काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने भएको छ । २०५८ असोज १२ गतेदेखि रत्ननगर नगरपालिका–१ टाँडीमा केन्द्रीय कार्यालय राखेर बैंकले हाल चितवनका पाँच स्थान (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।
बैंकको केन्द्रीय कार्यालय अब चितवनको भरतपुर महानगरपालिका–१० मा बाइपासरोडस्थित जिल्ला सहकारी संघ, चितवनको आधुनिक भवनमा सर्ने भएको छ । त्यसका लागि आवश्यक भौतिक पूर्वाधार समेत तयार भइसकेको र अन्य प्रशासनिक कार्य सम्पन्न भएपछि आगामी माघदेखि सञ्चालनमा आउने जानकारी बैंकले दिएको छ । उक्त भवनाबाट केन्द्रीय कार्यालय र हाकिमचोकस्थित शाखा कार्यालय समेत सञ्चालन हुने बैंकले बताएको छ । नयाँ कार्यालयबाट आधुनिक, छिटोछरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रवाहमा जोड दिइने बताइएको छ । यसबाट ग्राहक सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा गरिएको छ ।