काठमाडौं । नेपालका होटेल, रिसोर्ट र होमस्टेहरूमा सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक सुविधा अझै कमी रहेको एक अध्ययनले औंल्याएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुराँ सर्वेक्षण–२०८०’ प्रतिवेदनअनुसार अधिकांश होटेल, रिसोर्ट तथा होमस्टेहरूमा अग्नि सुरक्षा उपकरण, सीसीटीभी निगरानी र २४ घण्टा सुरक्षाको व्यवस्था नरहेको देखाएको हो ।
उक्त प्रतिवेदनले ९० दशमलव ४ प्रतिशत होटेल–रिसोर्टमा २४सै घण्टा सुरक्षा व्यवस्था नभएको देखाएको छ । यस्तै, ८३ दशमलव ५ प्रतिशत होटेल तथा होमस्टेहरूमा अग्नि सुरक्षा उपकरण नभएको र ७३ दशमलव ४ प्रतिशत होटेल–रिसोर्टमा सीसीटीभी सर्भिलेन्स क्यामेरा नभएको उल्लेख गरेको छ । यो सर्वेक्षण आर्थिक वर्ष (आव) २०७९/८० मा गरिएको हो ।
तर, होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुके यो सरकारी तथ्यांक सही नभएको दाबी गर्छन् । ‘१० कोठाभन्दा बढीका सबैजसो होटेलमा कम्तीमा पनि गेटमा सीसीटीभी क्यामेरा राखिएका छन् । हाम्रा सदस्य रहेका सबैजसो होटेलहरूले अग्नि सुरक्षा यन्त्र राखेका छन्,’ उनी भन्छन्, ‘यसमा खासै खर्च पनि लाग्दैन ।’
राष्ट्रिय तथ्यांक कार्यालयले कस्ता होटेलमा यी सुरक्षा उपकरण नभएको हो स्पष्ट पारको छैन । तर, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धिताल ग्रामीण क्षेत्रका र ससाना होटेलमा यी सुविधाको अभाव देखिएको बताउँछन् । ‘होटेल परिसरभित्र ती सुविधा छ कि छैन भनेर सोधेका थियौं,’ उनले भने । सम्बद्ध होटेलहरूबाट आएको जवाफको आधारमा प्रतिवेदन बनाइएको हो ।’
उनका अनुसार ग्रामीण क्षेत्रका होटलहरूमा मूलत: यस्तो सुविधा नरहेको र केही शहरी क्षेत्रका होटेलमा नि नरहेको देखिएको हो । यद्यपि यसले होटेलहरूमा सुरक्षा जोखिम विद्यमान रहेको स्पष्ट भएकाले नीतिनिर्माता तथा होटेल व्यवस्थापनलाई पनि घचघच्याउन सहयोग पुगेको उनले बताए ।