काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने नाडा अटो शोको १६औं संस्करण मंगलवार (आज)बाट काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ ।
वर्षेनि हुने अटो शोमा इन्धनबाट चल्ने सवारीसाधनको बाहुल्य हुने गरेकोमा १६औं संस्करणमा आइपुग्दा विद्युतीय सवारीसाधनको वर्चस्व देखिन थालेको छ । सरकारले वायुप्रदूषण नगर्ने विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने नीति लिएपछि इन्धन गाडीको तुलनामा विद्युतीयको विक्री बढेको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष तेजनारायण शाहले ‘नाडा अटो शो २०२४’ को सम्पूर्ण तयारी पूरा भएको बताए । उनले प्रदर्शनीमा विद्युतीय सवारीसाधन आकर्षणको केन्द्रमा रहने देखिए पनि पेट्रोलियम साधनसमेत उल्लेख्य मात्रामा रहने बताए । प्रदर्शनीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको व्यापार गरिरहेका व्यवसायीलाई समेत केन्द्रमा राखिएको उनले जानकारी दिए ।
‘पछिल्लो समय सरकारले नीतिगत तहबाटै वातावरणमैत्री विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिएको छ । तैपनि नेपालको जस्तो भूगोलमा पेट्रोलियम सवारीलाई समेत महत्त्वका साथ प्रदर्शनीमा राखिएको छ,’ उनले भने ।
- कोभिड र पछिल्लो मन्दीले खस्किएको व्यवसायले गति लिने अपेक्षा
- मेलामा विभिन्न ५५ ब्रान्डका सवारीसाधनको स्टल रहने
- विद्युतीय गाडीका एक दर्जन नयाँ ब्रान्ड अटो सोमार्फत नै विक्री शुरू गर्ने तयारीमा
- लक्जरीदेखि साधारणसम्म, उच्चदेखि मध्यम मूल्य रेन्जका गाडीको बाहुल्य रहने
पछिल्ला वर्षहरूका प्रदर्शनीलाई व्यावसायिक हिसाबले समेत महत्त्वपूर्ण मानिएको उनी बताउँछन् । कोभिड–१९ र पछिल्लो आर्थिक शिथिलताका कारण खस्किएको अटो व्यवसायले यसपटक लय लिने अपेक्षा गरिएको उनको भनाइ छ । विभिन्न बैंक, वित्तीय संस्थाले सस्तो ब्याजदरमा ‘अटो लोन’ उपलब्ध गराउने घोषणा गरेकाले यसबाट व्यवसाय वृद्धिमा सहयोग पुग्ने अपेक्षा अटो व्यवसायीको छ । प्रदर्शनी दैनिक १ लाखका दरले ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको पनि उनले जानकारी दिए । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजित अटोमोबाइल प्रदर्शनीमा विभिन्न ५५ ब्रान्डका सवारीसाधन प्रदर्शन हुने एशोसिएशनले जानकारी दिएको छ । त्यसमा चारपांग्रेका २४, दुईपांग्रेका १९ र हल्का व्यावसायिक सवारीसाधनका १२ ब्रान्ड रहने आयोजकको भनाइ छ । साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका ३३ कम्पनी प्रदर्शनीमा सहभागी हुनेछन् । प्रदर्शनीमा ९५ कम्पनी तथा संस्थाका १३० स्टल रहने आयोजकको भनाइ छ ।
नेपालमा आधिकारिक विक्रेता तथा वितरक नियुक्ति पाएका अधिकांश आयातकर्ता कम्पनीले यस वर्ष पनि मोटरसाइकल, कार तथा विद्युतीय माइक्रोबसका नयाँ–नयाँ ब्रान्डसहित पेट्रोलियम र विद्युतीय सावरीसाधन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा यसअघि नै सार्वजनिक भइसकेका तथा केही नयाँ मोडेलसमेत सार्वजनिक हुनेछन् । हुन्डाईको नेपालमै एसेम्बल भएको भेन्युदेखि मोडल सार्वजनिक नगरिएका सवारी अटो शोमा राखिने छ । अटो शोमा सीजी मोटर्सले नेपाली बजारमा पहिलोपटक प्रवेश गर्न लागेका रेडारा, एक्सपेङ र अवतार ब्रान्ड राख्दै छ । सांग्रिला मोटर्सले लिपमोटर्स र जीओ अटोमोबाइल्सले काई तथा लक्ष्मी इमोबिलिटीले काई ब्रान्ड अटो शोमा सार्वजनिक गर्नेछन् । बीएमडब्ल्यू ब्रान्ड नेपाली बजारमा अटो शोमार्फत नै सार्वजनिक हुनेछ ।
शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडीको विक्री शुरू गर्ने एशोसिएशनले बताएको छ । जिकर र जेको ब्रान्डले पनि अटो शोमार्फत विक्री शुरू गर्दै छ भने एमएडब्ल्यू वृद्धिले डोङफेङ कम्पनीको नामी ब्रान्डको चारपांग्रे गाडीे औपचारिक विक्री शुरू गर्दै छ । त्यस्तै ओमोडा, जीएसी आयोनसहित दिपलको गोप्य राखिएको एउटा मोडल पनि पहिलोपटक अटो शोमा देखिने छन् । टाटा, ओमोडा, दिपल, किया, हुन्डाई, निटालगायत ब्रान्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्दै छन् । बहुप्रतीक्षित मोडल मानिएको टाटाको पन्च ईभी, दिपलको एल ०७, निटाको निटा–एक्स, बीवाईडीको एटो ३ को फेसलिफ्ट भर्सन, एमजीको स्पोर्टस कार साइबरस्टार, कियाको एसयूभी किया ईभी नाइन, प्रदर्शनीमा देखिनेछ । फेसलिफ्ट भर्सन भनेको साविकको मोडलमा थोरै परिवर्तन गरिएको
सवारीसाधन हो । निर्माता कम्पनीहरूले वर्ष परिवर्तनसँगै सवारीसाधनको साविक मोडलमा थोरै परिवर्तन गर्ने चलन हुन्छ । लक्जरीदेखि साधारण, उच्चदेखि मध्यम मूल्य रेन्जका गाडीको बाहुल्य रहने अटो शोमा उच्च रेन्ज, फिचर्स, ड्राइभिङको उत्कृट अनुभव लिन सकिने बताइएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीका दुईपांग्रे, तीनपांग्रे पेट्रोलियम तथा विद्युतीय सवारीसाधनसमेत आकर्षणको केन्द्र बन्ने आयोजकको अपेक्षा छ ।