मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका घट्टेखोलामा आजदेखी चौरीको आलो रगत पिउने मेला शुरू भएको छ । बर्सेनि रूपमा आयोजना गर्ने मेला यस वर्ष केही दिन अघिबाट शुरू गरिएको आयोजक हिमालयन याक नाक तथा संरक्षण उप समितिले जनाएको छ ।
यो मेला मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गतको हिमाली भेगहरूमा संरक्षित याकरचौरीको आलो रगत पिउने मेलालाइ लक्षित गरि शुरू गरिएको हो । यस मेलामा पहिलो दिनमै दुई सय भन्दा बढी मानिसले चौरीको आलो रगत सेवन गरेको हिमालयन याक नाक तथा संरक्षण उपसमिति मुस्ताङका अध्यक्ष बुद्धिरत्न तुलाचनले बताए । अहिले उपसमिति अन्तर्गतका दस जना चौरी पालक कृषक समुहका गोठमा भएको याकरचौरीको आलो रगत निकालेर पिउन समितिलाई भ्याइनभ्याई छ ।
आन्तरिक तथा बाह्य पर्यटकको लागि पर्यटन प्रवर्द्धन र स्थानीय व्यापार व्यवसायमा समेत टेवा पुग्ने अठोटका साथ अबको दस दिन बढी यो मेला सन्चालन हुनेछ । मेलामा चौरीको आलो रगत पिउने मात्र नभइ परम्परागत तारा खेल, स्थानीय खानाको प्रवर्द्धन, नाचगान र रमाइलो खालका मौलिक सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
मेलामा म्याग्दी, बागलुङ र पर्वतबाट मानिशहरू आलो रगत सेवन गर्न आउनेछन । मेलामा छिमेकी जिल्ला म्याग्दीबाट सबैभन्दा बढी मानिशहरू आलो रगत सेवन गर्न आउने आयोजक समितिका ठम्याइ रहेको छ । साथसाथै अन्य जिल्लाबाट समेत यो मेलामा आउने आयोजकले बताएको छ । बिशेष गरि चौरीको आलो रगत पिउदा शरीरमा भएका विभिन्न रोगहरू जस्तै: गानो गोला दुख्ने, ग्यास्ट्रीक, उच्च रक्तचाप, टाउको दुख्ने, अल्छिपना भैरहने, दुब्लाउने, खान मन नलाग्ने जस्ता रोगहरू निको हुने जनविश्वास छ । रासस