काठमाडौं । आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् गत शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । उक्त अवार्डस् कार्यक्रममा आयोजक निर्णायक र मूख्य प्रायोजक समेतले आ-आफ्ना धारणा राखेका थिए । प्रस्तुत छ उनिहरूका धारणा :
निर्णायक मण्डललाई स्वतन्त्रता दिएको छ
मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज
हामीले २०१३ देखि अवार्ड गर्दै आएका छौं । यी कुनै पनि अवार्डमा उत्कृष्टहरूको छनोट गर्न स्वतन्त्र निर्णायकमण्डललाई जिम्मा दिइएको हुन्छ । आयोजकले निर्णायकमण्डललाई कुनै दबाब दिने गरेको छैन । निर्णायक मण्डलले आफूले बनाएको मापदण्ड पूरा गर्नेलाई उत्कृष्ट घोषित गर्ने गरेको छ । अवार्ड सम्पन्न गराउन विज्ञ सम्मिलित निर्णायकमण्डलदेखि केही बैंक र बीमा कम्पनीसहित प्रायोजकहरूको ठूलो योगदान छ । अप्ठ्यारोसँग जुधेर अघि बढ्न सकिन्छ ।
अवार्डको महत्व बढेको छ
रमेश हमाल पूर्वअध्यक्ष,
नेपाल धितोपत्र बोर्ड (सेबोन)
यसपटक दुर्गम प्रदेशअन्तर्गत पर्ने मधेश, कर्णाली, सुदूरपश्चिममा समेत सेवा प्रवाह गरिरहेका कम्पनीलाई छनोट गर्न सकिएको छ । यसले अवार्डको महत्त्वलाई बढाउने काम गरेको छ ।
अप्ठ्यारोसँग जुधेर अघि बढ्न सकिन्छ
मानव मजुमदर
वरिष्ठ सल्लाहकार भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई)
विश्व अर्थतन्त्रले चुनौतीपूर्ण समयको सामना गरिरहेको छ । दशकको प्रारम्भिक वर्षहरूमै ठूलो अवरोध झेल्नुपर्यो । केही पुराना जोखिमसमेत कायमै थिए । धेरै नयाँ चुनौतीको सामाना गर्नुपर्दा समग्र विश्व नै प्रभावित बन्यो । त्यसमा पनि व्यापार जगत्लाई गम्भीर रूपमा असर गरेको छ । अहिले व्यावसायिक क्षेत्रले भोगिरहेको समस्याका बारे सबै अवगत नै छौं । अर्थतन्त्रमा मन्दी आइरहेको छ, यो केही समय अझै रहने देखिन्छ । यसबीचमा कतिपय स्थापित उद्योग व्यवसाय राम्रोसँगै अघि बढेको समेत देखिन्छ ।
अप्ठ्यारो परिस्थितिमा पनि ग्राहकको मागलाई ध्यानमा राख्न सक्दा उनीहरूको बिजनेश बढेको हो । समयको मागलाई हामीले सम्बोधन गर्न सकियो भने व्यवसायमाथि उठ्न सघाउ पुग्छ । उदाहरण हेरौं, २००८ मा स्टारबक्सले ७००० स्टोर बन्द गरेको थियो । तर, विभिन्न समयमा कफीकै प्रडक्टलाई इनोभेशन गरेर कम्पनी ब्याक भएको थियो । स्टारबक्स डिजिटाइजबाट सफल भएको अर्को उदाहरण हो । यस्तै हिन्दुस्तान युनिलिभर २००८ मा भएको विश्व आर्थिक मन्दीका बेला शेयर ड्रप गरेको थियो तर पछि लगानी थपेर ब्याक भएको थियो ।
हाम्रो योगदानको सही कदर
विशाल सुवेदी
ब्रान्ड एण्ड मार्केटिङ स्ट्याण्डर्ड चार्टर्ड
‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’को अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडलाई मिलेको छ । न्यू बिजनेश एज, निर्णायक जुरीलाई विशेष धन्यवाद दिन चाहन्छु । अवार्ड पाउँदा यो मुलुकका लागि हामीले गरिरहेको योगदानको सही कदर भएको महसूस भएको छ । आगामी दिनमा हामीलाई अझ अगाडि बढ्न यसले सघाउ पुग्नेछ ।
