केन्जा लइली एक चर्चित ‘इन्फ्लुएन्सर’ हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा मात्र उनलाई दुई लाखभन्दा धेरै प्रयोगकर्ताले ‘फलो’ गर्छन् । प्राय:जसो हिजाब पहिरनमा सजिने लइली विभिन्न ठाउँमा भ्रमण गरेको तस्वीर आफ्नो सामाजिक सञ्जालमा राख्ने गर्छिन् । उनी आफूलाई आफ्नो देश मोरक्को र मध्यपूर्वका महिलाको सशक्तीकरणका लागि पहल गर्ने एक अभियन्ता भन्न रुचाउँछिन् ।
उनले सर्वत्र चर्चा बटुलेको भने धेरै भएको छैन । उनले संसारको ध्यान तब तानिन् जब उनलाई गत जुलाई ८ मा विश्वको पहिलो ‘मिस एआई’ घोषणा गरियो । हो, सुन्दा आश्चर्य लागे पनि केन्जा मानव होइनन् । उनी एक ‘आर्टिफिसिअल इन्टेलिजेन्स’ (एआई) वा कृत्रिम बौद्धिकतामा आधारित ‘मोडल’ हुन् जसको निर्माण मोरक्कोकै फिनिक्स एआई एजेन्सीकी मेरियम बेस्साले गरेकी हुन् ।
लइलीले आफू जस्तै १,५०० ‘एआई मोडल’ हरूलाई पछि पार्दै सो उपाधि जित्न सफल भएकी थिइन् । यो घटनाले एआईको बढ्दो प्रयोगसँगै पछिल्लो समय सूचना तथा सञ्चार क्षेत्रमा भएको विकासलाई देखाँउछ । तर बढ्दो प्रयोगसँगै यसका फाइदा र सम्भावित जोखिमको चर्चा शुरू भएको छ । एकातिर यसले विशेषगरी दोहोरिने कार्यहरू गर्ने सघाएर मानिशहरूलाई थप दक्ष र रचनात्मक हुन प्रेरित गर्ने विश्वास गरिएको छ भने अर्कोतर्फ यसले धेरै व्यक्तिको रोजगारी खोसिदिने जोखीम पनि रहेको जानकारहरू बताउँछन् । विश्व आर्थिक फोरमको एक आकलनअनुसार एआई र यसमा आधारित ‘रोबट’ लगायत अरू उपकरणहरूले सन् २०२५ सम्म करीब साढे ८ करोड रोजगारी प्रतिस्थापन गरिदिनेछन् ।
यस्तै, अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष सार्वजनिक गरेको ‘एआईको युगमा रोजगारीको भविष्य’ नामक प्रतिवेदनले पनि विश्व श्रम बजारबाट करीब ४० प्रतिशत पेशा एआईका कारण प्रभावित हुन सक्ने आकलन गरेको छ । आईएमएफका अनुसार विकसित अर्थतन्त्रमा करीब ६० प्रतिशत र न्यून आय भएका देशहरूमा करीब २६ प्रतिशत रोजगारी प्रभावित हुन सक्छ । सन् २०२३ मा नै गोल्डम्यान साख्सले सार्वजनिक गरेको एक प्रतिवेदनले संसारभर करीब ३ करोड रोजगारी एआईकै कारण प्रतिस्थापन हुन सक्ने भनेको थियो ।विशेषगरी ग्राहक सेवा प्रतिनिधि, स्वागतकर्ता, लेखापाल, सामग्री लेखक, शोधकर्ता जस्ता मानिसले गर्ने कामहरू निकट भविष्यमा नै एआईमा आधारित प्रविधि र उपकरणहरूले प्रतिस्थापन गरिदने प्रक्षेपण गरिएको छ ।
पछिल्लो समय चर्चामा रहेको एउटा उदाहरण ‘च्याट जीपीटी’ हो । अमेरिकास्थित एआई सम्बन्धी शोध तथा अनुसन्धान गर्ने संस्था ओपन एआईले विकास गरेको यो प्रविधि ‘जेनेरेटिभ एआईमा’ आधारित हो जसले कुराकानीको माध्यमबाट प्रयोगकर्ताहरूको प्रश्नको उत्तर दिन्छ । हाल यसको प्रयोग लेख लेख्न, सम्पादन गर्न, सारांश लेख्न, कोडिङलगायत धेरै क्षेत्रमा भैरहेको छ । तर, यसले बौद्धिक चोरीलाई बढावा दिने र सदुपयोगभन्दा दुरुपयोग बढी हुने भन्दै केही विद्यालय र कार्यालयहरूले यसको प्रयोगमा प्रतिबन्ध पनि