काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर वैशाख १२ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक तर्फको ४३ हजार ७७९ दशमलव ५२ कित्ता र सर्वसाधारण तर्फको १ लाख ८१ हजार ४८१ दशमलव ८३ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेका हो । वैशाख २१ गतेसम्म इच्छुक खरीदकर्ताहरुले आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको आधारमा २५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण नभएको यी शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म २५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा विक्री आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्ने व्यवस्था रहेको छ । यी शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।