काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार युद्ध चर्किंदै गर्दा दक्षिण एशियामा अर्को व्यापार युद्धको शुरुआत भएको संकेत देखिएको छ ।
भारतले केही दिनअघि आफ्ना केही स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज गरेपछि ढाकाले धेरै भारतीय तथा नेपाल र भुटानबाट दुईथरी वस्तु आफ्नो मुलुकमा आयात गर्न रोक लगाएको छ ।
बंगलादेशको नेशनल बोर्ड अफ रिभेन्युले नेपाल र भुटानबाट हुने यार्न (धागो) र आलु आयातमा प्रतिबन्ध लगाएको बंगलादेशी सञ्चारमाध्यमहरूले बताएका छन् । नेशनल बोर्ड अफ रिभेन्युले आइतवार राजपत्रमा सूचना जारी गरी धागो, धूलो दूध, सुर्ती, न्यूजप्रिन्ट, आलु, माछा, विभिन्न प्रकारका कागज र पेपरबोर्ड, रेडियो र टेलिभिजनका पार्टपुर्जा, साइकल र सवारीसाधनका पार्टपुर्जा, सेरामिक र सेनिटरिवेयर, स्टेनलेस स्टील, मार्बल र टायलका स्लाब, डुप्लेक्स बोर्ड, क्राफ्ट पेपरलगायत वस्तु भारतबाट आयात गर्न प्रतिबन्ध लगाएको हो ।
बंगलादेशी सञ्चारमाध्यमहरूले सरकारी स्रोतको दृष्टान्त दिँदै घरेलु उद्योगहरू, विशेष गरी कपडा, कागज र सेरामिक क्षेत्रमा प्रतिस्पर्धा सुनिश्चित गर्ने उद्देश्यले ढाकाले यस्तो कदम चालेको उल्लेख गरेका छन् । भारत त बंगलादेशबीचको सम्बन्ध चिसिएको बेला बंगलादेशले भारतीय वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ ।
भारतले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई शरण दिएपछि बंगलादेशले चीन र पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन थालेको पृष्ठभूमिमा दुवै देशले एकअर्काको व्यापारमा प्रभाव पर्ने गरी कदम चालेका छन् । बंगलादेशले नेपाल र भुटानबाट धागो र आलु आयात गर्न पनि रोक लगाएको छ ।
तर, अघिल्ला ३ आर्थिक वर्षमा नेपालबाट बंगलादेशमा ती वस्तुको निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालू आवको ८ महीनामा भने बंगलादेशमा १८ हजार रुपैयाँको ५० किलोग्राम धागो निर्यात भएको विभागको तथ्यांकमा देखिन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव तथा अन्तरराष्ट्रिय व्यापारविज्ञ रविशंकर सैंजूका अनुसार नेपाल र भुटानका दुई वस्तु आयातमा प्रतिबन्ध लगाउनुको उद्देश्य प्रतिबन्ध भारत लक्षित मात्र होइन भन्ने देखाउनु हो । ‘यो प्रतिबन्ध मूलतः भारत लक्षित हो । यसलाई एक हिसाबले भारत र बंगलादेशबीचको व्यापार युद्धका रूपमा विश्लेषण गर्न सकिन्छ,’ सैंजूले भने ।
उनी भारतले बंगलादेशलाई स्थलमार्गबाट दिँदै आएको ‘ट्रान्ससिपमेन्ट’ सुविधा खोसेको बदलामा बंगलादेशले यस्तो कदम चालेको ठान्छन् । ‘यो व्यापार युद्धलाई बंगलादेश स्वयंले कति समय धान्न सक्छ भन्ने हो । यसले बंगलादेश आफैलाई पनि ठूलो असर गर्ने देखिन्छ, किनभने उसको कदमले उसैको आन्तरिक उत्पादन महँगो पर्न जानेछ,’ सैंजूले भने ।
भारतले बंगलादेशलाई उसका सामान आफ्ना स्थल सुक्खा बन्दरगाह हुँदै भारतीय बन्दरगाह वा विमानस्थलबाट विश्वका अन्य भागमा पठाउन सक्ने गरी ‘ट्रान्ससिपमेन्ट’ सुविधा दिएको थियो । सन् २०२० को जुन २९ देखि बंगलादेशलाई दिँदै आएको उक्त सुविधा भारतले यही अप्रिल ८ देखि रोकेको हो ।
एक दशकदेखि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का बैठक हुन नसकेको बेला केही वर्षयता उपक्षेत्रीय सहयोग– बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) राष्ट्रबीच आर्थिक साझेदारी बढाउने प्रयास भएका थिए । भारत र बंगलादेशबीचको सम्बन्धमा अहिले देखिएको तिक्तताले यो उपक्षेत्रीय साझेदारीमा असर गर्ने देखिएको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले हालै भारतको उत्तरपूर्वको क्षेत्र भूपरिवेष्टितजस्तै भएको र त्यहाँ पुग्ने समुद्रीमार्ग बंगलादेशले मात्र दिन सक्ने भनी चीनलाई बंगलादेशमा लगानी गर्न भनेपछि भारत चिढिएको थियो ।
भारतले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई आफ्नो देशमा शरण दिएदेखि दुई देशबीचको सम्बन्ध चिसिएको छ । गत जनवरीमा पाकिस्तानको बाह्य जासुसी संस्था इन्टर सर्भिसेज इन्टिलिजेन्सका पदाधिकारीहरूले पनि बंगलादेश भ्रमण गरेको समाचार सार्वजनिक भएका थिए । बंगलादेश भारतको सहयोगमा पाकिस्तानबाट छुट्टिएको देश हो । शेख हसिनाको सरकार भारतपरस्त मानिन्थ्यो । तर, सडक आन्दोलनबाट उनको सत्ता गएपछि बंगलादेशमा युनुस नेतृत्वको अन्तरिम सरकार छ ।