काठमाडौं । २०८२ सालको पहिलो साताको कारोबार सकारात्मक बनेको छ । यो साता बजार मापक सबै महत्त्वपूर्ण सूचकहरू बढेका छन् ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ६७० दशमलव ७० विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिन २ हजार ७२२ दशमलव ७३ विन्दुमा बन्द भएको हो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक १ दशमलव ९५ प्रतिशत अर्थात् ५२ दशमलव शून्य ३ अंक माथि उक्लिएको हो ।
केही समयदेखि घटिरहेको ब्याजदर वैशाखमा बढ्ने आशंकामा रहेका लगानीकर्ता धेरैजसो कम्पनीले ब्याजदर नबढाएसँगै बजारप्रति आकर्षित भएको अनुमान ब्रोकरहरूको छ ।
पछिल्लो समय देखिएको लगानीकर्ताको सकारात्मक माहोललाई हेर्दा बजारले केही समय सकारात्मक गतिलाई नै निरन्तरता दिने अपेक्षा ब्रोकरहरूको छ ।
यो साता कारोबार रकम ५५ दशमलव ९३ प्रतिशत र कारोबार कित्ता ७९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत साता २१ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ४ करोड २१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता भने ३२ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
औसतमा पनि कारोबार रकम र कित्ता बढेको छ । नेप्सेका अनुसार गत साता औसतमा ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको १ करोड ५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ८ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको १ करोड ८८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
बजार बढेसँगै कुल बजार पूँजीकरण पनि ८६ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,722.73 | 2,670.70 | 52.03 | 1.95 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 458.22 | 446.03 | 12.19 | 2.73 |
कारोबार रकम (रू. हजारमा) | 32,887,139.66 | 21,091,143.75 | 11,795,995.90 | 55.93 |
कारोबार कित्ता | 75,415,638.00 | 42,116,882.00 | 33,298,756.00 | 79.06 |
औसत कारोबार रकम (रू. हजारमा) | 8,221,784.91 | 5,272,785.94 | 2,948,998.98 | 55.93 |
औसत कारोबार कित्ता | 18,853,909.50 | 10,529,220.50 | 8,324,689.00 | 79.06 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,526,232.22 | 4,439,739.73 | 86,492.49 | 1.95 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
व्यापारिक समूहले सर्वाधिक गुमाए
यो साताको कारोबारमा समग्र धितोपत्र बजार बढेपनि दुई समूहगत परिसूचक भने घटेका छन् । व्यापारिक समूहको परिसूचक यो साता सर्वाधिक २ दशमलव शून्य ८ प्रतिशत घटेको छ भने अन्य समूहको शून्य दशमलव ९० प्रतिशत घटेको हो ।
यो साता लगानी समूहका लगानीकर्ताहरू सर्वाधिक कमाउनेमा परेका छन् । लगानी समूहको परिसूचक सर्वाधिक ७ दशमलव २० प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ४ दशमलव २० प्रतिशत, जलविद्युतको ३ दशमलव ८३ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ७० प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ३७ प्रतिशत, बैकिङको १ दशमलव ८२ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव १९ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९१ प्रतिशत, वित्तको शून्य दशमलव ७४ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २६ प्रतिशत परिसूचक बढेको छ ।
साताव्यापी समूहगत परिसूचक आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
व्यापार | 4,558.54 | 4,655.55 | -2.08 |
अन्य | 2,412.13 | 2,434.06 | -0.9 |
उत्पादन तथा प्रशोधन | 7,093.20 | 7,074.88 | 0.26 |
वित्त | 2,567.31 | 2,548.34 | 0.74 |
लघुवित्त | 4,865.64 | 4,821.53 | 0.91 |
जीवन बीमा | 13,416.76 | 13,271.93 | 1.09 |
म्युचुअल फण्ड | 19.52 | 19.29 | 1.19 |
बैंकिङ्ग | 1,382.75 | 1,358.03 | 1.82 |
होटल तथा पर्यटन | 6,590.39 | 6,437.86 | 2.37 |
निर्जीवन बीमा | 12,595.35 | 12,263.71 | 2.7 |
जलविद्युत् | 3,577.66 | 3,445.77 | 3.83 |
विकास बैंक | 5,677.32 | 5,448.40 | 4.2 |
लगानी | 117.24 | 109.37 | 7.2 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)