काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २७ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड ५९ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३ दशमलव २० प्रतिशत बढी यो नाफा गरेको हो ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष ३ दशमलव २४ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । गत वर्ष रू. ३७ करोड ९७ लाखभन्दा बढी सञ्चालन नाफा रहेको कम्पनीको यस वर्ष रू. ३९ करोड २० लाखभन्दा बढी रहेको छ । इम्पेरिमेन्ट चार्ज यस वर्ष रू. १ करोड ७१ लाखभन्दा बढी छ । यो रकम गत वर्ष रू. ३३ लाख ६६ हजार थियो । इम्पेरिमेन्ट चार्ज बढ्दा यस वर्ष कम्पनीको नाफा सामान्य मात्र बढेको हो ।
यस वर्ष २६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार पुर्याएको छ । जगेडा कोष रकम गत वर्ष रू. १ अर्ब ११ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. १ अर्ब २० करोडभन्दा बढी रहेको छ । रिटेन्ड अर्निङ रकम गत वर्ष रू. ९७ करोड ५२ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ८१ करोड ४० लाखभन्दा बढी रहेको छ ।
कर्जा सापटी गत वर्षभन्दा करीब ९ प्रतिशत कम लिएको कम्पनीले साढे ३ प्रतिशत कम कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले रू. २२ करोड ९३ लाखभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ११ अर्ब २७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा बढेको छ । गत वर्ष शून्य दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ७४ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२९ दशमलव ४१ रहेको छ ।