काठमाडौं । राष्ट्रिय आर्थिक गणना-२०७५ अनुसार मुलुकमा सञ्चालित औद्योगिक प्रतिष्ठानमध्ये महिला व्यवस्थापकले सञ्चालन गरेका प्रतिष्ठानको अंश २९ दशमलव ६१ प्रतिशत छ ।
इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)को पछिल्लो प्रतिवेदनअनुसार नेपालको वित्तीय सेवा क्षेत्रमा ४५ प्रतिशत महिला कर्मचारी छन् ।
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार महिला उद्यमीको संख्या बढ्दै गएको छ भने एक तिहाइ महिलाले सम्पत्तिको स्वामित्व प्राप्त गरेका छन् ।
यी तथ्यांकले पछिल्लो समयमा नेपाली महिलाको भूमिका घरभित्र नभई व्यवसाय, सेवाक्षेत्रमा समेत बढ्दो रूपमा रहेको देखाएको छ। तर महिला उद्यमीहरुले महिलामुखी नीति र फेरिँदै महिलाको
योजना ल्याई यसमा थप सुधार गर्न सकिने संभावना देख्छन् ।
न्यू बिजनेश एज लिमिटेडले वैशाख २४ गते काठमाडौंमा आयोजना गरेको ५ औं संस्करणको न्यूबिज बिजनेश विमिन समिट एन्ड अवार्डस् २०२५ कार्यक्रम अन्तर्गत आयोजना गरिएको व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने विषयक अन्तरक्रियामा वक्ताहरूले राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो रहे पनि उनीहरूको क्षमता अभिवृद्धि गर्नु जरुरी रहेको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले औपचारिक अर्थतन्त्रमा महिलाको सहभागिता विगतको तुलनामा बढ्दै आएको बताए । ‘सामाजिक मूल्यमान्यता परिवर्तन हुँदै गर्दा अवसर र दायरा बढेको छ भने सरकारी नीतिले पनि महिला उद्यमशीलता बढाउन महिलालाई प्राथमिकतामा राखेको छ,’ श्रेष्ठले भने,‘औपचारिक रोजगारीमा छिर्नका लागि उनीहरूको अझै क्षमता बढाउनुका साथै कार्यस्थलमा सघाउने नीति र वित्तीय पहुँच बढाउनुपर्छ ।’
कतिपय क्षेत्रमा झन्डै पुरुषकै हाराहारीमा महिलाको सहभागिता पुगेको अध्ययनहरूले पनि देखाएका छन् । अन्तरराष्ट्रिय वित्त निगमको अध्ययनअनुसार वित्तीय क्षेत्रमा ४५ प्रतिशत महिला कर्मचारी छन् ।
व्यावसायिक प्रतिस्पर्धामा पनि महिलाको संख्या बढ्दै गएको छ तर अझै संख्या न्यून रहेको सहभागीको भनाइ थियो । त्यसो हुनुमा अझै पनि महिलालाई व्यवसाय गर्न चुनौती रहेको उनीहरूको भनाइ थियो ।
कटन मिल नेपालकी सहसंस्थापक प्रशन्ना बस्नेतले महिलाको समय धेरैतिर वितरण हुने भएकाले व्यवसायमा समय दिन महिलालाई चुनौतीपूर्ण रहेको बताइन् ।
‘बच्चादेखि सामाजिक संस्कारसम्ममा महिलाले भ्याउनुपर्छ । यसलाई व्यवस्थापन गर्न काम र परिवारबीच सन्तुलन बनाउन जरुरी छ,’ उनले भनिन् । ‘म ७ घण्टा कामलाई फोकस गरेर अरू समय घरलाई दिन्छु । अरू काम गर्न नपाउनु चुनौती हो । यो पुरुषले बुझ्दैनन् ।’
महिलाहरू अझै व्यवसायमा जम्न थालेको धेरै समय नभएकोले अझै पनि उनीहरुको लागि थप सहयोग र मेन्टरशिपको आवश्यकता रहेको वक्ताहरूको भनाइ थियो ।
‘कता जाने के गर्ने भन्ने जानकारी नै नहुँदा कसैको अनुभवले सिक्न सकिन्छ । सफल हुनका लागि पनि मेन्टरशिप जरुरी हुन्छ,’ सफ्टवेयर कम्पनी कोड रसकी प्रबन्ध निर्देशक आस्था शर्माले भनिन् । ‘हामीले मेन्टरशिप कार्यक्रम नै चलाउन थालेका छौं ।’
सहजकर्ता कस्मिक इलेक्ट्रिकल लिमिटेडका संस्थापक महेश महतोले नेपालको औपचारिक अर्थतन्त्रमा महिलाको योगदानलाई के कसरी सम्बोधन गर्न सकिन्छ भनेर वक्तालाई प्रश्न गरेका थिए ।