अस्ति मात्र सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन निकाल्यो– पोखरा विमानस्थलमा विविध शीर्षकमा दशौं अर्ब रुपैयाँ भ्रष्टाचार । सबैजसोले भने– सिस्टम नै खराब ।
त्यसो हो र ? होइन नि । नेपालमा पूर्वाधार निर्माणको सिस्टम नै भ्रष्टाचारको पर्याय होइन र ? अनि कसरी सिस्टम खराब भयो त ? सिस्टम त बलियो पो रहेछ त भनेर बुझ्नुस् न । नेपालमा पूर्वाधार निर्माणको यो सिस्टमलाई ढिलासु प्रगति, लागतको महाशृंगार र बहानाको वज्रयुक्त शैलीका साथ बलियो बनाइएको छ भन्ने कुरामा कुनै विवादै छैन । यसमा बहस गरेर कामै छैन । यो त स्थापित सत्य हो– चियाको कपमा उब्जिएको राष्ट्रिय सहमति क्या !
सबैलाई थाहा छ– भ्रष्टाचार सर्वत्रै छ । त्यसैले त्यो न त नौलो, न चकित पार्ने कुरा भयो । चिया तातो भयो भनेर दिनदिनै अचम्म मान्ने हो र ? भ्रष्टाचार पनि त्यस्तै सामान्य कुरा त हो नि, जुन हाम्रो सामाजिक जीवनको मसला हो । त्यसैले धेरै चर्चा गरेर समय खेर फालेर के फाइदा ?
जहाँसम्म सरकारको कुरा छ, त्यो त महासामान्य भइहाल्यो नि । सरकारहरू आउँछन्, सरकारहरू जान्छन् । ती त घाम र जुनजस्तै त हुन् । मुख्य कुरा त सिस्टम हो– जुन यथास्थितिमा चलिरहनुपर्छ, अर्थात् आम मानिसहरूले दिइरहून्, हामी लिइरहौं । यही यो सिस्टमको मर्म हो, यही नै हाम्रो मूल धर्म हो । यही लेनदेनबाट त चल्छ हाम्रो घर, समाज र देश, हाम्रा योजनाहरू, मन्त्रीहरूका घरका फर्निचर र बच्चाहरूका विदेश पढाइ ।
कसैले यसलाई खराब भन्न सक्छन्, तर समाज भनेकै राम्रा–नराम्रा कुराहरूको गठजोड हो– एउटा अर्गानिक मिलन, जहाँ अस्वस्थ पदार्थ पनि ‘हेल्थ सप्लिमेन्ट’ बनेर बिक्छ । जब यो सिस्टम थिएन, त्यतिबेला पनि खराब भन्ने प्रजाति मौजुदै थिए । त्यसैले म भन्छु– समाजमा केही कुरा खराब पनि हुनुपर्छ, ताकि खराब भन्ने मानिसहरूको रोजगारी सुरक्षित रहोस् । खराब रहे भने मात्र राम्राको पनि महत्व थाहा हुन्छ । अँध्यारो नभए उज्यालोको महत्त्व कसरी थाहा पाउनु र ?
वास्तवमा सिस्टम आफैमा खराब हुँदैन । अझ यदि तपाईं आफै सिस्टमभित्र हुनुहुन्छ भने त त्यो खराबै हुँदै हुँदैन । सिस्टमको मूल्य त ‘भित्र’ हुन्छ । साँचो कुरा के हो भने, सिस्टमलाई खराब भन्ने मानिसहरू पनि पहिले आफै सिस्टमभित्र पस्न खोज्छन् । जो सफल भए, उनीहरू यसलाई ‘सुनौलो अवसर’ भन्छन् । जो असफल भए, उनीहरूले यसलाई विरोध गर्न थाल्छन्, ‘व्यवस्था पतन भयो’ भन्न थाल्छन् । सिस्टममा फिट हुन हिट हुने नारा लगाउँछन् । कतिबेला चिट गर्छन्, कतिबेला चुप लाग्छन्– छिटफुटबाहेक अरूलाई थाहै हुन्न ।
धेरैजना सिस्टमभित्र छिर्न सफल हुँदैनन्, अनि बाध्य भएर सिस्टमको विपक्षमा ‘इमानदारी’ देखाउने अभिनय गर्छन् । इमानदारी उनीहरूको प्राथमिकता होइन, बाध्यता हो । उदाहरणका लागि नेताका नजिक भएकै कारणले लाभका पद पाउनेहरू सरकार र सिस्टमको विरोध गर्दैनन् । पद पाएर लाभ लिनेहरूलाई सिस्टम स्वर्ग लाग्छ । तर पद नपाएका वा पाएर पनि पर्फर्म गर्न नसकेका भने ‘स्वास्थ्यका कारण’ राजीनामा दिन पुग्छन् । पद पाउने बेलामा सिस्टम ठीक, नपाएपछि सिस्टम खराब हुन पुग्छ । जस्तै, सिस्टमबाहिर परेका केही बुद्धिजीवीहरू भन्छन्– सिस्टमले सोच बिगार्छ र बेइमानीतर्फ धकेल्छ । तर यो सत्य होइन । सिस्टम त सबैको कल्याणको सोचबाट निर्माण हुन्छ नि ।
