काठमाडौं । 'न्यूबिज बिजनेश विमिन समिट एन्ड अवार्डस् २०२५' कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका सहयोगी व्यक्ति तथा संस्थाका प्रतिनिधि, अवार्ड विजेता र सकारी निकायका अधिकारीहरूले कार्यक्रमबारे विभिन्न प्रतिक्रिया दिएका छन् ।
अवार्ड विजेताहरू :
अघि बढ्न थप प्रेरणा मिलेको छ
सुनैना पाण्डे
प्रबन्ध निर्देशक, जनरल टेक्नोलोजी प्रालि
विजेता : ‘वुमन इन टेक अवार्ड
न्यूबिज बिजनेश विमिन समिट एन्ड अवार्डस्बाट सम्मानित हुन पाउँदा एकदमै खुशी लागेको छ। यसले मलाई आगामी दिनमा अघि बढ्न अझ प्रेरणा मिल्नेछ । सूचनाप्रविधि उद्योगमा काम गर्दा धेरै चुनौती भोग्नुपर्यो । म सन् १९९८ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेकी हुँ । मैले सरकारले गठन गरेको सूचना प्रविधिसम्बन्धी उच्चस्तरीय आयोगमा बसेर पनि काम गरेकी छु भने ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुऱ्याउन समेत योगदान दिएको छु ।
सम्मान पाएपछि मलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ
गंगा छन्त्याल
सञ्चालक, युनिक सेवा गार्मेन्ट प्रालि
विजेता : इन्स्पाइरिङ वुमन आन्त्रप्रेनर अवार्ड
हामी जस्ता शारीरिक अपांगता भएका व्यक्तिले अवार्ड पाउन गाह्रो हुन्छ । अपांगता भएका व्यक्तिहरू आफै हरेश खाएर बस्छन् । म सक्दिनँ भन्ने सोचसँगै परिवार र राज्यबाटै सहयोग पाउँदैनन् । परिवारले लगानी गर्न पनि मान्दैन ।
आज यसरी सम्मान र अवार्ड पाउँदा मलाई हेर्ने दृष्टिकोणमै फरक पाएँ । हिजोको दिनमा जसले अपांग भनेर हेप्थे, विभेद गर्थे, मसँग बोल्नसमेत रूचाउँदैनथे उनीहरूले पनि फोन गरेर शुभकामना दिएका छन् ।
कतिपय मिडियाले हाम्रो कमजोरी देखाउँछन्। म संघर्ष गरेर यो ठाउँमा आएकी हुँ । हरेश खाएर बसेकाहरू पनि अहिले मेरो सम्पर्कमा आउन थालेका छन् । बाल्यकालमा पोलियो थोपा नपाएपछि म शारीरिक रूपमा अपांग भएकी हुँ ।
२०७८ मा मैले कम्पनी दर्ता गरेर गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएकी हुँ । हाम्रो गार्मेन्ट कारखाना काठमाडौंको नयाँ बजारमा छ । मेरो गार्मेन्ट उद्योगबाट मासिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।
पुराना र नयाँ पुस्ताका महिला उद्यमीलाई जोड्ने सेतु
केश्मा थापा
प्रमुख कार्यकारी अधिकृत, केबी एग्रो एन्ड रिसर्च कम्पनी
विजेता : युथ वुमन आन्ट्रप्रेनर अवार्ड
अवार्ड पाउनु मेरा लागि निकै प्रेरणादायी छ । हामी नयाँ पुस्ताका महिला उद्यमीले यो क्षेत्रमा दशकौंदेखि काम आएका प्रेरणादायी महिला उद्यमीलाई भेट्न पायौं । यो एकदमै खुशीको कुरा हो ।
नेपाल उद्योग वाणिज्य क्षेत्रमा रहेका महिला उद्यमी, सातओटै प्रदेशका महिला उद्यमीको उपस्थिति उनीहरूले गरेका कामको संस्थाले सम्मान गर्दा सम्मानित महिलाका साथै अन्य महिलालाई पनि प्रोत्साहन गरेको छ । यही क्षेत्रमा लामो समय बिताउनु
