काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार छैटौं कारोबार दिन घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतवार (आज) नेप्से परिसूचक ५४.६२ अंक अर्थात् २.०४ प्रतिशतले घटेको हो । यससँगै नेप्से २ हजार ६१४.६८ अंकमा झरेको छ ।
बजार उच्च अंकले घट्दा २६१६ को टेवामा पुगेको छ । यसकारण अब बजार माथि उक्लिन सक्ने जानकार बताउँछन् । आज कारोबार पनि बढेकाले अब नेप्से बढ्न सक्ने उनीहरूको आँकलन छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भएको छ ।
आज १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये वित्तको सूचक सर्वाधिक २.९८ प्रतिशत घटेको छ ।
यस्तै, व्यापारको २.८३, जलविद्युतको २.५, लघुवित्तको २.३६, विकास बैंकको २.३०, होटल तथा पर्यटनको २.३०, निर्जीवन बीमाको २.१५, लगानीको २.१२, जीवन बीमाको १.९७, अन्यको ०.७२, बैंकिङ १.५५, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४३ र म्युचुअल फण्डको ०.७१ प्रतिशतले घटेको छ ।
यस दिन सर्वाधिक मूल्य बढ्नेमा म्युचुअल फण्डहरू छन् । जसमध्ये एनएमबि ५० को मूल्य सर्वाधिक ३.९४ प्रतिशत बढेको छ । यस्तै, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिभेन्चर २०८८ को मूल्य ३.८९ प्रतिशतले बढेको छ । आज मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
आज कुल १३ कम्पनीको मूल्य बढेको छ भने २३० को घटेको छ ।