नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको धमाका चलिरहेको छ । टिमका मालिकहरूको लगानी ५०–६० करोड पुगेको छ । प्राइज के हो भन्ने विषयमा क्यानले सरप्राइज दिन्छ कि स्पिनर चाल, थाहा छैन । नेपाली र विदेशी खेलाडीहरूको भिडन्तले क्रिकेटमा ‘क्रान्ति’ ल्याउला कि ‘कन्फ्युजन’, त्यो पनि हेर्न बाँकी छ । हाललाई डिजिटल स्कोरबोर्ड चम्केको छ, दर्शकका लागि नयाँ सिट राखिएको छ । जनता पनि क्यानको ‘गुगली’ हेर्दै ‘डिजिटल युगको म्याच’ हेरेर मख्ख छन् ।
तर यो क्रिकेटमात्रै होइन, अर्को खेल पनि चलिरहेको छ, एमसीसी बनाम बीआरआई । यसैमा सहभागी हुन प्रम चीन गएर फर्किए । सबैलाई थाहै छ बीआरआई बुझ्न गाह्रो छ र एमसीसीभन्दा चर्को छ । त्यसैले होला ८७ जनाको लर्को चीन भ्रमणमा गयो । एमसीसीमा ‘पोल गाड्ने ठोस प्रगति’ भयो, तर बीआरआई सपनामै सीमित छ । चीनको ऋणप्रति घीन मान्नेहरूको दिन चम्किँदा पनि प्रम ओलीको भ्रमणले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर त भयो, तर यो फ्रेममा वर्क हुन्छ कि हुन्न, थाहा छैन ।
रसुवा र तातोपानीको बाटो खुले पनि नखुले पनि, राँगाभैंसीको मासु चीन पठाउने ढोका चैं खुलेको कुरा छ । झ्यालबाट त पहिला पनि जान्थ्यो क्यारे । चीनले ८–९ अर्ब अनुदान दिने भनेर प्रमलाई फकाइफुल्याई पठायो । दिने नै हो भने चीनले ८–९ खर्ब नै दान दिन सक्थ्यो नि । तर दिएन, ८–९ अर्ब पनि ‘दान’ नभएर ‘अनुदान’ रे । हुन त अरूले पनि ‘अनुदान’नै भनेर दिन्छन् । यो उपसर्ग थप्नुको अर्थ के होला खै ? जे होस्, जाबो ८–९ अर्ब त हाम्रा नेताजीहरूले विदेशी सोमरसमै सिध्याउँछन् । यसले देखाउँछ कि कम्युनिष्ट चीनले नेपाली कम्युनिष्ट नेतृत्वलाई पूरै पत्याएको छैन ।
नेपाली कम्युनिष्ट पार्टीको रणनीति पनि तासको खेलजस्तै छ नि त । कहिले चिनियाँ ‘चौका’ त कहिले भारतीय ‘तिर्की’ फाल्दै, जनतालाई खेलाइरहने । भलै चीनले पनि सबै कम्युनिष्टलाई एउटै खेमामा ल्याउने प्रयास गरेकै थियो । तर हाम्रा नेताहरू यस्ता खप्पिस निक्लिए कि चाइनिजहरूलाई ‘हेरेको हेर्यै’ बनाइदिए । अन्ततः चीनले ‘नेपाली राजनीतिकोे डोरीको छेउ–टुप्पो भेटिएन’ भनेर हात उठायोजस्तो छ । कि हाम्रा नेताहरूलाई नै जिल्याइदिने अझ ठूलो खेला गराउने तानावाना पो बुन्दै छ कि चीन, के थाहा ?
समग्रमा नेपाली नेताहरू पनि त्यस्तै छन्, छिमेकका ठूला नेता भेट्न भनेर बाटोचैं ढुक्ने । तर कहिले चिनियाँ मःमः त कहिले भारतीय समोसा चप्काउन पाए मात्र पुग्ने । बाहिर ‘कम्युनिष्ट’ देखिए पनि दाम र कामको हिसाबले के हुन् भन्ने सबैलाई थाहा छ । तर ‘देशमा अझै धेरै कम्युनिष्ट छन्’ भनेर नझुक्किनु होला । पहिले ‘लाल–लाल’ भन्दै दौडिनेहरू अहिले ‘गोविन्द बोलो हरि गोपाल’ गाइरहेका छन् । पहिले नाम सुन्दै डर लाग्ने लालहरूलाई अहिले कसैले बाल दिँदैन, न त उनीहरूको दाल नै गल्छ । बरु मानिसले उनीहरूलाई ‘उहिलेको खुंखार डाँका’ सम्झेर आँखा रातो बनाएर घुरेर हेर्छन् । लालबाट गोपालसम्म आइपुग्ने यो यात्रामा कम्युनिष्ट सिद्धान्तको गल्ती हो कि उनीहरूको मोटाएको खल्तीको हो, त्यो बुझ्न गाह्रो छ ।
