जेठ १३, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । संघीय संसद् प्रतिनिधिसभाको सोमवारको बैठकमा उनले संसद्मा ‘आव २०७५/७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हुँदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको संख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरेका हुन् । अर्थमन्त्री डा. खतिवडाले मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल संख्या ४ हजार ७०१ पुगेको जानकारी दिदैं आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले बृद्धि भई रू. ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई रू. ९ खर्ब ४९ अर्ब पुगेको बताए । उनले यस अवधिमा वस्तु व्यापार घाटा रू. ८ खर्ब ८८ अर्ब रहेको जानकारी दिए । अर्थमन्त्री डा. खतिवडाले आव २०७५/७६ को फागुनसम्म शोधनान्तर स्थितिको घाटा रू. ५९ अर्ब र चालु खाता रू. १ खर्ब ९१ अर्बले घाटामा रहेको तथा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बृद्धि भई रू. ५ खर्ब ८२ अर्ब पुगेको जानकारी दिए ।
यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५ दशमलव ९ प्रतिशतले घटेको छ, उनले भने । मन्त्री डा. खतिवडाले यस अवधिमा २१८ उद्योगमा रू. ११ अर्ब लगानी प्रतिबद्धता भई थप ७ हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान गरेको बताए । उनले आर्थिक वर्ष २०७५/७६ फागुनसम्म कूल जनसंख्याको ७७ दशमलव ८ प्रतिशत जनसंख्यामा विद्युत् सुविधा पुगेको र यसै अवधिमा १ हजार १४२ मेगावट विद्युत् उत्पादन भएको तथा १८ प्रतिशत जनसंख्याले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा उपभोग गरिरहेको जानकारी दिए ।
यसै अवधिमा हुम्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक सञ्जालसँग जोडिएको जानकारी दिदैं उनले कूल सडकको लम्वाइ ३१ हजार ३९३ किलोमिटर पुगेको बताए । जसअन्तर्गत कालोपत्रे १४ हजार १०२ किमी र ७ हजार ८८१ किमी खण्डास्मित र ९ हजार ४१० कच्ची सडक निर्माण भएको उनले जानकारी दिए । यसै अवधिमा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षभित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न हुने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिए ।
अर्थमन्त्री डा. खतिवडाले सन् २०१८ मा स्थल मार्गबाट भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएको बताए । भूकम्पछि पुनःनिर्माणको काममा तीव्रता आएको बताउँदै उनले यस अवधिमा ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको तथा २६२ सरकारी भवन ४ हजार २०१ विद्यालय भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरेको छ भने मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशतमा रहने अनुमान गरेको छ । अर्थमन्त्री खतिवडाले नेपालीको बचत गर्ने बानी बढ्दै गएको, प्रतिव्यक्ति आम्दानी क्रमशः बढ्दै गएको, कूल गार्हस्थ्य उत्पादन वृद्धि हुँदै गएकाले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको बताए । आर्थिक वर्ष २०७५/७६ मा प्रत्येक नेपालीको प्रतिव्यक्ति आय रू. १ लाख १७ हजार पुग्ने बताउँदै उनले यस अवधिमा लगानी २९ प्रतिशतले बृद्धि भई रू. २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको छ भने । अर्थमन्त्री डा. खतिवडाले यस अवधिमा रू. १ खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको र रू. ३ खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र रू. ५ खर्ब ९५ अर्ब बाह्य ऋण रहेको उल्लेख गरे । रासस