लगाएका छन् । संसारभर एआईको बढ्दो प्रयोगलाई कसरी लिने भन्ने कुरामा एकरूपता नभएको बेला यससम्बन्धी शोध गर्ने र यसमा आधारित ‘एप्लिकेसन’ निर्माण गर्नेहरू भने नयाँ प्रविधिलाई सधैँ शंकाको दृष्टिले हेरिने तर्क राख्छन् र नयाँ प्रविधिसँग अभ्यस्त हुनुको विकल्प नभएको बताउँछन् । नयाँ प्रविधिसँगै नयाँ रोजगारीका अवसरहरूको पनि सृजना हुने र कम्पनीहरूको खर्च कटौतीको सकारात्मक पाटा पनि हुने विश्वास गरिएको छ ।
यसबाहेक स्वास्थ्य र औद्योगिक क्षेत्रमा पनि यसले आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसैबीच, पछिल्लो समय यसको नियमनको लागि पनि आवाज उठेको छ ।
नेपालमा भने केही नयाँ काम भए पनि एआईको विकास सुस्त गतिमा भैरहेको जानकारहरू बताउँछन् । अझ, निजी क्षेत्रको दाँजोमा सार्वजनिक क्षेत्र पछि परेको छ । गत असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा पहिलो पटक एआईसम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको थियो भने नेपाल राष्ट्र बैंकले पनि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसको अधिकतम सदुपयोग गर्न यस सम्बन्धी आवश्यक अध्ययन गर्ने जनाएको छ ।
उक्त अवधारणापत्रमा एआईको प्रयोगका लागि दुई वर्षभित्र कानून बनाउने उल्लेख गरिएको छ भने मौद्रिक नीतिमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थामा बढ्दै गइरहेको ‘डिजिटल’ प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने एआईका सम्बन्धमा आवश्यक अध्ययन गरिने भनिएको छ । ‘यसबाट सिर्जना हुन सक्ने जोखिम पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयको सूचना तथा सञ्चार प्रविधि शिक्षा विभागका प्रमुख रोमकान्त पाण्डेका अनुसार नेपालमा पनि लगभग सबै क्षेत्रमा एआईको प्रयोग हुन थालिसकेको छ र अवको विश्व अर्थतन्त्र ने एआईमय हुने भएकाले हामीले पनि आफ्नै एआई मोडलहरू विकास गर्न ढिलाइ गर्न हुँदैन । 'व्यापक रूपमा नभए पनि नेपालमा कुनै क्षेत्रमा एआईको प्रयोग भएको छैन भन्ने अवस्था अब छैन,' पाण्डेले भने ।
'चिकित्सा, कृषि, शिक्षा, बैंकिङ लगायत सबै क्षेत्रमा यसको प्रयोग हुन थालिसक्यो र आगामी दिनमा यसको प्रयोग बढ्दै जाने छ,' पाण्डेले भने, चिकित्सा क्षेत्रहरूमा प्रयोग हुने प्रायः सबै नयाँ उपकरणहरूमा एआईको प्रयोग गरिएको हुन्छ । फोटोग्राफीको लागि प्रयोग हुने दोनहरूमा पनि यसको प्रयोग भैरहेको छ ।' कृषिक्षेत्रमा बालीमा लागेको रोग पत्ता लगाउन एआईमा आधारित एप्लिकेसनहरू बनेका छन् । विभिन्न बैकहरूले आ-आफ्नै च्याटबट बनाएका छन् भने शिक्षा क्षेत्रमा यसको व्यापक प्रयोग भैरहेको छ । नेपाल सरकारले ल्याएको एआईसम्बन्धी अवधारणापत्रले पनि यसैको संकेत गरेको पाण्डे बताउँछन् । नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी गर्न १० वर्षे रणनीति बनाएको छ, जसको लक्ष्य सो अवधिमा करिब पन्ध्र लाख रोजगारी सृजना गर्ने र रू. ३० खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य राखेको छ । बढ्दो विश्वव्यापी प्रयोगसँगै नेपाली युवा पुस्ताको पनि सूचना तथा सञ्चार प्रविधि, विशेषगरी एआई सम्बन्धी शिक्षा तथा शीपप्रति आकर्षण बढ्दो छ।
