काठमाडौं । सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय संगठन रोटरी क्लबको शाखा रोटरी क्लब अफ त्रिपुरेश्वरले स्थापनाको २२ औं वर्ष पूरा गरेको छ ।
सोही अवसरमा क्लबले आफ्ना पूर्वअध्यक्षहरू तथा विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले संस्थामा रहेर योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरे ।
उनले क्लबको स्थापना दिवसमा सहभागी हुने मौका पाएकोमा खुसी व्यक्त गरे । रोटरी क्लब अफ त्रिपुरेश्वर सामाजिक कार्यमा अब्बल देखिएको बताउँदै उनले आवश्यक परे क्लबलाई अन्य सहयोग गर्ने प्रतिवद्धता जनाए ।
रोटरी क्लब अफ त्रिपुरेश्वर शाखाकी अध्यक्ष लता बराल शर्माले दूरदराजका बालबालिकाको शिक्षा र युवतीहरूको स्वास्थ्यका क्षेत्रमा काम गर्न केन्द्रित हुने बताइन् । उनले विद्यालय छोड्ने विद्यार्थीलाई पुन: विद्यालय फर्काउने र महिलामा देखिएको पाठेघर क्यान्सरका क्षेत्रमा आफूले काम गरिरहेको जानकारी दिइन् ।
रोटरी क्लबले यस क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताउँदै उनले क्लबका डिस्ट्रिक्ट गभर्नर शेरचनलाई क्यान्सर विरूद्धको खोप ल्याउन पहल गरिदिन आग्रह गरिन् ।
'हामीले ३०० भन्दा बढी महिलाको पाठेघर क्यान्सरको स्किनिङ गराएका छौं, अमेरिका लगायतका देशमा भ्याक्सिन उपलब्ध भइसक्यो भन्ने सुनेको छु, त्यो भ्याक्सिन छिट्टै नेपाल ल्याउन जरूरी छ । रोटरी क्लबका तर्फबाट गभर्नरज्यूले पहल गरिदिन पर्यो,' उनले भनिन् ।
डिस्ट्रिक्ट गभर्नर शेरचनले खोप आयात गर्न सरकारले पनि पहल थाकिसकेकाले त्यसमा क्लबले सक्ने पहल गर्ने बताए । यो वर्ष क्लबले ५ हजार महिलाको क्यान्सर स्किनिङ गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यसबारे रोटरी क्लब अफ त्रिपुरेश्वरले गरेको कामले लक्ष्य पूरा गर्न थप सहयोगी हुने उनले बताए ।
शेरचनले रोटरी क्लबले काम गर्ने क्षेत्रहरूमा काम गर्न सदस्यहरूलाई आग्रह गरे ।
बुधवार बसेको रोटरी क्लब अफ त्रिपुरेश्वरको १ हजार २औं बैठकमा सेक्रेटरी विमला मानन्धरले संस्थाले गरिरहेका गतिविधि, कार्यप्रगति तथा कार्ययोजनाका बारेमा प्रस्तुति दिएकी थिइन् । संस्थाले नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लामा शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा काम गर्दै आएको छ । क्लबमा हाल ६८ जना सदस्य छन् ।
'रोटरी एक प्रेरणा' पुस्तक विमोचन
कार्यक्रममा पूर्वअध्यक्ष राजेन्द्र शाक्यले लेखेको 'रोटरी एक प्रेरणा' पुस्तक विमोचनसमेत गरिएको थियो । रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर शेरचन, चर्चित हास्यकलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतले उक्त पुस्तक सार्वजनिक गरेका थिए ।
पुस्तकमा रोटरीसँग सम्बन्धित शाक्यले लेखेका प्रकाशित तथा अप्रकाशित गरी २५ ओटा लेख रचनाहरू समावेश छन् । ५०० रुपैयाँ मूल्य राखिएको पुस्तकको विक्रीबाट भएको आम्दानी बालबालिकाको शिक्षामा खर्च गरिने क्लबकी अध्यक्ष शर्माले जानकारी दिइन् ।
