दक्षिण एसियाका अधिकांश देशहरू तीव्र आर्थिक वृद्धि हासिल गरिरहेका छन् । तर उनीहरूको लागि दक्ष र विश्वस्तीय रूपमा प्रतिस्पर्धी जनशक्तिको आवश्यकता छ । तर यस्ता जनशक्ति राम्रो अवसरहरूको खोजीमा विदेश जानु (ब्रेन ड्रेन) दक्षिण एशियाली देशहरूका लागि ठूलो चुनौतीको रुपमा उभिएको छ ।
नेपालमा, हरेक वर्ष पाँचमध्ये एक युवा विदेशमा अध्ययनको लागि जाने गर्छन् । सन् २०२१ को तथ्यांक अनुसार विशेष गरी अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका, बेलायत र भारततिर जाने गरेका छन् । बढ्दो युवा जनसंख्याको वृद्धि र मध्यम वर्गको बढ्दो समृद्धिसँगै यो प्रवृत्ति थप बढ्ने अनुमान गरिएको छ ।
नेपालमा विदेश अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या सन् २०१७ मा ४४ हजार २५५ बाट सन् २०२२ मा ९५ हजार २६८ सम्म पुग्यो । जसका कारण नेपालमै उच्च शिक्षा हासिल गर्न कलेजहरूमा गरिने नामांकनमा गिरावट आएको ब्रिटिश काउन्सिलको एक अध्ययनले खुलाएको छ ।
‘नेपालमा पनि कलेज जाने उमेरका मानिसहरूको संख्यामा तीव्र गतिमा विकास भएको छ । नेपाल पनि सबैभन्दा बढी यस्तो जनसंख्या वृद्धि हुने देशहरूमध्ये पर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२१ मा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या १९ प्रतिशतले बढेको थियो, जुन चीन र भारतको भन्दा निकै उच्च हो ।’
प्रतिवेदन अनुसार भारत र चीनबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्याको वृद्धिदर २ प्रतिशतभन्दा कम थियो । यसले नेपालको जनसंख्याको आधारमा नेपालीहरू विदेश पढ्न जानेहरूको अनुपात उच्च रहेको देखाउँछ ।
दक्षिण एशियामा उच्च शिक्षाका चुनौती
दक्षिण एशियाको जनसंख्या लगभग २ अर्ब छ र यो क्षेत्रमा तीव्र गतिमा वृद्धि हुँदै गरेको युवा जनसंख्या छ । तर विश्वविद्यालयमा भर्नाका लागि उपलब्ध सिटहरू मागको तुलनामा कम छन् । श्रीलंकाका विश्वविद्यालयमा वर्षको ४४ हजार सिट मात्र विद्यार्थीका लागि उपलब्ध छ । जबकि त्यहाँ १ लाख ७१ हजार सिटको माग छ ।
त्यसैगरी, भारतमा हाल वार्षिक ४ करोड ३० लाख विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन्छन् । आगामी दशकमा ५० प्रतिशत नामांकन अनुपातको लक्ष्य हासिल गर्न विश्वविद्यालयहरूको विद्यार्थी भर्ना गर्नसक्ने क्षमता दोब्बर गर्नु पर्नेछ ।
सन् १९५९ मा स्थापित त्रिभुवन विश्वविद्यालय देशका अधिकांश विद्यार्थीलाई शिक्षा दिने प्रमुख विश्वविद्यालय रहँदै आएको छ । यसले आफ्ना केन्द्रीय विभागहरू, आंगिक क्याम्पस र सम्बद्धता लिएका कलेजहरूमार्फत शिक्षा दिन्छ ।
