काठमाडौं । नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन अर्थात मंगलवार नेप्से परिसूचक ३ दशलमव १३ प्रतिशत बढेर बन्द भएको छ । लामो समय पछि नेप्से परिसूचक २३ सय विन्दु माथि उक्लिएको छ । मंगलवार नेप्से परिसूचक २ हजार ३१० दशमलव ५९ विन्दुमा पुगेको हो ।
नेप्सेको वृद्धि भएसँगै कारोबार रकम पनि वृद्धि भएको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा बजारले गति लिएको देखिएको छ । यसोत पछिल्ला दिनहरूमा शेयर बजारका लागि केही सकारात्मक खबरहरु आइरहेका छन् । नयाँ सरकार गठन, विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्ति हुनु तथा ब्याजदर थप घटेकाले शेयर बजार वृद्धि भएको लगानीकर्ता बताउँछन् । लामो समय देखि घटेको बजारमा कम्पनीहरुको शेयर मूल्य तल्लो विन्दुमा आएका थिए । यस कारण पनि खरीदकर्ता आर्कर्षित भएका छन्।
मंगलवार यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव १० प्रतिशत,फ्लोट इन्डेक्स ३ दशलमव ३२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशलमव २९ प्रतिशत वृद्धि भएको छ । ३१५ धितोपत्रको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर १ लाख १९ हजार ११ पटकमा रू. ९ अर्ब १३ करोड भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिन्धु विकास बैंक,बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक,आँखु खोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।
त्यस्तै तीन धितोपत्रको मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । १० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ड डिबेञ्चर २०८२, एनआईबिएल ग्रोथ फण्ड र ११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा ङादी ग्रुप पावर कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २१ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६९ दशमलव ९० पुगेको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. १८ करोड २७ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्ड समूहको सूचक शून्य दशमलव ४२ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक ५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको सूचक ४ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।