नेपालका सामु अहिले एउटा ठूलो र गम्भीर प्रश्न छ ‘अब के बेच्ने ?’ यो प्रश्न किनभने बजेट बन्दै छ । सार्वजनिक खपत हुने राष्ट्रियता, समाजवाद, प्रतिव्यक्ति आय कति हजार डलर पुर्याउनेजस्ता पुराना नाराको माग अचेल छैन । त्यसैले बजेटमा के कुरा चाहिँ बेच्ने होला ?
अनि बजेट ठूला आँकडाको बनाउनु छ र यसो देखाउनकै लागि भए पनि स्रोत व्यवस्थापन चैं गर्नैपर्ने छ । राजस्वले कर्मचारीका तलब, भत्ता र वृद्धवृद्धा, अशक्त, विधवा आदिलाई दिनुपर्ने सामाजिक सुरक्षा भत्ता खुवाउनै पुग्दैन । तर मान्छेको हातमा दुई–चार हजार थप पैसा पार्दिन सकिएन भने मिसन चौरासीमा समस्या । यसरी स्रोत जुटाउन समस्या । आम्दानी बढाउने उपाय गर्नैपर्यो । आम्दानी गर्न त केही न केही बेच्नैपर्ने हुन्छ । तर के बेच्ने त ?
औद्योगिक उत्पादन बेचौंला भनौं भने उद्योगीले सस्तो उत्पादन गर्नै सक्दैनन्, कर र चन्दाको करकर र महँगो ढुवानीको दलदलले तिनीहरू यसै थिचिएकै छन् । नेपाली लगानीकर्ताले नपत्याएर विदेशी लगानीकर्ता फकाउन लगानी सम्मेलन गरेको, म्लेच्छहरूले पत्याउने छाँटकाँट देखाएनन् ।
पानीमा त धनी छौं नि । तर के गर्नु ? एक त पानी र जवानी देशबाट धेरै नै बिकिसके । बगेर गाको पानीको पैसा भारतले दिँदैन । बिजुली निकालेर बेचौं भने बेला बेलामा नेपालीलाई राष्ट्रवादको चस्का लागिहाल्छ । अहिले त आफैलाई नपुग्ने बिजुली उत्पादन भइराछ । वर्षा याममा बढी भएको बिजुली पनि दक्षिण दाहिना भएछ भने मात्र बेच्ने न हो । बिजुली बेचेरै गर्जो टार्न अझै कति वर्ष कुर्नुपर्ने हो, थाहा छैन । किनकि ३०० मेगावाटबाट २००० मेवा बिजुली उत्पादन गर्न झन्डै ३ दशक लागेछ । कृषि प्रधान मुलुकले बेच्नुपर्ने त कृषि उपज हो नि । तर उत्पादन भए पो बेच्नु ? दक्षिणतिरका ‘असल’ छिमेकीले बेला बेलामा निर्यात प्रतिबन्ध लगाउँदा बजारमा सामानको हाहाकार हुन्छ, अनि के बेच्ने ? अलि अलि भएको उत्पादन पनि पारिभन्दा वारि धेरै महँगो भएपछि कसलाई बेच्ने ?
सर्पका छालादेखि भिनाजुका साली र साला पनि बेचिएकै हुन् । हाम्रा नेपाली कलाकारदेखि चाटुकारसम्म विदेशी भूमिमा चटक देखाइ नै रहेका छन् । एकप्रकारले बेचिई नै रहेका छन् । अब इमान–सिमान भए पनि बेचौं, बहादुरीका कुरा बेचौं भनौं भने त्यो पनि पुस्ताकै नाम बेच्न मात्रै काम लाग्नेछ ।
पर्यटनको सेवा बेच्न पनि देशमा पर्यटकहरू त भित्त्याउन सक्नुपर्यो नि । पर्यटक बोक्ने विमान आफ्नो छैन । बस्ने होटल आफ्नो छैन । तिनले खाने कुरा आफ्नो छैन । प्रकृतिको सुन्दरताको बखान सुनेर आएका पर्यटक यहाँको धूँवाधूलो, अस्तव्यस्तता देखेर जिब्रो काट्दै भागिहाल्छन् । समस्या भोग्न तयार झोले पर्यटकको संख्या देखाएर सफलताको गुड्डी हाँक्नुपर्या छ । कर्मचारीका ताल र विमानस्थलको बेहाल हेरेपछि पर्यटन सेवा बेच्ने कुरा पनि त्यस्तै त्यस्तै हो ।
नेपाली युवाहरूदेखि प्राचीन मूर्तिहरू पनि विदेशतिर बेचिएकै कुरा हुन् । सधैं बेचिरहन त्यस्ता स्रोतहरू पनि सीमित नै छन् । सर्पका छालादेखि भिनाजुका साली र साला पनि बेचिएकै हुन् । हाम्रा नेपाली कलाकारदेखि चाटुकारसम्म विदेशी भूमिमा चटक देखाइ नै रहेका छन् । एकप्रकारले बेचिई नै रहेका छन् । अब इमान–सिमान भए पनि बेचौं, बहादुरीका कुरा बेचौं भनौं भने त्यो पनि पुस्ताकै नाम बेच्न मात्रै काम लाग्नेछ । वास्तवमा विदेशीहरू हाम्रा यी निर्यातहरूबाट अघाइ पनि सके । उपयोगिताको ह्रास नियमानुसार धेरै भएपछि सन्तुष्टि धेरै कम आउन थालेका तथ्यांकहरूले देखाइरहेकै छन् ।
कुनै बेलाका गुल्जार कार्पेट, गार्मेन्ट, पश्मिना करीब करीब पलायन भएका छन् । चिया, कफीका निर्यात कुनै बेला तात्छन्, फेरि एकाएक सेलाउन पुग्छन् । त्यो पनि छिमेकीकै निगाहमा चलेको छ । उत्तर र दक्षिण दुवैतिर ठूलै बजार छ नि छन त । तर, क्यार्नु ? कहिले एउटाको फेर समातेर अर्कालाई चिढ्यायो, कहिले दुवैलाई पालैपालो चिढ्यायो, सामान आयात गर्यो बस्यो । बेच्न त औकात बनाउनुपर्यो नि । बजारवादको आजको युगमा विदेशीहरूलाई अब नयाँ वस्तु तथा सेवाको टड्कारो खाँचो छ । तर नेपालले के बेच्न सक्छ त ?
मेरो विचारमा आफूसँग जे सबैभन्दा धेरै छ, त्यै चीज बेच्नुपर्छ । त्यसो भए सबैभन्दा धेरै के छ त हामीसँग ? अन्दाज गर्नुस् त । हो, ठीक अनुमान लगाउनुभयो । हामीसँग सबैभन्दा धेरै त नेता नामक राजनीतिक जीवहरू छन् । विभिन्न नामधारी, नानाथरी र अचम्म अचम्मका सोच बोकेका, किसिम किसिमका आकार प्रकारका, १००–२०० वर्ष पुरानो विचार र व्यवहार भएका नेता छन्, जो हाम्रा जेथा हुन् । तुरुन्त दल फुटाउन र जुटाउन सक्ने खुवी भएका, एउटै विषयमा बिहान एउटा, दिउँसो अर्को र साँझ झन् अर्कै अडान प्रस्तुत गर्न सक्ने, कामको नाममा सिन्को भाँच्न नसक्ने वा नजान्ने, भाषणबाजीमा संसारका एकसे एक नेतालाई पछि पार्न सक्ने, कहिल्यै विश्वास गर्न नसकिने, देशको भन्दा परदेशका बोशको इशारामा नाच्न सक्ने, कठपुतलीका नर्तकी जस्ता । यिनलाई न कसैको डर, न भविष्यमा छ भर । बुद्धको ‘वर्तमानमा बाँच’ भन्ने दर्शनका पक्का अनुयायी । कविशिरोमणि लेखनाथ पौड्यालको कविताका पक्का पात्रहरू ‘म खाऊँ मै लाऊँ सुखसयल मोज म गरूँ’ वाला ।
धेरै देशहरूमा केवल दुई दल अस्तित्वमा छन् । कुनैमा दल धेरै भए पनि सरकार कि त पहिलो हुने दलले नभए दोस्रो हुने दलले नै बनाउँछ । त्यो एकरसताले गर्दा ती देशका जनताहरू बोर भइसकेका छन् । त्यसैले त त्यहाँ निकै कम भोट खस्ने गरेको छ । हाम्रा जोकर नेताहरूलाई ती देशहरूमा पठाउन अर्थात् निर्यात गर्न सकियोे भने उनीहरूको त उद्धार हुन्थ्यो हुन्थ्यो नै, हामी नेपाली जनताहरूको पनि धेरै कल्याण हुन्थ्यो । द्वन्द्वकालमा र पछि पनि केही छोटामोटा नेताहरू त निर्यात भएकै हुन् । उनीहरूले हरेक देशमा यहाँ नेपालका राजनीतिक दल चलेजस्तै त्यहाँ पनि मिनी नेपाल बनाएका समाचार बेलाबेला आइरहन्छन् । कुर्सी हानाहान र कपाल तानातान अनि लात्ती र मुक्कामुक्की । नेपाली राजनीतिक संस्कृतिको बेजोड नमूना । विश्वमा यसको ब्रान्डिङ पनि राम्रै भइरहेछ । सम्भावना क्षेत्र अब यही एउटा बाँकी छ ।
त्यसैले यसपालाको बजेटमा देशबाट नेता निर्यातलाई प्रमुख उद्देश्य बनाइयोस् भन्ने यो पंक्तिकारको जोडदार माग रहेको छ । अब मलाई त अर्थमन्त्रीले चिन्दैनन्, तपाईंको जानपहिचान छ भने यसो कुरा पुर्याइदिनुहोस् ल ? कतै नेता निर्यात गरेर पो देश उँभो लाग्छ कि ?