विगतका दशकहरूमा शैक्षिक संस्थानहरूको संख्या र विद्यार्थी भर्ना बढेको भए पनि उच्च शिक्षाको गुणस्तर र मानकको बारेमा चिन्ता कायम छ ।
गुणस्तर मापदण्डहरूको कमजोर कार्यान्वयनले कक्षा शिक्षणको गुणस्तरमा गिरावट, उच्च असफलता दर र शैक्षिक प्रमाणपत्रको मानकमा प्रश्न उठेको छ । अध्ययनका अनुसार प्रशासनिक ढिलाइ, अनुसन्धानको लागि सीमित वित्तीय सहायता र विद्यार्थीहरूको लागि अपर्याप्त वित्तीय सहयोग जस्ता शासन प्रणालीको अप्रभावकारिताले नेपालको उच्च शिक्षा क्षेत्रलाई अझै अवरोध पुर्याएको छ ।
अन्तरदेशीय अध्ययन (ट्रान्सनेशनल एजुकेशन्स)को भूमिका
विशेषज्ञहरूका अनुसार ट्रान्सनेशनल एजुकेशन (टीएनई) कार्यक्रमहरूले दक्ष जनशक्ति देशभित्रै राख्न मद्दत गर्न सक्छ किनभने उनीहरू विश्वव्यापी मान्यता प्राप्त पाठ्यक्रमहरूको अध्ययन विदेश नगई गर्न सक्छन् ।
ट्रान्सनेशनल एजुकेशनको फाइदा अभिवृद्धि गर्न यी पाठ्यक्रम स्थानीय शीप विकासको आवश्यकता र अर्थतन्त्रको मागसँग मेल खाने हुनुपर्छ ताकि ब्रेन ड्रेनको तीव्रता रोक्न सकियोस् ।
अध्ययन प्रतिवेदन अनुसार शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयमा दर्ता भएका ५९ ओटा निजी उच्च शिक्षा संस्थाले ३४ ओटा विदेश संस्थासँग सहकार्य गरेर स्नातक र त्योभन्दा उच्च तहको शिक्षा प्रदान गरिरहेका छन् । विदेशी शिक्षण संस्थाहरू मुलतस् बेलायत र मलेसियाका छन् ।
ट्रान्सनेशनल एजुकेशन्ससम्बन्धी साझेदारीबाट प्राप्त सबैजसो शिक्षा काठमाडौंमा केन्द्रित छन् ।
नामांकन वृद्धि र स्नातकोत्तर तहको शिक्षाको बढ्दो मागका बीच ट्रान्सनेशनल एजुकेशन्सले व्यापक अवसरहरू प्रदान गर्दछ । शिक्षाको हब र भर्चुअल अध्ययन विधिले दिगो विकासलाई सहयोग पुर्याउन सक्छ । यस्तो अध्ययन व्यवसायसम्बन्धी शिक्षा, सूचना प्रविधि, इन्जिनियरिङ, आतिथ्य र भाषाको क्षेत्रमा गर्न सकिन्छ ।
तर, नेपालमा ट्रान्सनेशनल एजुकेशन्सका कार्यक्रमहरूले केही चुनौतीहरू सामना गर्दैछन् । प्रमाणीकरणमा ढिलाइ, प्रतिबन्धात्मक नियमन (एक वर्षमा दुईओटा मात्र नयाँ ट्रान्सनेशनल एजुकेशन्स)को स्वीकृति दिने, इन्जिनियरिङ काउन्सिलका मापदण्डहरू पूरा गर्नु र अपर्याप्त संस्थागत क्षमता जस्ता चुनौतीहरू छन् ।
‘हाल सरकारले लिएका सुधारका कार्यक्रमहरू, जस्तै : प्रस्तावित उच्च शिक्षा ऐनले शासकीय व्यवस्थापनलाई एकत्रित गर्ने प्रयास गरेको छ । तर नीतिसम्बन्धी अनिश्चितता यो क्षेत्रमा नयाँ प्रवेशकर्ताहरूको लागि बाधक बनेको छ,’ अध्ययन प्रतिवेनदमा भनिएको छ ।
दक्षिण एशियामा पहुँच विस्तार र गुणस्तर सुधारको मार्ग
