काठमाडौं । धेरै दिनपछि बुधवार नेप्सेमा उच्च अंकको बृद्धि देखिएपनि त्यो बृद्धि बिहीवारसम्म पनि टिक्न सकेन । बुधवार ६२ दशमलव २५ अंकले बढेर २ हजार ६७३ दशमलव ६९ विन्दुमा पुगेको नेप्से बिहीवार १२ दशमलव शून्य ४ अंकले घटेर २ हजार ६६१ दशमलव ६४ विन्दुमा बन्द भएको हो । यो दिन २ हजार ६८७ दशमलव ३८ विन्दुसम्म नेप्से पुगेको थियो भने २ हजार ६५५ दशमलव ७९ विन्दुसम्म झरेको थियो । निकै उतारचढाबकाबीच बिहीवार नेप्से परिसूचक घटेर बन्द भएको हो । पछिल्लो समय गभर्नर नियुक्तिको विषयमा देखिएको अन्योलताले लगानीकर्ताको मनोबल उच्च हुन नसकेको टिप्पणी जानकारहरूले गरेका छन् । गभर्नर नियुक्तिले चाडै पूर्णता पाए बजारमा देखिएको अन्योलता पनि हटेर जाने तर्क जानकारहरूको छ ।
बिहीवार घटेको बजारमा १५० कम्पनीको धितोपत्र मूल्य घटेको छ भने ९६ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यस दिन सिन्धु विकास बैंकको शेयर मूल्य सर्वाधिक ४ दशमलव १५ प्रतिशत अर्थात् प्रतिकित्ता ३८ रुपैयाँ ८३ पैसाले घटेर अन्तिम मूल्य प्रतिकित्ता ८९१ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
पछिल्लो समय निरन्तररूपमा उच्च दरमा बढ्दै आएका दुई लघुबीमा कम्पनीसँगै पाँच कम्पनीको शेयर मूल्य बिहीवार उच्च दरमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रो र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । यो दिन आईसीएफसी फाइनान्सको शेयर मूल्य ९ दशमलव ७४ प्रतिशत बढेको छ ।
बजार घटे पनि कारोबार रकम यस दिन बढेको छ । बुधवार १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको २ करोड ७२ लाख ४५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको ३ करोड ७ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यस दिन ङादी ग्रुप पावरले कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको छ । कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता १ रुपैयाँ ६२ पैसाले घटेर अन्तिम मूल्य ३८८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
अघिल्लो दिन ४४ खर्ब ४७ अर्ब ५७ करोड १४ लाख रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा बिहीवार ४४ खर्ब २७ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यो दिन कुल बजार पूँजीकरण २० अर्ब रुपैयाँभन्दा बढीले घटेको हो ।
यो दिन लामो टुप्पी र छोटो पुच्चर भएको रातो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा बजार घट्ने संकेत गर्दछ ।
बिहीवारको कारोबारमा वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३० प्रतिशत बढेको छ भने व्यापारिक समूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ । यो दिन वित्तसँगै जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको परिसूचक बढेको छ । व्यापारिक समूहसँगै यो दिन बैंकिङ्, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक घटेको छ ।