काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ ।
बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।
गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत कम्पनीले सभामार्फत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।