भएका महिला उद्यमीसँग पनि कुराकानी गर्ने अनुभव आदानप्रदान गर्ने मौका मिल्यो । कार्यक्रम पहिला र अहिलेको नयाँ पुस्ताका महिला उद्यमीलाई जोड्ने सेतु भयो ।
अवार्ड समग्र महिलालाई ऊर्जा हो
आभा शाह
प्रबन्ध निर्देशक, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट
विजेता : बेष्ट वुमन आन्ट्रप्रेनर अवार्ड
यस्ता कार्यक्रमले महिलालाई व्यवसायमा आउन थप प्रेरणा दिएको छ । अवार्ड पाएपछि निकै उत्साहित छु भने थप राम्रो गर्ने जिम्मेवारी पनि थपिएको छ । उद्यम तथा अन्य व्यवसायमा लामो समय बिताएका, विभिन्न संघर्ष गरेर आएका महिलालाई अगाडि ल्याएर प्रोत्साहन गर्ने प्लाटफर्म रहेको अनुभव रह्यो ।
यो अवार्ड समग्र महिलालाई ऊर्जा हो । काम गर्दै जाँदा कसैले अवार्ड, प्रोत्साहन गर्दा थप काम गरौं भन्ने हुन्छ, जसले यस्ता कार्यक्रमबाट सम्मान पाउनु भएको छैन, उहाँहरूका लागि प्रेरणा र प्रोत्साहन हो ।
सातओटै प्रदेशबाट आएका महिला उद्यमीका परिवारलाई पनि अगाडि बढाएर प्रोत्साहन गर्न सकियो भने थप कार्यक्रम राम्रो हुने थियो । मेरो कामको कदर भएको छ । त्यसैले निकै उत्साहित र खुशी छु ।
अर्थतन्त्रमा महिलाको ठूलो योगदान
इन्दिरा रेग्मी
प्रोप्राइटर, रुइन चप्पल उद्योग
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, सूदूरपश्चिम प्रदेश
अछाम जिल्लामा मात्रै सीमित भएको मेरो पहिचान राष्ट्रिय स्तरसम्म पुगेकोमा निकै खुशी लागेको छ । अवार्ड प्रदान गरेर मेरो व्यावसायिक यात्रामा ऊर्जा प्रदान गर्न भूमिका निर्वाह गर्नुभएकोमा न्यू बिजनेश एज परिवारप्रति आभार व्यक्त गर्दछु ।
महिलाले भान्साको भात पकाउने काम मात्रै गर्ने हो भन्ने सोचलाई यस अवार्डले गलत सावित गरिदिएको छ । हामी महिला अब समग्र देशको अर्थतन्त्रलाई माथि उकास्न सक्षम छौं भन्ने सन्देश पनि यस अवार्ड कार्यक्रमले दिएको छ । बिग्रँदै गरेको मुलुकको अर्थतन्त्रमा हामी महिलाहरू आफ्नो काँध थाप्न सक्षम छौं ।
महिलाहरू आर्थिक रूपमा मजबूत बन्नुपर्छ । म जुन संघर्षबाट यहाँसम्म पुग्न सफल भएँ, त्यसलाई आज फर्केर हेर्दा चुनौती र संघर्षविना सफता हात पर्दैन भन्ने कुरा बझ्न पनि यस अवार्डले सहयोग गरेको छ । मैले अछाम जिल्लामा चप्पल उत्पादन गरी अछामसहित दैलेख, कालीकोट र नेपालगञ्जसम्म पनि आपूर्ति गर्दै आएकी छु ।
यो अवार्ड सिंगो कर्णालीको हो
कलशादेवी चौलागाईं
प्रोप्राइटर, कर्णाली एग्रो इन्डस्ट्रीज
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, कर्णाली प्रदेश
यो अवार्डले मलाई अझ धेरै काम गर्ने शक्ति प्रदान गरेको छ । मैले पाएको अवार्ड मेरो मात्रै होइन, सिंगो कर्णाली प्रदेशको हो । किनभने म लामो समयसम्म काम गरेर आज यो स्थानमा पुग्न सफल भएँ । त्यसकारण मेरै प्रदेशका अन्य दिदी बहिनीका लागि यो निकै ठूलो प्रेरणा हो । उनीहरूले मलाई देखेर अब सिक्न सक्छन् कि काम गर्दा जति दुःख भए पनि एक दिन सबैले त्यसको मूल्यांकन गर्छन् ।
