नेपालमा विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै आएको ‘निम्बस’ले कुखुरापालक किसानका लागि रू. ७४ लाखको ‘बर्डफ्लु रिलिफ फण्ड’ स्थापना गरेको छ । निम्बसद्वारा उत्पादित शक्ति पेलेट दाना खुवाएर पालिएका कुखुरा बर्डफ्लुले मरेको अवस्थामा सरकारले दिने क्षतिपूर्तिबराबर थप रकम यो फण्डमार्फत राहतस्वरूप उपलब्ध गराउने घोषणा गरेर कुखुरापालक किसानलाई निम्बसले ठूलो हौसला प्रदान गरेको छ । सरकारले बर्डफ्लु लागेर मर्ने ४ हप्तासम्मका प्रतिकुखुरालाई रू. ५० र ४ हप्ताभन्दा माथिका कुखुरालाई रू. १ सय ३० क्षतिपूर्तिको दररेट निर्धारण गरेको छ । सरकारको यो क्षतिपूर्तिले किसानको न्यूनतम लागतसमेत उठ्ने अवस्था थिएन । तर, निम्बसले सरकारले दिने क्षतिपूर्तिबराबरको रकम थप गरिदिएर अब भविष्यमा बर्डफ्लु लागेर कुखुरा मरिहाले भने पनि कुखुरापालक किसानलाई यो व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाबाट जोगाइदिएको छ । कुखुरापालन व्यवसायलाई दिगो र भरपर्दो बनाउन निम्बसको यो योगदानलाई निश्चय पनि सराहनीय मान्नुपर्छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ८३, मङ्गलवार २६ मङ्सिर, २०६९