देशमा कानून छ, प्रहरी छ, जेल छन्, वामपन्थी छन्, ट्वीटरमा सक्रिय नैतिकतावादीहरू छन् । तर यी सबै हुँदाहुँदै पनि सिस्टम निर्माण गर्न गाह्रो हुन्छ । केही दृढनिश्चयी समाजप्रेमीहरू उपाय निकाल्छन् र बिस्तारै एउटा प्रणाली निर्माण हुन्छ– जसलाई हामी ‘सिस्टम’ भन्छौं । ‘सबैको साथ, सबैको विकास’ भन्ने भावनाबाट सिस्टम बलियो बन्छ ।
सिस्टममा कहीँ समस्या भयो भने कहिले सुन समातिन्छ, कहिले भ्रष्टाचारको प्रमाण निकालिन्छ । प्रमाण पनि त्यस्तो, जसले अरूलाई जेल जान बाध्य पारोस्, आफूलाई होइन ।
कानून आफ्नै ठाउँमा हुन्छ, सिस्टम आफ्नै ठाउँमा । उनीहरू कानूनको सम्मान गर्छन्, तर धर्मसंकट नआओस् भनेर ध्यान दिन्छन् । सहकार्यको भावना राखियो भने कानून पनि पछि हट्दैन । राम्रा नागरिकहरूलाई के चाहियो र ? मानिसहरूले पैसा लिऊन् र काम गरिदिऊन् । आजको सच्चा इमानदारी यही हो । अनि कानून पनि त्यसमा टाउको दुखाउँदैन– यदि ‘सहयोगी भावना’ देखाइयो भने ।
हेक्का रहोस्– सिस्टमलाई लोकतन्त्र मन पर्छ । यसले हरेक पाँच वर्षमा जनतालाई ‘सहयोगी सरकार’ चुन्ने मौका दिन्छ । हेर्नोस्, जुत्तामा किला बिझ्यो भनेर जुत्ता फालिन्न । केही दिनमै पोल्ने ठाउँको छाला बाक्लो हुन्छ, जुत्ता लुज हुन्छ । अनि त के ? यस्तो सहयोगी प्रक्रियाबाट त्यो जुत्ता नै प्यारो लाग्न थाल्छ । इमानदारी पनि त्यस्तै हो, शुरूमा पोल्छ, पछि त्यसैमा न्यानोपन महसुस हुन थाल्छ– न पोल्ने इमानदारी, न बोल्ने इमानदारी, एकदम लचिलोे । त्यही समाज र सभ्यता टिकिरहन्छ, जसले समय अनुसार आफूलाई परिवर्तन गर्न जान्दछ । उदाहरणका लागि हामीकहाँ अधिकांश मानिस धार्मिक छन् । त्यसैले धार्मिक कार्यक्रमहरू चलिरहन्छन् । मन्दिरमा फूलपाती नैवेद्य चढाउने हाम्रो परम्परा छ । यसबाट सिस्टमलाई बलियो आधार प्राप्त हुन्छ ।
सरकारी कार्यालयहरू पनि एक किसिमका देवस्थल नै हुन् । फूलपाती नैवेद्य चढाउनु भो भने मात्रै देवता प्रसन्न हुन्छन् र मनोकामना पूरा हुन्छ– फाइल अघि बढ्छ, ट्रान्सफर रोकिन्छ, म्याद थपिन्छ । यही धारणाले सिस्टम थप बलियो बनाउँछ । अहिलेको सिस्टम अनुसार नीतिगत भ्रष्टाचार नै नयाँ क्रान्तिको मुहान हो । अब त सुधार आयोगले नै सुझाव दिइसकेको छ– राजनीतिक दलहरूलाई सरकारी कोषबाट अनुदान दिइयोस् भनेर ।
त्यसैले यो पंक्तिकारको सल्लाह छ कि सरकारले अब भ्रष्टाचारलाई नीतिगत रूपमा वैध गरिदिए कति राम्रो हुन्थ्यो । कानूनी सहमतिमा आधारित भ्रष्टाचारले सिस्टमलाई अझ सशक्त बनाउँछ भन्ने अनुमान गर्न सकिन्छ । शायद हामी त्यही दिशामा गइरहेका छौं– नयाँ युगको ‘इमानदार बेइमानी’को शुरुआत ।
अन्तमा, यो मुलुकमा सिस्टम बिग्रिसकेको छैन है । तपाईं त्यसभित्र नपर्नु भएको मात्र हुन सक्छ । त्यसैले सिस्टमभित्र छिट्टै छिर्ने प्रयास थालिहाल्नुस् है !