नेपालसँगै, अन्य दक्षिण एशियाली देशहरूले पनि उच्च शिक्षा अन्तरराष्ट्रियकरण गर्नका लागि ट्रान्सनेशनल एजुकेशन्सको महत्त्व पहिचान गर्न थालेका छन् । ट्रान्सनेशनल एजुकेशन्सले अन्तरराष्ट्रिय सहकार्यलाई प्रोत्साहन गरेर स्थानीय शैक्षिक संस्थाहरूको क्षमतामा सुधार ल्याउँछ र यस क्षेत्रका बढ्दो युवा जनसंख्याका लागि उच्च गुणस्तरीय शिक्षा पहुँच दिन्छ ।
संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)को तथ्यांक अनुसार, दक्षिण एशियायी देशहरू, जस्तै : बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाबाट विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या उल्लेखनीय वृद्धि भएको छ । यसले अन्तरराष्ट्रिय योग्यताको बढ्दो मागलाई उजागर गर्दछ । अन्तरराष्ट्रिय विश्वविद्यालयले प्रदान गर्ने उच्चस्तरीय शिक्षा, अन्तरराष्ट्रिय नेटवर्कमा पहुँच र बहुसांस्कृतिक क्षमता विकासको माध्यमबाट रोजगारको अवसरहरूमा सुधारको कारण यस्तो शिक्षामा आकर्षण रहेको छ ।
तर वित्तीय, प्राविधिक वा व्यक्तिगत कारणहरूले विदेश अध्ययन सबैका लागि सम्भव नहुने अनुसन्धानले देखाएको छ । वैकल्पिक माध्यमबाटै अन्तरराष्ट्रिय योग्यताहरू प्राप्त गर्ने अवसर भए धेरै विद्यार्थीहरूले सो अवसरलाई स्वागत गर्ने अध्ययनले देखाएको छ ।
ट्रान्सनेशनल एजुकेशन्सले विद्यार्थीहरूलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त योग्यतासहित पाठ्यक्रम प्रदान गर्दछ । यो एक परिवर्तनकारी समाधानको रूपमा उभिएको छ । यसले शिक्षा प्राप्त गर्न विदेश जानुभन्दा घरमै गुणस्तरीय शिक्षा लिन सघाउ पुर्याउँछ ।
ट्रान्सनेशनल एजुकेशन्स विभिन्न स्वरूपहरूमा उपलब्ध गराउन सकिन्छ । दूर तथा अनलाइन शिक्षा, फ्रेन्चाइजी र प्रमाणीकरण मोडेल वा कलेजहरूको अन्तरराष्ट्रिय शाखा क्याम्पसहरू आदि यसका स्वरूप हुनसक्छन् ।
यसले अध्ययनको गति, स्थान र डेलिभरी विधिहरूमा लचिलोपन प्रदान गर्दछ, जसले विद्यार्थीहरूलाई व्यक्तिगत र व्यावसायिक प्रतिबद्धतासँग अध्ययनलाई सन्तुलन राख्न मद्दत पुग्दछ ।
परम्परागत शैक्षिक संरचनाले प्रायः विद्यार्थीहरूलाई समालोचनात्मक रूपमा सोच्न र जटिल, वास्तविक संसारका समस्याहरू समाधान गर्न सघाउँदैन । यसका लागि बहु–पक्षीय ज्ञान आवश्यक हुन्छ । साथै, अनुसन्धान गर्ने क्षमता पनि चिन्ताको विषय हो किनकि विश्वविद्यालयहरू न्यून बजेटमा अनुसन्धान विभाग चलाउन बाध्य छन् । प्राध्यापक र विद्यार्थीको लागि अपर्याप्त प्रशिक्षण तथा अन्तरराष्ट्रिय अनुसन्धान सञ्जालहरूमा सीमित पहुँच अन्य चिन्ताका विषयहरू हुन् ।
यसले शिक्षाको गुणस्तर मात्र होइन विद्यार्थीहरूको आविष्कार गर्न सक्ने क्षमता र प्रविधिगत प्रगतिमा सीमित गर्छ, जसले गर्दा उनीहरूको अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता घट्दछ ।