भनिन्छ नि, सफल हुन कुनै नयाँ काम गर्नुपर्दैन । तर अरूभन्दा फरक तरीकाले गर्नुपर्ने हुन्छ । म पनि हाम्रै कर्णालीको रैथाने बाली खाद्यान्नलाई फरक ढंगले व्यापार प्रवर्द्धन गरेर आज यो स्थानसम्म पुग्न सफल भएकी हुँ । मैले खासै नयाँ त केही गरेकी होइन । तर मेरो काम गराइ अरूको भन्दा फरक अवश्य थियो। मैले २०७५ सालमा उद्योग स्थापना गरेर विभिन्न खाद्य वस्तुको कुटानी, पिसानी, प्याकेजिङ लगायत खाद्यान्न प्रशोधन तथा लेबलिङको गर्दै आएकी छु ।
अवार्ड दुःख र संघर्षको प्रतिफल
प्रेम कुमारी पुन
प्रोप्राइटर, प्रेम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योग
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, लुम्बिनी प्रदेश
अवार्ड प्राप्त गरेपछि उद्योग स्थापनाकालमा गरेका संघर्ष र दुःख सबै बिर्सिएकी छु । आफूले गरेको मेहनत, लगनशीलता र धैर्य कहिल्यै खेर जाँदैन रहेछ भन्ने कुरा अवार्ड हात परेपछि महसुस भयो । सबैभन्दा ठूलो कुरा त स्थानीयस्तरमा सीमित भएको मेरो उद्यमशीलतालाई राष्ट्रिय स्तरसम्म चिनाउने अवसर मिल्यो । मैले गरेको कामले थप पहिचान पाएकोमा हौसला प्राप्त भयो ।
मेरी आमाले रोल्पाको सानो गाउँमा सिकाएको शीपले आज यति ठूलो सफलता प्राप्त गर्छ भन्ने सोचेकी पनि थिइनँ । मैले पाएको अवार्डले विदेश जाऊँ कि स्वदेशमै केही काम गरौं भन्ने अन्योलमा रहेका अरू धेरैलाई प्रेरणा मिलोस् । नेपालमा पनि आफ्नै मौलिक उत्पादनको उद्यमशीलताबाट सफलता पाउन सकिन्छ ।
खाली हात नबसौं, केही न केही उद्यम गरौं
रजनी शर्मा चपाई
प्रोप्राइटर, रक्षा चापागाईं स्टोर्स
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, गण्डकी प्रदेश
अवार्ड पाउँदा एकदमै खुशी लागेको छ । कुनाकाप्चामा छरिएर रहेका महिलालाई यसरी खोजेर छनोटमा पारी अवार्ड तथा सम्मान गर्नु सकारात्मक कदम हो । यसबाट म निकै उत्साहित छु । मैले पोखरामा साना बच्चाका भोटो, सलहरू बनाएर २०६९ सालदेखि व्यवसाय शुरू गरेकी हुँ । यसलाई बढाएर ठूलो उद्यम बनाइसकेकी छु ।
व्यवसाय गर्दा दुःख, सुख दुवै हुन्छ । त्यसलाई सहज रूपमा लिएर अघि बढ्नुपर्छ । खाली हात घरमा बसेर केही लाभ हुँदैन । सबै दिदीबहिनीलाई घरको काम मात्रै गरेर नबसी आयआर्जनका काम पनि गर्न सल्लाह दिन्छु । परिश्रमको फल मीठो हुन्छ । त्यसका लागि खाली हात नबसौं ।
मेरो रक्षा चपाईं स्टोर कास्कीको पोखरा महानगरपालिकामा छ । हाल मेरो उद्योगमा १८ जना महिलाले रोजगारी पाएका छन् ।
जिम्मेवारी थपिएको महसुस भएको छ
गीता अमात्य
प्रोप्राइटर, अमात्य स्टोर्स नुवाकोट
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, बागमती प्रदेश
