काठमाडौं । आइतवार निकै उतारचढाबकाबीच नेप्से स्थिर बनेर बन्द भएको छ । यो दिन २ हजार ६४५ दशमलव ६७ विन्दुसम्म नेप्से पुगेको थियो भने २ हजार ६१९ दशमलव २६ विन्दुसम्म नेप्से झरेको थियो । अन्तिममा अघिल्लो कारोबार दिनभन्दा ३ दशमलव ४४ अंक तल २ हजार ६२० दशमलव ३९ विन्दुमा बजार बन्द भएको हो ।
यसअघिका तीन कारोबार दिन भने बजार घटेको थियो । बजारले गति नलिएको आइतवारसमेत लगातार चार कारोबार दिन भएको छ । लामो समयदेखि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता यतिबेला नयाँ गभर्नर नियुक्ति र आगामी वर्षको बजेटको पर्खाइमा छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता भई लगानीयोग्य रकमको अभाव नभएको अवस्थामा लगानीकर्ताको उत्साह कम हुँदा बजारले गति लिन नसकेको बुझाइ जानकारहरूको छ ।
यस दिन ११८ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १२८ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
साताको पहिलो कारोबार दिन ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशत बढेको छ भने नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य पनि १० प्रतिशत बढेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ बढेर अन्तिम मूल्य २९७ रुपैयाँ कायम भएको हो । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १३८ रुपैयाँ ७० पैसाले बढेर अन्तिम मूल्य १ हजार ५२६ रुपैयाँ १० पैसा र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ ७० पैसाले बढेर अन्तिम मूल्य १ हजार २६१ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यो दिन विन नेपाल लघुवित्तको शेयर मूल्य भने १० प्रतिशत अर्थात् प्रतिकित्ता २९१ रुपैयाँ ३० पैसाले घटेर अन्तिम मूल्य २ हजार ६२१ रुपैयाँ ९० पैसा कायम भएको छ ।
स्थिर बनेको बजारमा कारोबार रकम भने ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँभन्दा बढी भएको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन कारोबार रकम पनि घटेको हो ।
अघिल्लो कारोबार दिन गत बुधवार ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । आइतवार कुल कारोबारमा सानिमा माई हाइड्रोपावरको सर्वाधिक हिस्सा रहेको छ । सानिमा माई हाइड्रोपावरको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता २ रुपैयाँ ७९ पैसाले घटेर अन्तिम मूल्य ५८३ रुपैयाँ १० पैसा कायम भएको छ ।
कुल बजार पूँजीकरण अघिल्लो कारोबार दिनभन्दा ३ अर्ब ९४ करोड ३० लाख रुपैयाँले घटेर आइतवार ४३ खर्ब ५८ अर्ब ८९ करोड १४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ थियो । केही दिनदेखि वित्त समूहको परिसूचक सर्वाधिक घट्दै आएको छ । आइतवार पनि वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ३० प्रतिशत घटेको छ । यो दिन उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव शून्य ४ प्रतिशत, बैंकिङको शून्य दशमलव १० प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको छ ।