थप अघि बढ्न उत्साह थप्यो
सुदील घिमिरे
सिनियर म्यानेजर, कृषि विकास बैंक
हामीले पहिल्यैदेखि यस बैंकलाई दुर्गममा पुर्याएर सेवा गरिरहेका छौं । यो बैंकले किसान लक्षित गरेर सेवा दिइरहेको छ । हाम्रो अहोरात्रको मेहनतबाट दुर्गमसम्म पुर्याएको बैंकिङ सेवाको न्यू बिजनेश एजले कदर गरेको छ । यसबाट म एकदमै गौरवान्वित भएको छु । २०२४ सालदेखि नै हामीले कृषि कार्य गर्दै आएका छौं, जे गरिरहेका छौं त्यो सही रहेछ भन्ने यस्तो अवार्डबाट पुष्टि भएको छ र आगामी दिनका लागि उत्साहितसमेत बनाएको छ ।
अघि बढ्न प्रोत्साहन मिल्यो
नम्रता थापा
चिफ रिर्सोस मानेज्मेन्ट अफिसर
साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड
‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’ साइन रेशुंगा डेभलपमेन्ट बैंक लिमिटेड घोषित भएको छ र हामीले अवार्ड पाएका छौं । यो हाम्रा लागि अत्यन्तै खुशीको कुरा हो । खासगरी यस बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलको नेतृत्वको समूहको मेहनतको प्रतिफल हो, यो । यो उपाधि दिन हामीलाई उपयुक्त ठान्नु भएकोमा हामी न्यू बिजनेश एज, निर्णायकमण्डललाई विशेष धन्यवाद दिन चाहन्छौं । यसले हामीलाई आगामी दिनमा अझ अघि बढ्न ठूलो प्रोत्साहन मिल्नेछ ।
निर्णायकमण्डल दबाबमा परेको छैन
राजेशकुमार अग्रवाल
अध्यक्ष, नेपाल उद्योग परिसंघ
निर्णायकमण्डल कुनै दबाब प्रभावमा नपरी उत्कृष्ट कम्पनी छनोट गर्न सफल भएको छ । व्यावसायिक रूपमा सक्षम रहेकाहरूले मात्रै अवार्ड पाएका छन् । यसमा कुनै दुबिधा छैन ।
आन्तरिक तथा बाह्य चुनौती कायमै छन्
गोपालकृष्णन् गौरीशंकर
एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर
अहिले पनि विश्व अर्थतन्त्र माथि उठ्न सकेको छैन । आन्तरिक तथा बाह्य चुनौतीहरू नेपालसहितका देशहरूले भोग्नै परेको छ । आर्थिक क्षेत्रमा केही समस्या भए पनि मुलुक त्यसको व्यवस्थापन गर्न देशहरू सक्षम हुनुपर्छ । समस्या समाधान गर्न असहज छैन । अझ नेपाल छुट्टै पहिचान र सम्भावनाको देश हो ।
भूकम्पजस्तो जटिल समस्याबाट समेत मुलुक सहजै माथि उठेको थियो । नेपालको अर्थतन्त्रमा देखिएका केही समस्याबाट नेपालले छिट्टै निकास पाउने विश्वास छ । नेपालको आर्थिक क्षेत्रमा प्रशस्तै सम्भावना छन् । आर्थिक क्षेत्रको विकासका लागि सबै तयार पनि छन् । त्यसैले सबै चाँजोपाँजो मिलाएर अघि बढ्नुको विकल्प छैन । रेमिट्यान्सका कारण जनतासँग पैसा छ र यो बढिरहेको तथ्यांकले देखाएको पनि छ । नेपाली युवाको विदेश जाने ट्रेन्ड बढेको देखिन्छ । अब उनीहरूको भविष्यका बारेमा समेत चिन्ता गर्नुपर्ने बेला आएको छ । ती फर्किन्छन्/फर्किंदैनन् थाहा छैन । सरकारले यो बुझेकै छ, यसमा काम पक्कै गर्नेछ । व्यावसायिक कम्पनीहरूले नेपालीले के चाहन्छ भन्ने सोचेर काम गर्न जरुरी छ ।