काठमाडौं । असोज ११ गतेदेखि लिलामीमा आएको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो । कम्पनीले १५० प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि विक्री खुला गरेको थियो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा लिलामीमा आउन लागेको यी शेयर खरीदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन पाउनेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
आवेदन कम्पनीको शेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौं वा नबिल बैंकको शाखा कार्यालयहरू बिर्तामोड, वीरगञ्ज, हेटौडा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पेश गर्नुपर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर सम्पूर्ण कित्ता बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ ।