काठमाडौं । लोकप्रिय करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सको वार्षिक कारोबार केही वर्षयता व्यापक बढेको कम्पनीको क्रेडिट रेटिङ प्रतिवेदनले देखाएको छ । कम्पनीले २ अर्ब रुपैयाँ कर्जा लिन केयर रेटिङ नेपालबाट गराएको क्रेडिट रेटिङ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ मा कम्पनीको सञ्चालन आय १८ दशमलव ४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालू आव २०८१/८२ को पहिलो महीनामै ५ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ ।
आव २०७८/७९ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आय अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै ७१ प्रतिशत बढी हो । बैंक, वित्तीय संस्थाबाट ५० करोड रुपैयाँभन्दा बढी कर्जा लिन क्रेडिट रेटिङ अनिवार्य गराउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
सन् २०७४ मा करेन्ट चाउचाउ उत्पादन शुरू गरेको कम्पनीले पछिल्लो समय उत्साहजनक व्यापार गरिरहेको सञ्चालन आयमा देखिएको बढोत्तरीले पुष्टि गरेको छ । गत आवमा कम्पनीले उत्पादन गर्ने स्न्याक्सको विक्री डेढ गुणा बढेको छ ।
रेटिङ एजेन्सीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले पछिल्लो समय आफ्नो उत्पादन क्षमता बढाएको र उत्पादन विविधीकरण गरेकोले यसको आय बढेको हो । यसले करेन्ट ब्रान्डको चाउचाउका अतिरिक्त सोही ब्रान्डमा चिजबल, पोटेटो क्र्याकर, पोटेटो स्टिक, ओनियन रिङ, कोदो रागी, रोस्टेड मखन, ह्वोट चिप्स र नम्किन्शहरू पनि उत्पादन गरी बजारमा ल्याएको छ ।
रूपन्देही जिल्लाको तिलोत्तमा १५ मा रहेको यशोदा फुड्स प्रालिको कारखानाको क्षमता उपयोग तुलनात्मक रूपमा उच्च छ । गत आवमा क्षमता उपयोग ६९ दशमलव १९ प्रतिशत रहेको क्रेडिट रेटिङ विवरणमा उल्लेख छ । अन्य उत्पादन विविधीकरणमा कम्पनीले जोड दिएकाले जम्मा उत्पादनमा चाउचाउको अंश अघिल्लो आव २०७९/८० को ७९ प्रतिशतबाट गत आव २०८०/८१ मा ७५ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ ।
गत साउनमा यशोदा फुड्स आफ्नो पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी यशोदा नुडल्स एन्ड स्न्याक्स प्रालिसँग गाभिएको थियो । यसपछि कम्पनीको उत्पादन क्षमता बढेको छ ।
मर्जरको समयमा सहायक कम्पनीको उत्पादन एकाइ निर्माणाधीन थियो । यसको आंशिक सञ्चालन गत भदौमै भएको थियो । पूर्ण सञ्चालन सन् २०२६ मा शुरू हुने अपेक्षा गरिएको छ ।
स्वदेशमै उत्पादित गुन्द्रुक, टिमुर, अकबरे खुर्सानी, कोदो, फापर, मैदा प्रयोगमार्फत कम्पनीले विभिन्न खाद्यवस्तु उत्पादन गरिरहेको विवरणमा उल्लेख छ । कच्चा पदार्थमै आयको ७९ प्रतिशत खर्च गर्नुपर्ने भएकाले यसको लागत बढ्दा कम्पनीको नाफामा असर पर्न सक्ने क्रेडिट रेटिङ प्रतिवेदनमा उल्लेख छ । कम्पनीको ९० प्रतिशत आय स्वदेशी बजारबाटै हुँदै आएकोमा भारतलगायत अन्य देशमा निर्यात पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । हाल कम्पनीको १० प्रतिशत आयको स्रोत निर्यात रहेको प्रतिवेदनमा बताइएको छ ।