काठमाडौं । भारतीय सरकारी निकायबाट स्वीकृति प्राप्त गरेसँगै नेपालले पहिलोपल्ट शुक्रवार बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ ।
असोज १७ मा भारतको बाटो हुँदै नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने विषयमा नेपाल, भारत र बंगलादेशका अधिकारीबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएपछि नेपालले सम्बद्ध भारतीय सरकारी निकायबाट सहमति पर्खेको थियो ।
उक्त सहमति प्राप्त भएपछि नेपाल विद्युत् प्राधिकरण बंगलादेशमा बिजुली निर्यात गर्न तयार भएको हो । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्न भारतबाट बुधवार मात्रै स्वीकृतिपत्र प्राप्त गरेको थियो ।
हालसम्म नेपालले भारतमा मात्र बिजुली निर्यात गरिरहेकोमा पहिलोपल्ट तेस्रो मुलकमा निर्यात गर्न लागेको हो । त्रिपक्षीय सम्झौताअनुसार नेपालले ५ वर्षसम्म जुन १५ देखि नोभेम्भर १५ सम्म बंगलादेशमा बिजुली निर्यात गर्न पाउने भएकाले यो वर्ष शुक्रवार (नोभेम्बर १५) मा मात्र बिजुली बंगलादेश पठाउन गर्न सक्छ ।
पहिलोपटक डलरमा विद्युत् विक्री गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले यस वर्षका लागि शुक्रवार १ दिन मात्रै नेपाली समयअनुसार दिनको १२ : ४५ देखि राति १२ : ०० बजेसम्म ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नेपालले यसअघि भारतसँग भारतीय रुपैयाँ (भारू) मा बिजुली बेच्दै आएको छ ।
- यो वर्ष १ दिन मात्र निर्यात हुने
- त्रिपक्षीय सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात गर्न सकिने
- नेपाली समयअनुसार दिनको १२ : ४५ देखि राति १२ : ०० बजेसम्म बंगलादेशमा नेपालको बिजुली जाने
- नेपालले ३७ लाख ९३ हजार रुपैयाँ आम्दानी गर्ने
- तीनओटै देशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने
- २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट बिजुली पठाइने
‘१२ घण्टासम्म बिजुली विक्रीबापत प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले नेपालले ३७ लाख ९३ हजार रुपैयाँ आम्दानी गर्नेछ । ६ वर्ष लामो गृहकार्यपछि आज हामी यो कार्यमा सफल हुँदै छौं । शुक्रवारको दिन नेपालको जलविद्युत् क्षेत्रका लागि ऐतिहासिक बन्दै छ,’ घिसिङले आर्थिक अभियानसँग भने ।
प्राधिकरणका अनुसार बंगलादेशमा बिजुली निर्यात शुरू भएमा नेपालले ५ महीनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्नेछ । त्यसबापत १ वर्षमा ९२ लाख १६ हजार अमेरिकी डलरआम्दानी हुनेछ ।
सम्झौताअनुसार नेपालले वर्षायामका ५ महीना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई बिजुली बेच्नेछ । आगामी वर्षदेखि नेपालले यही अवधिमा बगंलादेशलाई ५ वर्षसम्म बिजुली विक्री गर्ने घिसिङले बताए ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न लागेको हो । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातको स्वीकृति पाइसकेका छन् ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेशमा निर्यात हुँदै छ । त्यसका लागि विद्युत्को मीटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केवरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुग्नेछ ।
शुक्रवार दिउँसो १२ : ४५ बजे तीनओटै देशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बंगलादेशमा बिजुली निर्यात गर्ने कार्यक्रम रहेको ऊर्जासचिव सुरेश आचार्यले जानकारी दिए । ‘परराष्ट्र मन्त्रालयको सभाहलमा कार्यक्रम गरेर तीनओटै देशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर बिजुली पठाउने कार्यक्रमको उद्घाटन गरिँदै छ,’ आचार्यले भने ।
यसअघि गत असोजमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन र जलस्रोतसम्बन्धी सल्लाहकार सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतका तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिमले सम्झौतामा हस्ताक्षर गरेका थिए ।