काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको ६० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो ।
प्रस्तावित हकप्रद शेयर निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
हकप्रद शेयर निष्कासनपछि पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू सभाले पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले बैंकको ऋण तिर्न, होटल निर्माण तथा इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद शेयरमार्फत पूँजी जुटाउन लागेको हो ।