काठमाडौं । अदानी समूहमाथि 'कर्पोरेट इतिहासको सबैभन्दा ठूलो धोकाधडी'को आरोप लगाउने अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डेनबर्ग रिसर्च बन्द हुने भएको छ । कम्पनीका संस्थापक नाथन एन्डरसनले बुधवार उक्त घोषणा गरेका हुन् ।
उनले कम्पनीले आफ्नो काम पूरा गरेकाले बन्द गर्न लागेको बताए । 'हामीले गरिरहेको काम पूरा भएपछि कम्पनी बन्द गर्ने योजना थियो । त्यो दिन आज हो,' उनले एक नोटमा भनेका छन् ।
सन् २०१७ मा स्थापना भएको उक्त कम्पनीले विभिन्न कम्पनीहरूको गैरकानूनी लेनदेन तथा वित्तीय अनियमितता उजागर गरेको थियो । उक्त कम्पनीले सन् २०२३ मा भारतीय अर्बपति गौतम अदानीको कम्पनीले गरेको धोकाधडीबारे रिपोर्ट प्रकाशन गरेको थियो, जसमा अदानी समूहमाथि 'शेयरमा चलखेल र वित्तीय अनियमितता'को आरोप लगाइएको थियो ।
सो प्रतिवेदनका कारण उक्त समूहले अर्बौं नोक्सानी बेहोर्नुपरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार रिपोर्ट प्रकाशन भएको एकै दिनमा अदानी समूहको बजार पूँजीकरण ३३ खर्ब ७० अर्ब भारतीय रुपैयाँ गुमेको थियो ।
ब्लूमबर्गको एक प्रतिवेदनअनुसार सोही वर्ष अदानी समूहका तीन ठूला साझेदारको कुल सम्पत्ति करीब ९९ अर्ब डलरले घटेको थियो ।
अदानी समूहले भने हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्ट झुटो भएको दाबी गर्दै आएको छ ।