यो अवार्ड पाउनु नै मेरा लागि सबैभन्दा गर्वको कुरा हो । बागमती प्रदेशबाट मलाई सबैभन्दा योग्य ठानेर छनोट गर्नु भएकोमा न्यू बिजनेश एजलाई पनि विशेष धन्यवाद दिन्छु मैले करीब दुई दशकदेखि विभिन्न दैनिक उपभोग्य खाद्य वस्तु उत्पादन गर्दै आएकी छु । अहिलेसम्म गरेको मेहनतको फल प्राप्त भएको र अझै थप काम गर्न जिम्मेवारी थपिएको महसुस भएको छ ।
यस्ता कार्यक्रमहरूले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्छ । किनभने यस्ता कार्यक्रमले उद्यम पेशामा लागेका महिला दिदीबहिनीलाई हौसला प्रदान गर्नुका साथै महिलाले पनि मुलुकको अर्थतन्त्रको वृद्धि र विकासमा ठूलो योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ । उद्यम गर्ने सोच बनाइरहनु भएका महिलाहरूलाई हिम्मत गरेर अघि बढ्नुस् र आफ्नो महत्त्वपूर्ण समय खेर नफाली कुनै न कुनै व्यवसायमा लाग्नुस् भन्न चाहन्छु ।
उद्योगको क्षमता विस्तार गर्ने प्रेरणा मिलेको छ
कविता खड्का
प्रोप्राइटर, मध्य नेपाल प्रेस
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, मधेश प्रदेश
मलाई यो अवार्डका लागि सक्षम र योग्य ठान्नु भएकोमा न्यू बिजनेश एज, जुरी तथा निर्णायक मण्डल सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । मधेशका महिला पनि उद्यम गर्न सक्षम छन् र उनीहरूले उद्यम गरेर अवार्ड पनि हात पार्न सक्छन् भन्ने सन्देश यस कार्यक्रमले दिएको छ ।
२०७५ देखि नै विभिन्न सरकारी कार्यालय, अस्पताल, विद्यालय, स्थानीय निकायमा चाहिने कागजको छपाइ सम्बन्धी सम्पूर्ण काम गर्दै आएकी थिएँ । भोलिको दिनमा यसलाई अझ विस्तार गर्ने प्रेरणा मिलेको छ ।
कामको उचित मूल्यांकन भएको छ
दीपा गुरुङ
प्रोप्राइटर, ग्रिनसिटी ललिपप उद्योग
विजेता : इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर, कोशी प्रदेश
अवार्ड प्राप्त गरेपछि निकै खुशी र गौरवको महसुस गरेकी छु । जीवनमा जतिसुकै उतारचढाव र चुनौतीहरू आए पनि धैर्यवान् भएर निरन्तर आफ्नो कर्ममा लागिरहँदा एक दिन कसै न कसैले त मूल्यांकन गर्ने रहेछ भन्ने कुरा अवार्ड प्राप्त गरेपछि झनै गहिरोसँग महसुस भएको छ ।
उद्यम क्षेत्रमा संघर्षरत रहनुभएका दिदीबहिनीहरूलाई पनि नआत्तिनुस्, समाजले जेसुकै भने पनि आफ्नो कर्म गर्न नछाडनुस् भन्न चाहन्छु । सानो लगानीमा व्यवसाय शुरू गरे पनि एकदिन त्यसले ठूलो सफलता पाउन सक्छ भन्ने लागेको छ ।
अब मेरो उद्योगको क्षमता विस्तार गर्ने र अझ धेरैलाई रोजगारी प्रदान गर्ने सोच छ ।
सहयोगी व्यक्ति तथा संस्थाका प्रतिनिधि :
महिला उद्यमशीलता प्रवर्द्धनमा मेरो सहयोग
प्रेमा राज्यलक्ष्मी सिंह
अध्यक्ष, नेशनल लाइफ इन्स्योरेन्स
हरेक नारीको सपना देख्ने अधिकार हुन्छ जुन सपना पूरा गर्न आर्थिक स्वतन्त्रता र अवसरले ठूलो भूमिका खेल्दछ । विगत पाँच वर्षदेखि मैले व्यक्तिगत रूपमा सात प्रदेशका महिला उद्यमीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएकी छु । आफ्नो मेहनत र लगनशीलताले सफल बनेका महिला उद्यमीहरूलाई पुरस्कारको रूपमा आर्थिक सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु । मेरो सानो प्रोत्साहन स्वरूपको आर्थिक सहयोगले धेरै त हैन, कर तिर्नदेखि कम्पनी नवीकरणको कामका लागि भए पनि सहयोग मिल्ने विश्वास लिएकी छु ।
अवार्डले महिला सक्षमता विकासमा टेवा
मनोज ज्ञवाली
कामु सीईओ, नबिल बैंक लिमिटेड
महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि न्यू बिजनेश एजले गरेको यस्ता कार्यक्रमले अरू महिलालाई पनि उद्यमशीलतामा प्रवेश गर्न प्रोत्साहन मिलेको छ । नबिल बैंकले पनि सोही प्रोत्साहनको लागि यो कार्यक्रममा सहयोग गरेको हो । महिला सक्षम भए घर सक्षम हुन्छ । उद्यमशीलतामा महिला सक्षमताले समग्र देशमा नै सकारात्मक प्रभाव पार्दछ । महिलाहरूको कामप्रतिको इमानदारी र जिम्मेवारीप्रतिको बफादारीका कारण हरेक क्षेत्रमा विश्वास कायम गर्न सफल भएका छन् ।
देशमै काम गर्न सकिने सन्देश गएको छ
माधवप्रसाद उपाध्याय
प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक
न्यू बिजनेश एज लिमिटेडले यस्ता कार्यक्रम आयोजना गरेर महिला उद्यमीहरूको हौसला बढाएको छ । देशमा केही काम छैन, अवसर छैन र उपयुक्त वातावरण पनि छैन भनेर महिला र पुरुष दुवैले पलायनको बाटो रोजेका छन् । यस्तो बेलामा देशभरका उद्यमशील महिलालाई प्रतिनिधिमूलक रूपमा छनोट गरेर सम्मान गरिएको छ । यसले महिलामात्रै नभएर सबैमा देशभित्र काम गर्ने वातावरण छ, नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ।
उद्यमीलाई सघाउन पाउँदा खुशी छौं
विनयरत्न शाक्य
प्रमुख मार्केटिङ डिपार्टमेन्ट, मुक्तिनाथ विकास बैंक
महिला उद्यमीले थप राम्रो काम गरून् भन्ने हाम्रो चाहना हो । महिला उद्यमशीलता विकास गर्नका लागि हाम्रो बैंकले पहिलादेखि नै सहुलियत कर्जा उपलब्ध गराउँदै आएको थियो । यो कार्यक्रमलाई सहयोग पनि त्यी आधारमा गरिएको हो । उनीहरूलाई हाम्रो बैंकले पहिलादेखि नै सघाउँदै आएको छ । यसबाट खुशी छौं ।
सहभागिता बढ्ने वातावरण बनाउनुपर्छ
सुदर्शन गिरी
कम्पनी सचिव, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल
महिला उद्यमीलाई प्रोत्साहन गर्ने यस्तो कार्यक्रम देखेर हामी आफै न्यू बिजनेश एजसँग जोडिन आएका हौं । अहिले धेरै उद्योगी व्यवसायी चिन्तित भइरहेको अवस्थामा महिलालाई आफ्नो व्यवसायमा थप उत्साहित हुनेगरी गरिएको यो कार्यक्रम निकै सकारात्मक छ । यो कार्यक्रमको निरन्तरताको हामी कामना पनि गर्दछौं । सफल उद्यम गरिरहेका र सम्मानित हुने अवसरबाट वञ्चित भइरहेका महिलाको खोजीमा आगामी दिनमा यो कार्यक्रमले सफलता पाउने आशा गरेको छ ।
साना उद्यमीलाई पनि समेट्नुपर्छ
नारायणबाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