क्यान्सर उन्मुलन गर्न क्लबले पहल लिन्छ
राजेन्द्रमान शेरचन, डिस्ट्रिक्ट गभर्नर
यो क्लब २२ वर्षको भयो । यो क्लब राम्रो काम गर्ने क्लबमा पर्छ । हामीले पहिले पोलियो उन्मुलनमा धेरै काम गरेका छौं । १९८५ मा यसलाई उन्मुलन नै गर्ने भनेर शुरू गरेका थियौं । हाल यो उन्मुलन नै भइसकेको छ भन्दा हुन्छ । यसमा थोरै कोसिस गर्नु जरूरी छ ।
हाल पोलियो पाकिस्तान र अफगानिस्तानमा मात्रै छ । गत वर्ष १२ केस मात्र रहेकोमा यसपाली ८७ केस फेला परेको छ । उनीहरू (पाकिस्तान र अफगानिस्तानका जनता)का आफ्नै मान्यताहरू तथा अन्य कारणले खोप दिन समस्या हुँदा पोलियोका घटना बढेका हुन् । तर, हामी लागिरहेका छौं । यसरी नलागेको भए हाल करीब ८० लाख बालबालिका यसबाट संक्रमित हुने थिए ।
यस्तै, पाठेघरको क्यान्सर पनि उन्मुलन गर्न सकिन्छ । तर, यसका लागि शुरूमै रोगको पहिचान गर्न सक्नु पर्छ । त्यसको लागि महिलाहरूमा स्किनिङ गरिरहनु पर्छ । अहिले प्रयोगमा आएको भ्याक्सिन ९ देखि १४ वर्षको उमेरका युवतीको लागि हो ।
महिलाहरूमा स्किनिङ एक वर्ष मात्रै गरेर हुने कुरा होइन । यसका लागि हामीले अभियान सञ्चालन गरेका छौं । यसलाई राष्ट्रियस्तरमै लैजान जरूरी छ । हामीले सरकारलाई यो रोग उन्मुलन गर्न सकिन्छ पनि भनिरहेका छौं ।
खोप आयातका बारेमा सरकारले पनि पहल थाकिसकेको छ । त्यसमा क्लबले गर्न सक्ने पहल गर्नेछौं । यो वर्ष क्लबले ५ हजार महिलाको क्यान्सर स्किनिङ गर्ने लक्ष्य लिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरले गरेको कामले लक्ष्य पूरा गर्न थप सहयोगी हुने छ । क्लबले काम गर्ने ७ क्षेत्रहरूलाई केन्द्रमा राखेर काम गर्न सदस्यहरूलाई आग्रह गर्छु ।
क्लबको लक्ष्य भनेकै समाजसेवा हो
सन्तोष शर्मा, संस्थापक अध्यक्ष (रोटरी क्लब अफ त्रिपुरेश्वर)
क्लबको लक्ष्य भनेकै समाजसेवा हो । त्यही लक्ष्य लिएर आजभन्दा २२ वर्षअगाडि हामीले रोटरी क्लब अफ त्रिपुरेश्वर खोलेका थियौं । विभिन्न क्षेत्रका व्यक्तिहरू, जोसँग दिन सक्ने क्षमता छ त्यस्ता व्यक्तिको जमात एकठाउँमा ल्याएर समाजसेवामा लाग्ने सोचले नै यसको स्थापना भएको हो ।
यसमा आउन चाहनेका लागि समस्या भनेकै समय व्यवस्थापनको हो । समय व्यवस्थापन गर्न सक्यो भने यसमा आउनेका लागि फाइदा भनेको फेलोसिप पनि हो, जसले विभिन्न क्षेत्रका विज्ञहरूसँग भेट्ने सहकार्य गर्ने र सिक्ने अवसर प्रदान गर्छ । र, यसले आफ्नो पेशामा अगाडि बढ्न समेत मद्दत गर्छ । सँगसँगै समाजसेवा गरेर आत्मसन्तुष्टि पनि दिन्छ ।
संसारभर हालसम्म यसका झण्डै १२ लाख मात्रै सदस्य छन् । यसमा कुनै स्वार्थ लिएर आउने र पछि छोड्ने स्थिति छ । त्यसैले यसमा आउनुको कारण के हो ? आफ्नो उत्तरदायित्व के हो ? आफूले पाउने के हो ? यसको सिद्धfन्त के हो ? मेरो योगदान के हुन सक्छ ? भन्ने बुझेर मात्र जोडिनु पर्छ । र, यी कुरा बुझाएर मात्रै सदस्यता प्रदान गरिनु पर्छ । यसमा बढीभन्दा बढी युवा पुस्ता आउन जरूरी छ । र, उनीहरूलाई आह्वान पनि गर्छु ।
