काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासदेखि खुद नाफामा गएको छ ।
५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनी यस वर्षदेखि खुद नाफामा गएको हो । अघिल्लो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म भने नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । गत वर्ष पहिलो त्रैमाससम्म कम्पनी ९ करोड ४० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानीमा उल्लेख्य बृद्धि देखिएको र वित्तीय खर्च घटेकाले खुद नोक्सानी सुधारिन सहयोग मिलेको हो । गत वर्ष यस अवधिसम्म ९ करोड ९६ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २७ करोड ४८ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
कुल आम्दानी गत वर्ष ८ करोड ९२ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष २५ करोड ९९ लाख रुपैयाँभन्दा बढी भएको हो । वित्तीय खर्च गत वर्ष ११ करोड ९५ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १० करोड ९ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर ऋण तिर्नका लागि विक्री गर्ने निर्णय कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ १९ करोड १७ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ४९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक थियो ।
दीर्घकालीन कर्जा ४ अर्ब १३ करोड ४८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी छ ।
गत वर्ष यस अवधिसम्म ८ रुपैयाँ ८२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने ८ रुपैयाँ ७१ पैसा प्रतिशेयर आम्दानीमा छ । प्रतिशेयर नेटवर्थ गत वर्ष ९१ रुपैयाँ ९ पैसा रहेकोमा यस वर्ष बढेर ११७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।