काठमाडौंको डिल्लीबजारस्थित सफटवेरिका कलेजले गत साउन १५ देखि २० गतेसम्म आयोजना गरेको 'टेक एक्स २०२४' मा सो कलेजमा अध्यनरत विद्यार्थीले प्रस्तुत गरेका ३० भन्दा बढी रोबोटिक्स, एआई र साइबर सुरक्षा सम्बन्धी योजनाहरू र त्यस्को अवलोकन गर्नेहरूको भिडले पनि यस क्षेत्रप्रतिको बढ्दो आकर्षण देखाउंछ।
६ दिन चलेको उक्त प्रदर्शनीमा विद्यार्थीहरूले होटेलमा खान ल्याउने, घरको काम गर्न सघाउने, नयाँ बैंक खाता खोल्न मद्दत गर्ने, विमानस्थलको व्यवस्थापनमा सघाउने, संग्रहालय घुमाइदिने, सरसफाइमा मद्दत पुयाउने किनमेल गर्न साथ दिने, विद्युतीय माध्यमबाट हुने ठगी रोक्न मद्दत गर्नेलगायत एआईमा आधारित उपकरणहरूको प्रारूप देखाएका थिए ।
सफटवेरिका कलेजका निर्देशक विनोद श्रेष्ठको अनुसार सूचना प्रविधि क्षेत्रप्रति सबैको ध्यानाकर्षण गर्न उक्त प्रदर्शनीको गरिएको थियो किनकि यस क्षेत्रमा अघि नबढी अब अरू क्षेत्रमा प्रगति गर्न सकिँदैन । प्राध्यापक पाण्डे पनि अब हामीले चाहे वा नचाहे पनि एआईसँग अभ्यस्त हुनुको विकल्प नभएको बताउँछन् ।
'एआईको विकासले ग्रहण गर्ने विश्वव्यापी ढाँचाबाट हामी अलग रहन सक्दैनौं,' पाण्डे ती सँगसँगै यसमा नयाँ अवसर पनि जोडिएर आउँछ' उनी भन्छन्, 'एउटा चुनौती रोजगारी गुम्नु पनि हो। तर, यो प्रविधि प्रयोग गर्ने शीप दिएर पनि नयाँ अवसर सिजना गर्न सकिन्छ । पाण्डेको विचारमा नेपालको सामु अर्को चुनौती भनेको हामीले आफ्नै एआई मोडल निर्माण गर्न नसक्नु हो । 'एआई भनेको मेसिनलाई सिकाउने कुरा हो, तर हामी अरु देशले विकास गरेका मोडलहरूमा निर्भर छौं' उनले भने, 'भविष्यमा यसले समस्या सृजना गर्न सक्छ ।'
'सानो तहमा नेपालमा पनि केही मोडलहरू निर्माण भै प्रयोगमा भए पनि ठूलो तहमा निर्माण गर्न हामीसंग पूर्वाधार छैन । सरकारी तहबाटै यसमा लगानी हुनु आवश्यक छ ।'
गत असार १ गते ललितपुरमा आयोजना गरिएको एक दिने 'नेपाल नेसनल समिट अन आर्टिफिसिअल इन्टेलिजेन्स' कार्यक्रममा नेपालको सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा यसको प्रभाव र प्रयोग र आगामी दिनमा यसको विकास र नियमनका बारेमा छलफल गरिएको थियो ।
उक्त सम्मेलनमा आफ्नो धारणा राख्दै 'स्ट्यान्डफर्ड एआई ल्याव' का तथ्यांक वैज्ञानिक डा. विवेक पौडेलले नेपालले एआई प्रविधिलाई चाँडो भन्दा चाँडो अंगाली यसको फाइदा लिन सक्नुपर्ने बताए। 'नेपालले यसअधि इन्टरनेट प्रविधिलाई ग्रहण गर्न ढिलाइ गरेको थियो, एआईको मामिलामा त्यसो गर्नु हुँदैन,' पौडेलले भने ।
पौडेलका अनुसार एआई प्रविधिको दुरुपयोग रोक्नु र एआई मोडल विकास गर्न प्रयोग हुने तथ्यांकमा विविधता कायम गर्न सक्नु यस क्षेत्रका प्रमुख चुनौतीहरू हुनेछन् । नत्र, उनका अनुसार, यसले समाजमा ध्रुवीकरण र घृणा फैलाउन सक्छ ।