काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको शनिवार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ ।
सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही पुस २८ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
उक्त साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।