न्यू बिजनेश एजले आयोजना गर्दै आएको यो कार्यक्रमले धेरै महिला उद्यमी जन्माउन सहयोग मिलेको छ । विभिन्न शीर्षकमा महिला उद्यमीलाई सम्मान गर्दै आएको अवस्थामा आगामी दिनमा सानो उद्यम गरेका महिलालाई पनि समेट्ने गरी कार्यक्रम बने थप प्रभावकारी हुन सक्छ ।
सरकार-निजीक्षेत्रको सहकार्य हुनुपर्छ
सुमित केडिया
सञ्चालक, सीताराम गोकुल मिल्क प्रालि
महिला उद्यमीहरूले उद्यम क्षेत्रमा गरेको योगदानको कदर गर्दै न्यू बिजनेश एजले निरन्तर रूपमा गर्दै आएको महिला उद्यमी अवार्ड कार्यक्रमले भोलिका दिनमा पनि निरन्तरता पाउनुपर्छ, किनभने उनीहरूलाई अब्बल बन्न सघाउनु हामी सबैको दायित्व हो । आगामी दिनमा सरकार र निजीक्षेत्र दुवैको सहकार्यमा यस्ता कार्यक्रम गर्नु जरुरी देखिन्छ।
सरकारको काम निजीक्षेत्रले गरेको छ
नारायणराज अधिकारी
प्रमुख प्रशासकीय अधिकृत, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सातै प्रदेशका महिला उद्यमीमध्येबाट प्रतिस्पर्धामार्फत उत्कृष्ट उद्यमी छनोट गरी सम्मान गर्नुले अन्य महिला उद्यमीलाई अझ राम्रो काम गर्न हौसला मिल्छ । यस्ता खालका कार्यक्रम सरकारले नै सञ्चालन गर्नुपर्ने हो । साथै, यस कार्यक्रमले सरकारलाई चुनौती पनि दिएको छ । आगामी दिनमा सरकारले पनि महिला उद्यमीलाई सम्मान गर्ने यस्ता कार्यक्रम अघि बढाओस् ।
सरकारी निकायका अधिकारीहरू :
उद्यमशीलताका लागि थप कार्यक्रम ल्याउँछौं
कृष्णबहादुर राउत
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
न्यू बिजनेश एजले नेपाली महिला उद्यमीलाई प्रोत्साहन गर्न विगत ४/५ वर्षदेखि न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स गर्दै आएको छ । यस कार्यक्रमले समाजलाई अघि बढाउन महत्त्वपूर्ण योगदान गरिरहेको छ । मलाई ५औं संस्करणमा उपस्थित हुने अवसर मिल्यो । महिला दिदीबहिनीहरूले आफ्नो क्षेत्रमा आफ्नै सीप, क्षमता प्रयोग गरेर जोखिम मोलेर आफ्नो घरपरिवारलाई छुट्टयाउनु पर्ने समय व्यवस्थापन गरेर उद्यमशीलतालाई बढाइरहनुभएको छ । यो विषय प्यानल छलफलमा उठ्यो । त्यसमा नीतिगत कुराकानी भयो । व्यावहारिक रूपमा महिलाले उद्यमशीलता गर्दैगर्दा आफूहरूले भोग्नुपरेका समस्याहरूलाई छलफलको माध्यमद्वारा उजागर गरे । विशेषगरी नीति कार्यान्वयन गर्ने सम्बद्ध निकायहरूका भूमिकामा रहेकाहरूलाई बुझाइमा स्पष्टता पार्ने हिसाबले छलफल भयो । त्यसबाट म व्यक्तिगत रूपमा पनि लाभान्वित भएको छु ।
महिला पुरुषभन्दा पछि परेका छन् भन्ने त विभिन्न तथ्यांकहरूले देखाएकै छन् । नेपाल श्रमशक्ति सर्वेक्षणले महिलाको सहभागिता दरमा कमी देखाएको छ भने ज्याला दर पनि पुरुषको तुलनामा कम रहेको देखाउँछ । लैंगिक रूपमा पनि ठूलो अन्तर रहेको देखिन्छ । महिलाहरू फिल्डमा खट् पर्दा धेरै कुरा मिलाउनुपर्ने हुन्छ । त्यसले गर्दा पनि महिलाको सहभागिता दर कम हुन गएको छ । यस्तो अवस्था संसारभरमै देखिन्छ ।
