वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले २५ करोड ६० लाख रुपैयाँभन्दा बढी मागदाबीसहित सुनको मुद्दालाई अदालतमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अनुसन्धानका लागि पठाएको ८२४३ दशमलव ९७० ग्राम सुनको विस्तृत अनुसन्धान गरी उच्च अदालत पाटनको हेटौंडा इजलासमा मिति अभियोगपत्र दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
नेपालले सुनको भन्सार बढाएपछि सीमावर्ती भारतीय क्षेत्रबाट सुनको अवैध आयात बढेको थियो । त्यसबेला भारतबाट अवैध रूपमा भित्रिएको सुन प्रहरीले समातेको हो ।
विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार भारतीय नागरिकहरू अभिषेक अजिनाथ कुटे, राहुल विठ्ठल बाड, राहुल गोरख दगडे, हन्मन्त विठ्ठल मोरे र नेपाली काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका वडा नं ९ का आयुष सापकोटा, पनौती नगरपालिका वडा नं १ का रवीन्द्र वाइवा तामाङ, पर्वत, जलजला ५ का विनोद पुनलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको हो ।
सो मुद्दामा १२ करोड १२ लाख ९३ हजार रुपैयाँ बिगो कायम गरिएको छ । बिगो जफत गरी बिगोको शतप्रतिशत जरीवाना गरी २४ करोड २५ लाख ८७ हजार र कैद सजाय मागदाबी गरिएको छ ।
त्यस्तै एक अर्को अनुसन्धानमा ४९१ दशमलव १३ ग्राम सुनको अनुसन्धान गरी अभियोगपत्र दर्ता भएको छ । त्यसमा भारतीय नागरिक सुजित सराफ र सप्तरी राजविराज–१ की सोनीकुमारी साहलाई प्रतिवादी बनाइएको छ । यो मुद्दामा १ करोड ३४ लाख ६८ हजार रुपैयाँ तिराउन माग गरिएको राजस्व अनुसन्धानले बताएको छ ।