अघिल्लो हप्ता राजा फर्काउन भनेर पाखुरामा कालोपट्टी, टाउकोमा रातोपट्टी, हातमा ब्यानरसहित शहरमा भिड लागेको थियो, जुलुस निस्किएको थियो । नाराले आकाश गुन्जायमान थियो, ‘राजा आऊ देश बचाऊ !’
त्यही भिडभित्र एकजना क्रान्तिकारी देखिन्थे, देशका लागि मर्न र मार्न तयार, हातमा ब्यानर, मनमा आशा, अनि गलामा सुनको सिक्री । तर आन्दोलनको भिडमा बिचराको सिक्री झ्वाम भएछ । सिक्री हराएपछि देश बचाउने रहर पनि हराएछ ।
उनी टाउको समातेर भुइँमा बसे । राजा फर्किऊन् वा नफर्किऊन्, पहिला मेरो सिक्री त फर्काऊ भनेर चिच्याइरहेका थिए, रोइरहेका थिए ।
त्यतिकैमा एउटा आन्दोलनकारी जो आफूलाई ‘नारीवादी’ भन्थिन्, क्रुद्ध हुँदै भनिरहेकी थिइन्, ‘यो के अन्याय हो ? किन राजा आऊ देश बचाऊ भनेको ! रानी आऊ देश बचाऊ किन नभनेकोे ? रानीको चैं के दोष ? देश चैं के राजाले मात्र बचाउने हो, रानीले होइन ?’ भन्दै उफ्रिरहेकी थिइन् ।
राजावादी आन्दोलनकारीहरू अलमल्ल परे, हैन, हाम्रो नाराको मिटर बिग्रियो कि क्या हो ? एकजना नेताले झण्डा समाउँदै पुरुष पारामा उत्तर दिए–
‘रानी आऊ भन्दा नारा म्याच नहुने, अर्थात् अनुप्राश अलि नमिलेकाले राजा आऊ भनेको ।’
तर नारीवादी दिदी ‘अनुप्राश चाहिँदैन, समानता चाहिन्छ !’ भन्दै अर्को क्रान्ति खोज्न भनेर भिडमा मिसिइन् ।
यता एउटा भिड आन्दोलनमा कुर्लिंदै थियो, उता भाटभटेनी सुपरमार्केटमा अर्को भिड उर्लिंदै थिए । उनीहरूलाई त राजा चाहिएको होइन रहेछ, खाजा पो चाहिएको रहेछ । शायद आन्दोलनकारीको लक्ष्य फेरिएछ । तेल, च्युरासहितको देश बचाउने योजना बनेछ ।
एउटा मूर्धन्य आन्दोलनकारी, हातमा केही केरा र स्याउ, च्युराको प्याकेट र ५ लिटर तेल बोकेर कुदिरहेका थिए । मैले सोधें, ‘हैन आन्दोलन गर्न छाडेर कता भागेको ?’
उनले गम्भीर मुद्रामा उत्तर दिए, ‘बजारमा सामानको भाउ महँगो भएको छ, राजा आउनुअघि नै अलि सस्तो दाउ पारौं कि भनेर अहिले चैं यता लागेको ।’ साच्चै, आन्दोलनकारीहरूले मुद्रास्फीतिको महत्त्व चैं बुझिसकेका रहेछन् ।
यो आन्दोलनमा उपभोक्ताको मनोविज्ञान बुझ्न चाहनेका लागि एउटा गज्जबको मौका थियो । उदाहरणका लागि, महिलाहरू कपडा, कस्मेटिकका सामान बोकेर कुदिरहेका थिए । युवाहरू बियर र ह्विस्कीका बोतल बोकेर झुम्मिरहेका रहेका थिए । अधबैंशेहरू कोही पँखा त कोही घडीमा लामो हात हालिरहेका थिए । स्वास्थ्यप्रति सचेत अलि पाका मान्छेहरू स्याउ, सुन्तला खल्तीमा भरेर मस्त मुद्रामा लम्किरहेका थिए ।
त्यतिकैमा अर्को आन्दोलनकारीले अलि लजाउँदै भन्यो, ‘न्याय नपाए गोर्खा जानु भन्थे, आन्दोलनकारीले चैं राजा नआए भाटभटेनी जानु भन्नै चैं बुझेछन् । अर्को कुरा, आन्दोलन कहिल्यै खाली पेटमा गर्नु हुँदैन रहेछ कि क्या हो ।’
राजा आऊ देश बचाऊ भन्दाभन्दै राजाले नै खोलेको जडीबुटी कम्पनीमै आगो झोसेर खरानी बनाएछन् । सरकारले उद्योग चलाउने हो र ? भन्ने थ्याचरिजका अनुयायीहरू पो रहेछन् क्यारे ऊनीहरू । अझ आन्दोलनकारीहरू नारायणहिटी दरबारतिर जान पाएको भए त दरबार पनि खरानी पार्थे कि जस्तो देखिन्थ्यो । राजा ल्याउने यो तरीका पनि गजबको लाग्यो ।
तर मेरो चिन्ता भने अर्कै थियो । घर, पसल, उद्योगहरू जलिरहेका थिए । विनाकाममा ज्यान गुमाउन पुगेका परिवार र आफन्तका मनहरू जलिरहेका थिए । धन्न विमानस्थल जलाउन भ्याएनछन् आन्दोलनकारीहरूले । कोही ‘ए पुलिस कता भुलिस्’ भन्दै सरकार र प्रहरी प्रशासनसँग आक्रोश पोख्दै थिए । आन्दोलनमा नलागेका, रमिता हेर्न भनेर अफिस वा घर छाडेर नभागेका र पेशा उद्यममा मात्र लागेकाहरू अब अगाडि कसरी चल्ने होला भनेर चिन्तित देखिन्थे । त्यसदिन राजा त फर्किएनन् । विगतमा माओवादी खाओवादी भएर सिद्धिए भन्छन् । यता गणतन्त्रवादी लडतन्त्रवादी मात्रै भएर निस्किए । राजा आउलान् र देश बचाउलान् भनेको पनि राजावादी झन् खाजावादी भएर पो निस्किए । अब देश कसले चैं बचाउँछ होला ?
समयसँगै भिड जम्मा हुँदै गयो, अनि साँझ परेपछि तितरबितर पनि भयो । साँझ शायद कतै जम्ने योजना पो थियो कि कत्तिको चैं । तर आन्दोलनको कमाण्डर बबण्डर गरेर कुन दुलोमा पसे थाहा भएन । आफू रत्ति पनि नडराएको, तर मरिन्छ कि भन्ने भएकाले सुरक्षित बसेको भनेर महान्् सन्देश आयो । अब यिनैले पो बचाउने पो हुन् कि देश ? अर्थतन्त्र डुबेछि मात्रै देश बच्ने रहेछ कि क्या हो ?
अनि सामाजिक सञ्जाल तात्तियो, मिडियाले रिपोर्ट लेख्यो—‘यो राजावादी आन्दोलन हो कि महा–डिस्काउन्ट सपिङ फेस्टिवल ?’
तर साँझसम्म पनि राजा त फर्किएनन् । त्यसैले होला आन्दोलनकारीहरू हातहातमा सित्तैमा पाएको सामानहरू लिएर आआफ्नो घर फर्किए । राजावादीहरूले सामाजिक सञ्जालमा आन्दोलनको फोटा पोस्ट गर्दै क्याप्सन लेखेको देखियो, ‘हामी इतिहास बनाउँदैछौं ।’ हो, इतिहास बनिसकेछ त ।