काठमाडौं । 'न्यूबिज बिजनेश विमिन समिट एन्ड अवार्डस् २०२५' कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका सहभागीहरूले कार्यक्रमबारे विभिन्न प्रतिक्रिया दिएका छन् ।
महिला उद्यमीलाई सहुलियत ब्याजदरमा ऋण
सुरेन्द्रराज रेग्मी
प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमइ बैंक
उद्योग व्यवसायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिलाले नै सञ्चालन गरेका उद्योग तथा व्यवसायको संख्या पनि बढ्दो क्रममा छ। उद्यमशीलता विकासमा लागि महिलाको योगदान उल्लेख्य भए पनि उनीहरूको कामले पहिचान पाउन सकेको छैन । आफूले गरेका कामको प्रचारप्रसारमा महिला उद्यमीहरू पछि छन् । त्यसैले यस्ता अवार्ड कार्यक्रमले महिला उद्यमीलाई पहिचान दिन्छ। उनीहरूलाई हौसला बढाउन समेत अवार्ड महत्त्वपूर्ण छ । यसबाट महिला उद्यमशील बन्ने र उत्साह बढ्ने अपेक्षा गर्न सकिन्छ । हामीले पनि महिला उद्यमशीलता विकासमा लागि विशेष कर्जा कार्यक्रम सञ्चालन गर्दै आएका छौं । महिलालाई उद्यम व्यवसायमा अघि बढाउन सहुलियत ब्याजदरमा कर्जा प्रवाह पनि गर्दै आएका छौं ।
महिलालाई प्रोत्साहन गर्नुपर्छ
रामबहादुर यादव
अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ
नेपालमा महिलाहरू अझै सामाजिक तथा आर्थिक रूपमा पिछडिएका छन् । त्यसैले सशक्तीकरण र उत्थानका लागि उनीहरूलाई आर्थिक रूपमा पनि सक्षम बनाउनुपर्छ । घरपरिवारभित्र चुलोचौकामा मात्र सीमित महिलालाई उद्यमशील बनाउन लघुवित्त वित्तीय संस्थाहरूले ठूलो भूमिका निर्वाह गर्दै आएका छन्।
उनीहरूलाई उद्यमशील बनाउन तालीम तथा वित्तीय पहुँच पुऱ्याउन लघुवित्तहरूले काम गरिरहेका छन् । बिजनेश एजले गरेको अवार्ड कार्यक्रमले महिलालाई थप प्रोत्साहन भएको छ । महिलालाई उद्यम व्यवसायमा आउन यस्ता कार्यक्रमले ठूलो टेवा पुऱ्याउँछ । त्यसैले आगामी दिनमा पनि यस्ता कार्यक्रम नियमित रूपमा भइरहनुपर्छ।
महिला उद्यमीले गरेको कामलाई सम्मान
वसन्त लम्साल
प्रमुख कार्यकारी अधिकृत, विजय लघुवित्त वित्तीय संस्था
न्यू बिजनेश एजले आयोजना गरेको यस अवार्ड कार्यक्रमले महिला उद्यमीहरूलाई आफ्नो काममा गत्यात्मक रूपमा अघि बढ्न प्रेरणा दिएको छ । यो एक प्रकारले उहाँहरूले गर्दै आएको कामप्रतिको सम्मान पनि हो । यसबाट उहाँहरूलाई थप कामका लागि पनि ऊर्जा पनि मिल्छ । यसैगरी कार्यक्रम आफ्नो व्यवसायको प्रचार प्रसार गर्ने, सम्बन्ध विस्तार गर्ने अवसर पनि हो । कार्यक्रममा भएको प्यानल छलफल महिला उद्यमशीलताको अवस्था, अवसर र चुनौतीबारे बुझ्ने अवसर बनेको छ । आगामी दिनमा यस्ता कार्यक्रम निरन्तरताको शुभकामना व्यक्त गर्दछु ।
महिलाको व्यावसायिक स्तर बढाउन महत्त्वपूर्ण
