काठमाडौं । नेपालमा अकाल मृत्यु र अपांगताको मुख्य कारण वायु प्रदूषण रहेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले आज जारी गरेको ‘टुवार्ड्स क्लिन एअर इन नेपाल स् बेनिफिट्स‚ पोलुशन सोर्सेज‚ एन्ड सोलुसन्श’ प्रतिवेदनमा वायु प्रदूषणका कारण नेपालीहरूको औसत आयू ३.४ वर्षले घटेको उल्लेख छ । वायू प्रदूषणकै कारण वार्षिक २६ हजार जनाको अकाल मृत्यु हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा काठमाडौं उपत्यका र तराई क्षेत्र नेपालको मुख्य वायुप्रदूषण भएको क्षेत्र रहेको उल्लेख छ । यी क्षेत्रको वायूप्रदूषणमा दशकयता उल्लेखनीय सुधार नआएको विश्व बैंकले जनाएको छ ।
वायू प्रदूषणका कारण स्वास्थ्यसँगै आर्थिकरूपमा पनि नकारात्मक असर परेको प्रतिवेदनमा लेखिएको छ ।
वायु प्रदूषणका कारण श्रम उत्पादन, पर्यटन र हवाई उडान क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको र यसले नेपालको वार्षिक आर्थिक उत्पादनको ६ प्रतिशतभन्दा बढी हिस्सा गुमाउने बताइएको छ ।
प्रतिवेदनमा प्रदूषण न्यूनीकरणका लागि सवारी साधन विद्युतीकरण, उद्योगमा सफा प्रविधि अपनाउने, घरायसी खाना पकाउने चुलोमा सुधार गर्ने, वन डढेलो नियन्त्रण गर्ने र छिमेकी मुलुकहरूसँग सहकार्य गर्ने सुझाव दिइएको छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेविड सिसलेनले भने, 'विश्व बैंकले नेपालमा वायु गुणस्तर सुधारका लागि आवश्यक वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।'