सरकारले रू. ५० करोडभन्दा बढी बजेटका आयोजनाको प्राविधिक परीक्षण गर्ने भएको छ । निर्माणको गुणस्तर सुनिश्चित गर्न प्राविधिक परीक्षण गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले बताए । आइतवार ‘शासकीय विकासको तत्कालीन कार्ययोजना– २०६९’को छलफल कार्यक्रममा १ सय ९८ बुँदे कार्ययोजनाका मूल उद्देश्य नै सुशासनको अनुभूति दिलाउने भएको उनले बताए । ‘भ्रष्टाचार र विकृतिविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्राविधिक परीक्षण गर्न लागिएको हो’, बास्कोटाले भने । तथा आर्थिक विधिको शासनलाई बढावा दिन, दण्डहीनता अन्त्य गर्न, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न तथा सरकारी सेवा र सुविधा विस्तार गर्न विशेष अभियान सञ्चालन गर्न पनि उनले आग्रह गरे ।
छलफलमा राष्ट्रिय सतर्कता केन्द्र प्रमुख अधिकृत (सचिव) माधव रेग्मीले सिक्टा, रानीजमरा सिँचाइ आयोजनाजस्तै धेरै लगानी भएका अन्य आयोजना पहिचान गरी प्राविधिक परीक्षण गरिने जानकारी दिए । विभिन्न जिल्लाहरूमा गर्न लागिएको एकहप्ते भ्रमण कार्यक्रममा नागरिक वडापत्रको सर्वेक्षण सरकारी कार्यालयको निरीक्षण गर्ने, नागरिकको भावना बुझ्ने, सरकारी कार्यालयका फाइलहरूको फछ्र्योटको स्थिति हेर्नेलगायत कार्य गरिने उनले बताए । उक्त अवसरमा निर्माणाधीन आयोजनाहरूको स्थलगत निरीक्षण गर्ने, विद्यालयमा भ्रष्टाचारविरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, जनताको गुनासो सुन्नेलगायत कार्य गरिने उनको भनाइ छ ।
वर्ष ८, अंक ८२, सोमवार २५ मङ्सिर, २०६९