काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल)को संयुक्त आयोजनामा यही माघ ४ देखि ६ गतेसम्म नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन सम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनीको दशौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो ।
उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहने आयोजकले बताएको छ । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन यो प्रदर्शनी विगत ९ वर्षदेखि कोशेढुंगा सावित हुँदै आएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनको उल्लेख्य सहभागिता रहने बताइएको छ ।
प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिन तथा प्रविधि थप उन्नत र बढी प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । १०औं संस्करणमा धेरै नयाँ प्रविधि र सामग्रीका प्रदर्शनी हुने आयोजकले बताएको छ । ‘अवलोकनकर्ताले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादन हेर्न पाउनेछन् । प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनार, अन्तरक्रियात्मक कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरणहरूको पनि आयोजना हुनेछ । यसैगरी फर्निचर निर्माता, किचेन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनको उल्लेख्य सहभागिता रहनेछ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाइनर एशोेसिएशन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वन पैदावार उद्योग व्यवसायी महासंघ र नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् ।