काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री दाहाल नयाँ सत्ता समीकरणमा गएपछि मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । नवगठित मन्त्रिपरिषद्मा माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको सहभागिता छ ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका नेकपा (एमाले)का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले मंगलवार शपथ लिएका थिए । मन्त्रीमण्डल पुनर्गठनका क्रममा बुधवार एमालेका गिरीलाई कानून, न्याय तथा संसदीय मामिला, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र राष्ट्रिय स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । बाँकी स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्नुहुनेछ ।