चंकी क्षेत्री
प्रमुख कार्यकारी अधिकृत, सगरमाथा लुम्बिनी इन्स्योरेन्स
महिला उद्यमीहरूलाई प्रोत्साहन र प्रवर्द्धनका लागि न्यू बिजनेश एजले शुरू गरेको यो कार्यक्रम निकै सान्दर्भिक छ । हामी पनि कार्यक्रमको हिस्सेदार बन्न पाउँदा गौरव लागेको छ । यो कार्यक्रमले महिला उद्यमीको व्यावसायिक स्तर प्रवर्द्धनमा समेत योगदान पुग्छ । कार्यक्रममा सात प्रदेशका महिला उद्यमी र राष्ट्रिय स्तरका उद्यमीहरूलाई अवार्ड प्रदान गरिएको छ । यसबाट महिलालाई आफ्नो उद्यम व्यवसाय थप उचाइमा पुऱ्याउन सकारात्मक ऊर्जा मिलेको छ । न्यू बिजनेश एजले आगामी दिनमा पनि यस्ता मौलिक कार्यक्रम गर्दै जाओस् ।
कार्यक्रमको निरन्तरता महत्त्वपूर्ण छ
प्रताप सुवेदी
डेपुटी जनरल मेनेजर, अपरेसन्स एण्ड सर्भिस, कृषि विकास बैंक
न्यू बिजनेश एजले निरन्तर रूपमा महिला उद्यमीलाई प्रोत्साहनका कार्यक्रम गर्दै आएको छ । नेपालमा महिला उद्यम तथा उत्थानशीलतामा सघाउने कार्यक्रम कमै भएको पाइन्छ । त्यसैले यो कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउनुपर्छ । कार्यक्रममा सबै प्रदेशका महिला उद्यमीलाई पुरस्कृत गर्दा उनीहरूलाई थप आँट, उत्साह र ऊर्जा प्राप्त भएको छ । यस्ता कार्यक्रमले आम महिलालाई उद्यम व्यवसायबारे सोच्न शुरू गर्न र अघि बढाउन पनि सघाउ पुग्न सक्छ । काम गर्ने व्यक्तिलाई उत्प्रेरणा पाइन्छ । अवार्ड कार्यक्रमले त्यसको परिपूर्ति गर्छ । कार्यक्रममा महिला उद्यमशीलता विषयमा भएको छलफल समय सान्दर्भिक छ। सबै क्षेत्रमा व्यक्तिको सहभागिता भएकाले पनि कार्यक्रम सार्थक रह्यो। कार्यक्रममा अतिथिहरू, विजेतालाई अवार्ड दिने व्यक्तिको व्यवस्थापन अर्को राम्रो पक्ष थियो । यद्यपि कार्यक्रमको समय अलि लामो भयो कि लाग्यो । आगामी दिनमा समयको व्यवस्थापनमा ध्यान दिन सके प्रभावकारी हुनेछ ।
महिला उद्यमीको पहिचान फराकिलो बनायो
रिता पाठक
विभागीय प्रमुख, कर्पोरेट सेल्स, सिटिजन लाइफ इन्स्योरेन्स
महिला उद्यमीलाई प्रोत्साहनका लागि यो कार्यक्रम महत्त्वपूर्ण छ । विभिन्न विधामा प्रदान गरिएको अवार्डले देशका विभिन्न क्षेत्रमा काम गरिरहेका महिला उद्यमीहरूको पहिचान बढाएको छ । यसबाट उहाँहरूलाई व्यवसायमा थप राम्रो गर्ने उत्साह थपिनेछ । साधारण केही कमी/कमजोरी बाहेक अवार्ड कार्यक्रम समग्रमा राम्रो रह्यो । कार्यक्रममा प्यानल डिस्कसनमार्फत महिला उद्यमशीलता, यसको अवस्था र चुनौतीका विषयमा पनि सारभूत छलफल भएको छ । कार्यक्रमको साझेदारका रूपमा हामी पनि सहभागी हुने पाएकोमा आयोजक संस्था न्यू बिजनेश एजप्रति आभार व्यक्त गर्छौं । आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताका लागि आग्रह गर्छु ।