काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत मात्र हकप्रद शेयर जारी गर्ने भएको छ । यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले विद्युत् नियमन आयोगको निर्देशनबमोजिम १५० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । यो निर्णय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्तावको रूपमा पेश गर्नेछ । साधारण सभाबाट पारित भई नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ ।
यसअघि वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत् विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ ।
गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।