उच्च शिक्षामा अर्को महत्त्वपूर्ण समस्या भनेको प्राज्ञिक क्षेत्र र उद्योगबीचको कमजोर सम्बन्ध हो । धेरै विद्यार्थीहरू व्यावहारिक अनुभव वा उद्योगको आवश्यकताहरूको ज्ञानबिना नै ग्रेजुयट हुन्छन्, जसले गर्दा उनीहरूलाई उद्योगमा प्रवेश गर्न गाह्रो हुन्छ । विश्वविद्यालय र उद्योगबीचको कमजोर साझेदारीले विद्यार्थीहरूले इन्टर्नशिपका अवसरहरू पाउँदैनन् र वास्तविक जीवनमा सिकाइ अनुभव पनि सीमित हुन्छ । जसले गर्दा विश्वविद्यालयबाट ग्रेजुयट भएकाले रोजगारीका लागि तयार हुन अतिरिक्त प्रशिक्षण लिनु पर्ने हुन्छ ।
विशेषज्ञहरूका अनुसार ट्रान्सनेशनल एजुकेशन्सले यी अन्तरलाई न्यून गर्न मद्दत गर्न सक्छ । यसका लागि ट्रान्सनेशनल एजुकेशन्सले बहुमुखी शिक्षा प्रवर्द्धन गरेर, अनुसन्धानको क्षमता वृद्धि गरेर र उद्योगसँगको सम्बन्ध मजबुत बनाएर मद्दत गर्न सक्छ । ट्रान्सनेशनल एजुकेशन्सले दक्षिण एसियामा शिक्षाको समग्र गुणस्तर सुधार गरेर ग्रेजुयट भएकाहरूलाई रोजगारी पाउन योग्य बनाउन सक्छ ।
विकासको उत्प्रेरकका रूपमा ट्रान्सनेशनल एजुकेशन्स
ब्रिटिश काउन्सिलको ‘भ्यालु अफ ट्रान्सनेशनल एजुकेशन्स (टीएनई) प्रतिवेदन २०२२’ ले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न महत्त्वपूर्ण भूमिका हुने स्पष्ट पार्छ ।
धेरै अन्तरराष्ट्रिय साझेदारीले गुणस्तरीय शिक्षा (एसडीजी ४), आर्थिक वृद्धि (एसडीजी ८) र असमानता न्यूनीकरण (एसडीजी १०) मा योगदान पुर्याउँछन् । साथै, ट्रान्सनेशनल एजुकेशन्स मोडेलहरूले लैंगिक समानता (एसडीजी ५), स्वास्थ्य तथा कल्याण (एसडीजी ३) र दिगो उपभोग (एसडीजी १२) हासिल गर्न पनि सहयोग पुर्याउँछन् ।
अनलाइन र आंशिक समयका पाठ्यक्रम जस्ता लचकदार अध्ययनका विकल्पहरूले आजीवन सिकाइ तथा निरन्तर शीप विकासलाई प्रवर्द्धन गर्छन् । यो समावेशी शिक्षाका अवसर प्रदान गर्ने एसडीजी ४ अन्तरगतका लक्ष्यसँग मेल खान्छ । साथै, ट्रान्सनेशनल एजुकेशन्सले अन्तरराष्ट्रिय व्यावसायिक सञ्जाललाई प्रवर्द्धन गर्दै अनुसन्धान सहकार्य र व्यावसायिक परियोजनाहरूलाई सक्षम बनाउँछ । यसले गर्दा स्वदेशमै आविष्कारको सम्भावना मजबुत हुन्छ ।
संयुक्त अधिराज्य (युके) ट्रान्सनेशनल एजुकेशन्स प्रदान गर्ने नेतृत्वदायी देशको रुपमा उदय भएको छ । २०२२/२३ मा ५ लाख ७१ हजारभन्दा बढी विद्यार्थी युकेका उच्च शिक्षा कार्यक्रमहरूमा भर्ना भएका थिए । दक्षिण एशियामा पनि युके सबैभन्दा ठूलो ट्रान्सनेशनल एजुकेशन्समा साझेदार रहेको छ । युकेको उच्च शिक्षाको तथ्यांक अनुसार २०२२/२०२३ मा यो क्षेत्रमा ९७ हजारभन्दा बढी विद्यार्थी युकेको उच्च शिक्षा कार्यक्रमहरूमा अध्ययनरत थिए । तर, दक्षिण एशियामा विद्यार्थीहरू र अभिभावकहरूबीच ट्रान्सनेशनल एजुकेशन्सको बारेमा जानकारी सीमित नै रहेको सरोकारवालाहरू बताउँछन्।
दक्षिण एशियामा ट्रान्सनेशनल एजुकेशन्सलाई स्वदेशी उच्च शिक्षालाई सशक्त पार्ने साधनको रूपमा सरकारहरूले बढ्दो समर्थन गरेको भए तापनि नेपालमा यसका प्रदायकहरूले विभिन्न सञ्चालनसम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन्, जस्तै : नेपालको अन्तरराष्ट्रिय संस्थाहरूबीच शैक्षिक पात्रोमा तालमेल मिलेको छैन । फाउन्डेशन वर्षहरूलाई चार–वर्षे स्नातक डिग्रीसँग एकीकृत गर्नुपर्ने आवश्यकता, स्थानीय स्नात्तोकोत्तर कार्यक्रमहरूको घट्दो माग र इन्जिनियरिङ् जस्ता नियमन उच्च रहेको क्षेत्रमा युकेको डिग्रीको मान्यतासम्बन्धी चिन्ता जस्ता अन्य चुनौतीहरू पनि छन् । वित्तीय क्षमता र भिसा सम्बन्धी सीमाहरूले पनि ट्रान्सनेशनल एजुकेशन्सका साझेदार संस्थाहरूमा विद्यार्थीको प्रवेशमा अवरोध पुगेको छ ।
नेपालमा ट्रान्सनेशनल एजुकेशन्स सुदृढीकरणको लागि सुझाव
यी चुनौतीहरू पार गर्न अध्ययनले निम्नाअनुसार सिफारिसहरू गरेको छ
- प्रशासनिक ढिलाइ घटाउने र नयाँ कार्यक्रम अनुमोदन सहज बनाउन नियामन प्रक्रियाहरूलाई सरल बनाउने
- नीति निर्माण र विद्यार्थीका लागि मार्गदर्शनमा सुधार गर्न डेटा पारदर्शिता बढाउने
- अन्तरराष्ट्रिय मापदण्ड अनुरूप ट्रान्सनेशनल एजुकेशन्स कार्यक्रमहरूको गुणस्तर सुनिश्चितता मजबुत पार्ने
- संस्थागत विविधीकरणलाई समर्थन गर्ने र प्रतिस्पर्धा तथा आविष्कारका काम प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय सहकार्यलाई प्रोत्साहित गर्ने
- रोजगारीका लागि जनशक्ति तयार गर्न स्थानीय आर्थिक आवश्यकतासँग पाठ्यक्रम समायोजन गर्ने
- विद्यार्थीका लागि शिक्षाको लागत न्यूनीकरण गर्न ट्रान्सनेशनल एजुकेशन्सका सस्तो विकल्पहरू दिने
- सामाजिक तथा आर्थिक असमानताहरू हटाएर शिक्षा पहुँच विस्तार गर्ने
- विदेश जानैपर्ने आवश्यकतालाई घटाउने दिगो ट्रान्सनेशनल एजुकेशन्सका मोडेलहरू पहिचान गर्ने जसले गर्दा दिगो विकास लक्ष्यहरू पूरा गर्न मद्दत गरोस्
ट्रान्सनेशनल एजुकेशन्सले नेपालमा उच्च शिक्षाको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसले शिक्षामा पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने र ब्रेन ड्रेनको समस्यालाई सम्बोधन गर्ने अवसर प्रदान गर्छ । राम्रोसँग संरचित नीति तथा रणनीतिक साझेदारीको माध्यमबाट नेपालसहित अन्य दक्षिण एशियाली राष्ट्रहरूले ट्रान्सनेशनल एजुकेशन्सलाई उपयोग गरी अन्तरराष्ट्रिय रूपमा प्रतिस्पर्धी र लचिलो जनशक्ति निर्माण गर्न सक्छन् ।
नोट : ब्रिटिश काउन्सिलको वेबसाइटबाट उक्त रिपोर्ट डाउनलोड गर्न सकिनेछ।