काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्विटी फण्ड यही पुस १० गतेदेखि परिपक्व हुने भएको छ ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले २०७४ पुस ११ गते सर्वसाधारणमा इकाई बाँडफाँट गरेको थियो । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७४ कात्तिक २७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो ।
यस योजना सञ्चालनका लागि १३ करोड इकाई जारी गरिएको थियो । योजना परिपक्व हुने भएसँगै दोस्रो बजारमा रहेको कम्पनीको इकाई सूचीकरण खारेजी हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पुस ८ गतेदेखि लागू हुने गरी योजनाको इकाई सूचीकरण खारेज गरेको जानकारी दिएको छ ।
कात्तिक मसान्तसम्म यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब ५२ करोड ५८ लाख ५३ हजार रुपैयाँभन्दा बढी छ । कात्तिक मसान्तसम्म योजना २१ करोड ९१ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ ।