नेपालले विकासको मुखै नदेखी बूढो राष्ट्र बन्ने हो कि भन्ने आशंका बढिरहेको अवस्थामा राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को जनगणनामा आधारित भएर सोमवार सार्वजनिक गरेको जनसंख्या संरचनासम्बन्धी प्रतिवेदनले सन् २०५४ मा नेपाल वृद्धवृद्धाको समाजमा रूपान्तरण भइसक्ने प्रक्षेपण गरेको छ । तर, प्रतिवेदनअनुसार सन् २०४२ सम्ममात्र नेपालले जनसांख्यिक अवसर अर्थात् (काम गर्न सक्ने उमेरसमूहको जनसंख्याको बाहुल्यबाट हुने फाइदा) पाउने देखिन्छ । यस अवधिमा नेपालले तीव्र गतिको आर्थिक विकास प्राप्त गर्न सकेन भने त्यसपछिका दिन निकै समस्यायुक्त हुने देखिन्छ ।
जनसांख्यिक संरचनाको परिवर्तन विश्लेषण गर्दा अहिले नै नेपाल वृद्धवृद्धाको समाजतर्फ अग्रसर हुन थालेको देखिन्छ । अहिले ६० वर्षमाथि उमेर भएका मानिसहरूको संख्या १० प्रतिशत नाघिसकेको देखिन्छ । ६४ वर्षमाथि उमेर भएकाहरूको संख्या पनि ६ प्रतिशत नाघिसकेको छ । तर, जनसंख्या वृद्धिको दर भने ओरालो लाग्न थालेको छ । त्यसमा पनि युवा जनसंख्याको ठूलो अंश विदेश पलायन भइरहेको छ । यसरी पलायन भएकाहरूमध्येको एउटा अंश नेपाल नफर्किने गरी विदेशिएको छ । यसरी ६० वर्षमाथिका जनसंख्या बढ्दै जाने र १५ वर्षमुनिका जनसंख्या घट्दै जान थाल्यो भने विकास र सम्पन्नतामा पछाडि परिरहेको नेपालको हकमा गम्भीर असर पर्ने निश्चित छ । नेपालले अहिले नै सञ्चालित सामाजिक सुरक्षाका लागि स्रोतको अभाव झेल्न थालिसकेको छ । सरकारले स्वास्थ्यबीमा कार्यक्रमको पैसा भुक्तानी गर्न सकेको छैन । सयभन्दा बढी सामाजिक सुरक्षा कार्यक्रमका लागि दिगो स्रोत आवश्यक देखिन्छ । यसका लागि मुलुकले आर्थिक विकास गर्नु आवश्यक छ । तर, नेपालको अर्थतन्त्रको गति सुस्त छ र पूर्वाधार निर्माणलगायतका काम कछुवा गतिमा छ ।
- प्रगति सुस्त हुने र जनसंख्या वृद्धिदर घट्ने प्रक्रियाले मुलुकमा काम गर्न सक्ने उमेरको जनशक्ति कम हुनेछ ।
- राजनीतिक परिवर्तन र क्रान्तिमै नेपालले धेरै समय बिताइसकेको छ ।
जनसंख्या वृद्धिदर घट्न थालेको छ भने औसत आयु बढिरहेको छ । यसबाट काम गर्ने उमेरसमूहको जनसंख्या कम हुनेछ भने बसीबसी खानुपर्ने वृद्धवृद्धाको संख्या बढी हुनेछ । यस्तो जनसांख्यिक संरचना अहिले विकसित देशहरूमा देखिन्छ । ती देशमा अहिले युवा जनसंख्याको अभाव भएकाले विकास निर्माणका काम गर्न तथा आर्थिक गतिविधि अघि बढाउन अन्य देशको जनशक्ति आकर्षण गर्न थालिएको छ । उदाहरणका लागि जापानलाई लिन सकिन्छ । चीनमा पनि बिस्तारै युवा जनशक्तिको कम हुन थालिसकेको छ । प्रविधिमा उच्चता प्राप्त गरेका कारण ती देश एआईबाट सञ्चालित रोबोट उत्पादनमा लाग्न थालेका छन् । नेपालमा भने प्रतिव्यक्ति आयदेखि पूर्वाधार निर्माणसम्म सबै क्षेत्रमा प्रगति निराशाजनक छ । प्रगति सुस्त हुने र जनसंख्या वृद्धिदर घट्ने प्रक्रियाले मुलुकमा काम गर्न सक्ने उमेरको जनशक्ति कम हुनेछ ।
प्रतिवेदनअनुसार अबका २१ वर्षमा वृद्धवृद्धाको जनसंख्या अहिलेको दाँजोमा दोब्बर पुग्नेछ । यसअनुसार सन् २१११ मा नेपाल बुढ्यौली समाज बनिसक्नेछ । केही दशक अगाडिसम्म नेपालमा १५ वर्षभन्दा कम उमेरका मानिसको संख्या ४० प्रतिशत रहेकोमा अहिले त्यो घटेर २८ प्रतिशतमा ओर्लिएको छ । काम गर्न सक्ने उमेर (१५–६४ वर्ष)का मानिसहरू अहिले पनि ६५ प्रतिशतको हाराहारीमा रहेको छ । ६४ माथिका चाहिँ पुगनपुग ७ प्रतिशत रहेको पाइन्छ । त्यसैले अहिले नेपालसँग विशिष्ट अवसर रहेको छ । तर, यो अवसर उपयोग गर्न नेपाल चुकिरहेको छ ।
नेपालको विकास निर्माणमा राजनीतिक अन्योल र नीतिगत अस्थिरता ठूलो बाधक बनेको छ । राजनीतिक नेतृत्व सत्ताको नेतृत्व लिने होडबाजीमा मात्रै रमाइरहेको छ । विकास र आर्थिक चिन्ताको विषय तिनको उच्च प्राथमिकता र प्रतिबद्धतामा परेको पाइन्छ । यद्यपि भाषण र दस्तावेजमा भने विकासका राम्रा कुरा पर्ने गरेका छन् । सरकारले विकास निर्माणका लागि ज्यादै न्यून बजेट विनियोजन गर्ने गरेको छ र त्यस्तो बजेटको उपयोग निराशाजनक छ । राजनीतिक परिवर्तन र क्रान्तिमै नेपालले धेरै समय बिताइसकेको छ । तर, अझै यसबाट बाहिर निक्लिएर आर्थिक विकासमा केन्द्रित हुन सकेको छैन । तत्कालै यस्तो प्रवृत्ति अन्त्य हुने स्पष्ट आधार पनि देखिँदैन । त्यसैले जनसांख्यिक अवसर गुम्ने अवस्था देखिएको छ । अतः सरकार, राजनीतिक नेतृत्वले राष्ट्रिय अठोटका साथ विकासलाई तीव्रता दिन आवश्यक छ ।