काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि) बीच ‘स्मार्ट क्युआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
अब हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्युआरमार्फत आफ्नो वालेट लोड गर्न, मर्चेन्टहरूलाई भुक्तानी गर्न र विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्युआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्ने एससीटीको विज्ञप्तिमा उल्लेख छ । क्युआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्युआर स्ट्यान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड भएको बताइएको छ ।
लेनदेन सेवा प्रालिको कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्मार्ट क्युआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको थालनीले हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरूलाई कारोबार गर्न झनै सजिलो हुने बताइएको छ ।