विराटनगर। मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि विभिन्न दलका प्रतिनिधि तथा स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायत दल र स्वतन्त्र उम्मेदवारले मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास र नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरीले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वासले मनोनयन दर्ता गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालबाट राजु मुशहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायणा माझीको मनोनयन दर्ता भएको छ । नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२०७९ को निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि ग्रामथान गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो । कोशी प्रदेशका विभिन्न नगर र गाउँपालिकाका ९ स्थानमा आइतवार नै मनोनयन दर्ता गरिएका छन् ।
कोशी प्रदेशमा विभिन्न कारण स्थानीय तहमा रिक्त एकजना जिल्ला समन्वय समितिका प्रमुख, एक गाउँपालिकाका अध्यक्ष र सात जना वडाध्यक्षहरूको निर्वाचन हुँदै छ ।
यसैबीच, निर्वाचन आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।