काठमाडौं ।आर्थिक वर्ष २०८०/८१ मा ६३ ओटा निजी कम्पनीको शेयर मूल्य ओभर द काउन्टर (ओटीसी) बजारमार्फत बाहिर आएको छ ।
सामान्यतया निजी कम्पनीको शेयर मूल्य गोप्य रहने भए पनि ओटीसी बजारले निजी कम्पनीको पनि शेयर मूल्य निर्धारणमा भूमिका खेल्ने गरेको छ । ओटीसी बजारमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीको शेयर क्रेता र विक्रेताबीचको आपसी सहमतिमा कारोबार हुन्छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार गत आर्थिक वर्ष (आव) ओटीसी बजारमा ६३ कम्पनीको शेयर कारोबार हुँदा ३६ कम्पनीको शेयर अंकित मूल्यभन्दा बढी अर्थात् प्रतिकित्ता १०० रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । ओटीसी बजारमा हालसम्म २४४ कम्पनी दर्ता भई कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
- वल्र्डलिंकको प्रतिकित्ता ९ हजार रुपैयाँभन्दा बढीमा किनबेच
- मात्र ७ सूचीकृत कम्पनीको शेयर मूल्य वल्र्डलिंकको भन्दा बढी
- निजी कम्पनीको शेयर कारोबार र मूल्य निर्धारणका ओटीसी बजारको भूमिका
सबैभन्दा ठूलो फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेशन्सको शेयर किन्न लगानीकर्ताले धेरै रकम तिरेको ओटीसी बजारमा भएको उक्त कम्पनीको शेयर कारोबारले देखाउँछ ।गतवर्ष उक्त कम्पनीको शेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा १३ हजार ३९२ कित्ता किनबेच भएको छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत सातओटा कम्पनीको शेयर मूल्य वल्र्डलिंकको कायम भएको शेयर मूल्यभन्दा बढी छ ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा सबैभन्दा बढी शेयर मूल्य युनिलिभर नेपालको छ । कात्तिक २९ गते बिहीवार युनिलिभर नेपालको प्रतिकित्ता शेयर मूल्य ४७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता १७ हजार ६८ रुपैयाँ १० पैसा, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको प्रतिकित्ता १७ हजार रुपैयाँ, बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता १४ हजार ६४९ रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १२ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
वल्र्डलिंकपछि दोस्रो ठूलो शेयर मूल्य भएको निजी कम्पनी काठमाडौं फरेस्ट्री कलेज हो । उक्त कलेजको शेयर ओटीसी बजारमा प्रतिकित्ता १ हजार ८५ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो । लर्ड बुद्ध एजुकेशन एकेडेमीको शेयर ओटीसी बजारमा प्रतिकित्ता ५५० रुपैयाँमा कारोबार भएको छ ।पुराना लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले पछिल्लो समय ओटीसी बजारको कारोबारलाई समेत लगानीकर्ताले चासोका साथ हेरेको बताउँछन् ।
पहिले ओटीसी बजारमा कारोबार भएका धेरै कम्पनी धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको इतिहास रहेको उल्लेख गर्दै उनले ओटीसी बजारमा कस्ता कम्पनीको कति मूल्यमा शेयर कारोबार भयो भन्ने कुरामा लगानीकर्ताले चासो राख्न थालेको बताए ।
दोस्रो बजारमा सर्वाधिक शेयर मूल्य रहेको युनिलिभर नेपालको समेत लगानीकर्ता रहेका घिमिरे राम्रा कम्पनीलाई बजारमा भित्त्याउन हालका नीतिनियम संशोधन गरेर भए पनि नियामक निकाय अघि बढ्नुपर्ने सुझाव दिन्छन् । ओटीसी बजारबाहेक बुुक बिल्डिङ विधिबाट पनि सार्वजनिक निष्कासनअघि नै कम्पनीको शेयर मूल्य निर्धारण हुन्छ ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले पछिल्लो समय ओटीसी बजारमा कारोबार बढ्दो क्रममा रहेको बताए । दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीहरूको कारोबार हुने भएकाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को तयारीमा रहेका कम्पनीको पनि यो बजारमा कारोबार हुने गरेको पराजुलीले जानकारी दिए ।
‘यो बजारमा कारोबारअघि खरीदकर्ता र विक्रीकर्ताबीच पहिला नै मूल्यमा सहमति हुन्छ,’ उनले भने । उनका अनुसार सम्बद्ध कम्पनीको प्रतिशेयर नेटवर्थभन्दा कम मूल्य कबोल गर्न नपाउने व्यवस्थाबमोजिम खरीदकर्ता र विक्रीकर्ताबीच मूल्यमा सहमति भई आवश्यक कर चुक्ताको कागजात पेश गरेपछि नेप्सेले कारोबारका लागि स्वीकृति दिने गरेको छ । ‘सूचीकृत नभएका कम्पनीको वास्तविक शेयर मूल्य ओटीसी बजारमा भएको कारोबारको मूल्य नै हो, किनभने त्यसमा क्रेता र विक्रेता दुवै सो मूल्यमा सहमत भएका हुन्छन्,’ पराजुलीले भने ।