शहरमा होइन दुर्गममा केन्द्रित हुनु पर्छ
लता बराल शर्मा, अध्यक्ष (रोटरी क्लब अफ त्रिपुरेश्वर)
हाम्रो शाखा सक्रिय क्लबमध्ये पर्छ । हाम्रा पूर्वअध्यक्षहरूले गर्नुभएको मेहनतले धेरैपटक हाम्रो शाखा सम्मानित पनि भएको छ । अहिले मैले नेतृत्व गरिरहेको छु । महिलाहरूका लागि कुनै पनि संस्थाको नेतृत्व गर्नु भनेको चुनौतीपूर्ण कार्य हो । घर व्यवहार सकेर क्लबको कामसँगै सामाजिक काममा लाग्नु मेरो लागि पनि सहज भने थिएन । तर, मेरा अग्रजहरू, परिवार लगायतको सहयोगले अगाडि बढ्न प्रोत्साहान गरेको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको नेतृत्व गर्ने म तेस्रो महिला हो ।
अहिले देखिएको महिलाको पाठेघरको क्यान्सरविरूद्ध काम गर्नुपर्ने देखिन्छ । म आफै पनि महिला भएको नाताले यसलाई अलि सिरियसली लिनुपर्ने देखेको छु । यसमा हामीले मात्रै नभइ राज्यले नै पहल गर्नुपर्ने छ ।
त्यसपछि हाम्रो जोड शिक्षामा हुनुपर्छ । शहरमा होइन, दुर्गममा केन्द्रित हुनु पर्छ । शिक्षामा काम गर्नु छ भने पहिले उनीहरूको दृष्टि परिक्षण पनि गर्नुपर्छ । हामीले त्यसमा काम गर्नुपर्ने छ । यसमा हाम्रो मात्रै प्रयासले पुग्दैन, सरकारले पनि काम गरोस् भन्ने हो ।
हामीले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेका छौं । हामीले विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयमा फर्काउने प्रयास गरिरहेका छौं । यसको लागि ग्लोबल ग्रान्ट लिएर काम गरिरहेका छौं । हामीले उदयपुरको थारू बस्तीलगायत ६ ओटा विद्यालयमा ग्लोबल ग्रान्ट अन्तरगतको प्रोजेक्टबाट काम गरिरहेका छौं ।
कुनाकाप्चासम्म जान सक्नुपर्छ
अशोक नाथ प्याकुरेल, सेक्रेटरी
म चार्टर्ड मेम्बर (संस्थापक सदस्य)का रूपमा क्लबमा आवद्ध भएको हो । यसले समाजमा केही गरौं भन्ने मेरो भावनालाई राम्रो अवसर दिएको थियो । विभिन्न क्षेत्रमा रहेर समाजमा केही गरौैं भन्ने साथीहरूको समूह रहेको हुँदा उहाँहरूसँगको सहकार्य अविस्मरणीय रह्यो । नेपालजस्तो देशका आफ्नै किसिमका आवश्यकताहरू छन् । यो अन्तरराष्ट्रिय संस्था हो, यसको आफ्नै फ्रेमवर्क छन् । यसले ७ ओटा फोकस एरिया निर्धारण गरेको छ । नयाँ सदस्यहरूले त्यसलाई नै केन्द्रमा राखेर काम गर्नु पर्छ ।
निर्धारित ७ क्षेत्रमा हाम्रोजस्तो देशमा शिक्षा, स्वास्थ्य र वातावरण नै पहिले काम गर्नुपर्ने क्षेत्र हुन् । अहिले हामीले पनि यिनै क्षेत्रमा काम गरिरहेका छौं ।
यो अमेरिकामा स्थापना भएको संस्था भएकाले उनीहरूको वर्किङ कल्चरलाई हाम्रो जस्तो समाजमा हाम्रो आवश्यकता अनुकूल, हाम्रै तरिकाले कसरी समायोजन गर्न सकिन्छ भन्ने कुरामा हाम्रो डिष्ट्रिक फोकस हुन सक्नुपर्छ ।
रोटरी शुरूआती दिनमा ठूला शहरमा केन्द्रित थियो । अहिले देशभर फैलिने क्रममा छ । जतिसक्यो कुनाकाप्चातिर जान सक्यो भने यसो उद्देश्य पूरा हुनेछ ।
