भन्सार कार्यालयले सो मल उठाउन पटकपटक ताकेता गर्दा पनि आयातकर्ताले लगेका छैनन् । भन्सार नियमावली अनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रक्रिया पुर्याएर जफत गर्न सकिन्छ । सो मल उठाउनुपर्ने अन्तिम मिति असार ३१ गतेसम्म पनि आयातकर्ताले मल नलगे जफत गर्ने तयारीमा भन्सार कार्यालय छ । तर उक्त म्यादपछि पनि मनासिव कारण देखाउन सके आयातकर्ताले थप समय पाउने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।
‘हामी मलको भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार छौं, तर सम्बन्धित कम्पनी भन्सार प्रक्रिया गराउन आएको छैन,’ गौतमले भने । उक्त मल विध म्यानेजमेन्ट, ग्लोबल म्याटिक्स, सिनोम्याक्स र सिल्क ट्रान्सपोर्टले संयुक्त ठेक्का पारेर चीनबाट नेपाल भित्र्याएका हुन् । मल भन्सारमा आइपुगेपछि उनीहरूबीच कुरा नमिल्दा गोदाममै अड्किएको हो । यही परिमाणको मल तिब्बतको खासा क्षेत्रमा समेत अड्किएर बसेको छ ।