वास्तवमा लैंगिक विषयमा श्रमशक्ति सहभागिता र श्रमबजारको अवस्था हेर्ने हो भने श्रम बजारमा महिलाहरूको प्रवेश र करिअरमा एम कर्भ जस्तै हुन्छ । शुरूमा माथि जान्छ । परिवार शुरू गरिसकेपछि तल आउँछ । बालबच्चाहरू बढ्न थालेपछि फेरि माथि जाने यस्तो किसिमको ग्राफ विश्वभर नै देखिन्छ । निजी क्षेत्र सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो । त्यसैले यी मुद्दाहरूलाई कसरी सम्बोधन गर्ने हो त्यसबारे सोच्नुपर्छ । निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत महिला उद्यमशीलता विकासका लागि खर्च गर्न जरुरी छ ।
हरित उद्यम एवं नवप्रवर्द्धक उद्यम विधा थप्न जरुरी छ
विन्दु बिष्ट
उपमहालेखा परीक्षक, महालेखा परीक्षकको कार्यालय
महिला उद्यमीलाई प्रोत्साहन गर्न तथा उनीहरूले दिएको योगदानको कदर गर्न न्यू बिजनेश एजले आयोजना गरेको विमिन समिट अवार्डस्मा विजेता एवं सम्मानित हुनुभएका महिला उद्यमीलाई हार्दिक बधाइ व्यक्त गर्दछु । महिलाले घरपरिवारको मात्र हेरविचार गर्नुपर्छ वा गर्छन् भन्ने परम्परागत सोच रहेको हाम्रो समाजमा महिलाहरूले घरपरिवारलाई सँगसँगै उद्यम, व्यवसायका क्षेत्र कुशलतापूर्वक सञ्चालन गरी समाजमा प्रेरणादायी बन्न सक्छन् भन्ने महत्त्वपूर्ण सन्देश यस कार्यक्रमले दिएको छ ।
विभिन्न क्षेत्रमा रही उद्यम व्यवसाय गरिरहनुभएका महिलालाई देशका सातै प्रदेशको कुनाकाप्चाबाट खोजी, यर्थाथपरक एवं पारदर्शी रूपमा मूल्यांकन गरी यस मञ्चबाट सम्मान एवं पुरस्कृत गर्नु साँच्चै प्रशंसनीय कार्य हो । न्यू बिजनेश एजले वार्षिक रूपमा यस प्रकारको कार्यक्रम गर्दै आएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।
विदेश पलायन भइरहेका युवालाई आफ्नै देशका कच्चा पदार्थबाट विभिन्न वस्तुहरूको उत्पादन गरी उद्यमशीलताको शुरुआत गर्न सकिन्छ र यसबाट व्यावसायिक सफलता पाउन सकिन्छ भन्ने महत्त्वपूर्ण सन्देश अवार्ड पाएका उद्यमी एवं उद्योगले प्रवाहित गरेका छन् ।
भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै हरित उद्यम एवं नवप्रवर्द्धक उद्यमतर्फका विधा समेत थप गर्न सुझाव दिन्छु ।
महिलाको क्षमता अभिवृद्धिमा सघाउ पुग्छ
लक्ष्मीकुमारी बस्नेत
सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
न्यू बिजनेश एज प्रालिले विगतदेखि नै गर्दै आएको यो कार्यक्रमले महिलाको क्षमता उजागर गरी प्रोत्साहन गर्ने काम गरेको छ । यो कार्यक्रम असाध्यै राम्रो लाग्यो । यसले महिलाको क्षमता अभिवृद्धिमा धेरै सघाउनेछ ।
भोलिका दिनमा यसको निरन्तरताका साथै अझ प्रभावकारी रूपमा यो कार्यक्रम अघि बढ्ने विश्वास लिएको छु । मलाई लाग्छ, यो अवार्ड कार्यक्रमबाट महिला उद्यमी दिदीबहिनीलाई आगामी दिनमा अझ राम्रो काम गर्न हौसला मिलेको छ । अवार्ड पाउने दिदीबहिनीलाई देखेर भोलिका दिनमा अरू उद्यमी महिला दिदीबहिनीमा पनि राम्रो काम गर्ने प्रेरणासमेत मिलेको छ ।