पारदर्शिता पहिलो शर्त
अरूण वन्साल, असिष्टेन्ट गभर्नर
रोटरी क्लबको पारदर्शिता एकदमै प्रशंसायोग्य छ । र, यसले सञ्चालन गर्ने विभिन्न अभियान र त्यसका लागि हुने ग्लोबल ग्राण्डहरू पनि एकदमै पारदर्शी र प्रभावकारी रहेको पाएको छु । दूरदराजका विद्यालयमा भवन बनाइदिने खानेपानीको व्यवस्थापन गरिदिने लगायतका कयौं कार्यक्रम यसले गरेको छ । बिचौलिया, घुस र नाफाखोरले आधा काम पनि हुँदैन भन्ने भाष्य बनेको छ । यसले नेपालको कल्चर नै बिग्रिएको बेला यो कल्चरबाट रोटरी बाहिर छ । जसको कारण बाहिरबाट करोडौंका ग्राण्टहरू नेपाल ल्याउन सफल भएको छ ।
रोटरी क्लब अफ त्रिपुरेश्वरले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खानेपानी तथा वातावरणका परियोजनाहरू सफल पार्न सबैको लगाव एकदमै राम्रो छ । हाम्रो सहयोग जसलाई आवश्यक छ त्यसलाई हुनुपर्छ, निस्वार्थ हुनुपर्छ भन्ने कुरामा क्लब सचेत रहँदै आएको छ । र, रहने छ ।
नेपालभर १६० क्लबमा ६ हजार सदस्यहरू छन् । समाजलाई केही दिन पैसा नै चाहिन्छ भन्ने छैन, मन भए पुग्छ । आफूसँग ज्ञान शीप जुन छ, त्यसको प्रयोग गर्नसके पनि समाजमा योगदान दिन सकिन्छ । हाम्रो डिष्ट्रिकले सदस्यले वार्षिक झण्डै १० करोड बढी सहयोग उठाउने गर्नुहुन्छ । रोटरी क्लब इन्टरनेशनलले त्यसको दोब्बर रकम बराबरको ग्राण्ट नेपाललाई उपलब्ध गराउने गर्छ । यसरी देशमा ठूला ठूला सेवामूलक परियोजना सञ्चालन सम्भव भएको छ ।
धनीहरूको क्लब लगायतका अन्य केही नराम्रा भाष्य पनि बनाइएका छन् । तर, हामी रमाइलो मात्रै गर्दैनौं, नेटवर्किङ गर्छौं, आवश्यक छलफल र काम पनि गर्छौं ।
शान्ति स्थापनाका क्षेत्रमा पनि काम गरौं
सुनिल सन शाक्य, निवर्तमान अध्यक्ष (रोटरी क्लब अफ त्रिपुरेश्वर)
हामीले शिक्षा स्वास्थ्य वातावरण संरक्षणमा काम गर्दै आएका छौं । रोटरीका मुल ७ ओटा क्षेत्रमध्येको एउटा क्षेत्र शान्ति स्थापनार्थ खासै काम गर्न सकेका छैनौं । देश द्वन्द्वमा फसेको बेला जे जति काम भए त्यसपछि पहल नभएको हो कि जस्तो देखिन्छ । हुन त नेपालमा त्यस्तो ठूलो अशान्ति फैलिएको अवस्था त होइन तर पनि जाति, भूगोल, वर्ग, लिंगका आधारमा समाजमा कहिं न कहिं द्वन्द्व छ । त्यसले उग्ररूप लिने खतरा पनि हुनसक्छ । त्यसैले हामीले यसमा पनि अग्रिम सचेतनाका काम गर्नुपर्छ । यसमा एउटा क्लबले मात्रै कोसिस गर्दा हुने होइन, देशैभरि भएका क्लबले यसमा काम गर्नुपर्छ ।
त्यस्तै बालबालिका क्षेत्रमा मात्रै नभइ उनीहरूको अभिभावकलाई आयआर्जनमा जोड्नुपर्ने छ । उनीहरूलाई आयआर्जनमा जोड्न सकेमात्रै बालबालिकाको शिक्षा पूरा गर्न सहयोग गर्छ । त्यसैले हामीले यसलाई केही शीपमूलक कार्यक्रम पनि गर्दै आएका छौं ।
आपसी सहयोग र भाइचारा बढाउँछ
रमेश शर्मा, पूर्व अध्यक्ष (रोटरी क्लब अफ त्रिपुरेश्वर )