लालभूमि रुस र चीन दुवै व्यापारीमा परिवर्तन भएदेखि यहाँका ‘लाल’हरू ‘लाला’ बने । लालबाट लाला (हिन्दीमा व्यापारी) हुने क्रममा उनीहरूको महत्त्व शेयरको भाउझैं ओरालो लाग्यो । लालाबाट द(लाल) हुँदै गर्दा घरभित्र त लालेहरूको लालसलाम हराइसकेको छ । बिहान हुन्छ, साँझ हुन्छ, दाह्री सुम्सुम्याउँदै उनीहरूको जीवन तमाम हुन्छ । कोही बलात्कार त कोही भ्रष्टाचारका मुद्दामा खोरमा पसेका छन् । कोही ठूलै पद पड्काएर आलिशान महलभित्रको खोपीमा बसेका छन् । कोही मायाजालमा फसेका छन् । कोही खरानी धसेका पनि छन् । कोही खेतीपातीमा कसिएका छन् । समाजवाद, समृद्धि र विकासको यात्रामा हिँडेका कामरेडहरू अहिले त आफन्तवाद, ढोंग र भोगविलाससम्म आइपुगेका छन् ।
अहिले त लालेहरू साँझ खस्नासाथ लालरस (रेड लेबल)सँग फसिहाल्छन् । तर, जनतालाई त हातमुख जोर्न भ्याइनभ्याइ छ । किनेर खानुपर्ने दूध, दही, पिठो, दाल, तरकारी, नौनीसम्ममा तहतहमा करको भार झेल्न विवश छन् । तर पनि मानिसहरू धन्यवाद दिइरहेका छन् कि सास त निःशुल्क छ भनेर । जति सक्दो सास तान, फ्याँक, फेरि तान, फोक्सो भर, तर बाँच, यसअघि कि बोतलमा बन्द गरिएको हावा किनेर बाँच्ने दिन आओस् ।
भलै दलहरू बदलिँदै छन्, दिलहरू बदलिँदै छन् । बिहान घर छाडेकाहरू साँझ फर्किन्छन् वा फर्किन्नन्, थाहा छैन । झुन्डका झुन्ड मानिसहरू यताबाट उता लागिरहेका छन्, अर्थात् तिम्रो अविश्वासमा देशबाट भागिरहेका छन् । तर लाले, तिम्रो बारेमा युवाहरूले त सोधखोजसम्म गर्न छाडेका छन्, जस्तो कि तिमी अस्तित्वमै छैनौ । जस्तो कि तिमी कहिल्यै थिएनौ ।
टीभीका संवाददाताहरू मानिसको मुख मुखमा माइक घुसाएर सरकारबारे केही नकारात्मक बोल्न लगाउँछन् । तर कामरेडहरूलाई चाहिँ आज कोही प्रश्न गर्दैन । कामरेडहरूलाई अहिले त राजनीतिका ‘रोहिंग्या’ सरह पो व्यवहार गरिन्छ त । कोही हेर्दैन, कहिलेकाहीँ झुक्किएर हेरे पनि मानिसहरू मुख अर्कैतिर मोडिदिन्छन् ।
देशको राजनीतिमा कुनै बेला ज्वाइँसाप जस्तो स्थान पाएका कामरेडहरूको हैसियत अहिले रामु काकाको जत्ति पनि रहेन । अहिले त हालत यस्तो छ कि उनीहरूकै बच्चाहरूले समेत ‘हड्ताल’ र ‘नेपाल बन्द’ जस्ता शब्दको अर्थ सोध्न थालेका छन् । यस्तो लाग्छ कि बेरोजगारहरूले आफ्नै बेरोजगारीमा मजा लिइरहेका छन्, गरीबहरूले आफ्नै गरीबीमा ।
घरहरू जलिरहेका छन्, त्यसले चारैतिर उज्यालो छरिरहेछ । कुनैबेला बोक्सी मानिएकी महँगी अहिले उद्योगपतिकी छोरी र मालिकहरूको प्रिय बुहारी बनेकी छ । त्यो घरभरि साल्सा नृत्य गर्दै हिँडिरहेकी छ, तर उसलाई कसैले केही भन्ने हिम्मत गर्दैन ।
यहाँ दशै दिशाहरू चिच्याइरहेछन्, ‘दास क्यापिटल बिर्स’ भनेर । तर पनि अझै दास बन्नेहरू केही छन् देशमा । जनताका लागि केही गर्नु छ भन्ने अझै लाग्छ भने पछाडि फर्किएर हेर, नयाँ इतिहास कोर, पुराना पथहरू त्याग, नयाँ बाटोमा हिँड । भोक, गरीबी र भ्रष्टाचारको सामना गर । मक्किइसकेका ब्यानरलाई भाँग्रो बनाऊ । भोक, गरीबी, भ्रष्टाचार केवल भ्रम रहेछन् भनेर घोषणा गर । अघि बढ्ने हो भने युटर्न लेऊ ।
जो बितेर गयो, सो गयो । विगतलाई छोड, भविष्यको लागि ठाउँ बनाऊ । घोषणापत्रबाट टाढै बस, विधिको विधानमा विश्वास गर । तर यदि माथिका केही पनि गर्न सक्दैनौ भने भक्तिको यात्रामा सँगै जाऊँ । बरु आऊ कामरेड... हामी भजन गाऊँ, गोविन्द बोलो हरि गोपाल बोलो...।