रोटरी भनेको नितान्त सामाजिक संस्था भएकाले यसमा आवद्ध हुँदा धेरै फाइदा पनि छ । यहाँ आउँदा आर्थिक फाइदा होला भनेर नआउन म नयाँ आउने सबैलाई आग्रह गर्छु । यसले आपसी सहयोग भाइचारा बढाउँछ । तपाईं जुन पेशामा लाग्नुहुन्छ, तपाईंका साथीहरू सोही पेशाका हुन्छन् । तर, रोटरीमा आवद्ध हुँदा भेराइटी पाइन्छ र जसले अन्य क्षेत्रका बारेमा ज्ञान, शीप र अनुभव आदानप्रदानमा पनि सहयोग गर्छ । यसले सामाजिक जीवनसँग व्यवसायिक जीवनलाई पनि सहज बनाउने गर्छ । आफू खुसी, परीवार खुसी र त्यसपछि समाजसेवा हो ।
रोटरी के हो बुझाउन जरूरी छ
राजेन्द्र शाक्य, पूर्वअध्यक्ष (रोटरी क्लब अफ त्रिपुरेश्वर )
यो यस्तो अभियान हो, जसमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरूको थलो हो । मनका धनीहरू, जसले समाजका लागि योगदान दिन चाहना राख्छन् तिनीहरूको जमात हो यो । रोटरी भनेको मिटिङ मात्रै पैसाको लागि मात्रै भन्ने मिथ्या छ। रोटरी के हो ? मूल्यमान्यता के हुन् ? भन्ने नबुझी यसमा लाग्नु हुँदैन । नबुझी प्रवेश गर्नेहरू टिक्दैनन् । टिकाइराख्नु हाम्रो चुनौती छ त्यसैले रोटरीको बारेमा बुझाउनु जरूरी छ ।
अबको काम भनेको सदस्य थप्नु मात्र होइन, सदस्यहरूलाई टिकाइराख्नु पनि जरूरी छ । यसमा आउनेको विभिन्न अभिप्राय हुन्छन्, त्यसलाई बुझेर र उसलाई रोटरीबारे बुझाएर मात्र सदस्यता थप्नुपर्छ । भएका सदस्यलाई उसको क्षमता चाहनाका आधारमा धेरैभन्दा धेरै इन्गेज गराउनुपर्छ ।
दुर्गमका महिलामा सचेतना जगाउनुपर्ने छ
सरोजनी शेरचन, फर्स्ट लेडी
रोटरीजस्तो सामाजिक कार्य गर्ने संस्थाले अहिलेको समयमा स्वास्थ्य र शिक्षामै केन्द्रित भएर काम गर्नुपर्ने छ । अहिले महिलाका समस्यामा पाठेघरको क्यान्सर जस्ता कुरा आएका छन्, यस्तोमा क्लबले आफूले सक्ने ठाउँबाट काम गर्नु जरूरी छ । क्यान्सर रोगको स्किनिङ गर्ने तथा सचेतना फैलाउने जस्ता काम गर्नुपर्ने छ । विशेषगरि दुर्गमका महिलामा सचेतना जगाउनुपर्ने देखिन्छ ।
त्यसबाहेक क्लबले शिक्षा र खानेपानीका क्षेत्रमा काम गरिरहेको छ । र, यसलाई अझै बढाउनु पर्ने जरूरी छ ।
योग्य सदस्यहरूमात्रै छनौट गर्नु पर्छ
दिलबहादुर भुजेल, आईटी प्रमुख (रोटरी क्लब अफ त्रिपुरेश्वर )
रोटरी क्लब अफ त्रिपुरेश्वरको पहलमा 'इनह्यान क्वालिटी इजुकेसन इन ६ कम्युनिटी स्कुल' भन्ने प्रमुख योजना विभिन्न ६ ओटा स्कुलमा सञ्चालनमा छ । यसको लागत झण्डै १ करोड ७७ लाख (१ लाख ४८ हजार अमेरिकी डलर) छ ।
यसमा हामीले टिच (TEACH) (टिचर सपोर्ट, ई-लर्निङ, एडल्ट लिट्रेसी, चाइल्ड डेभलपमेन्ट हेप्पी स्कुल) मोडेलमा काम गरेका छौं । यसमा नुवाकोटका २, सिन्धुपाल्चोक १ र काठमाडौंका ३ सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।
यसबाहेक उदयपुर र सिरहामा 'ब्याक टु स्कुल' कार्यक्रम सञ्चालनमा छ । यसमा आर्थिक अभावका कारण विद्यालय जान नपाएका विद्यार्थीको सम्पूर्ण खर्च क्लबले बेहोर्ने र उनीहरूलाई स्कुल पुर्याउने काम भइरहेको छ । यसका लागि क्लबले 'इच वान टिच वान' योजना बनाएको छ । जसमा हरेक एक सदस्यले एक जना बच्चाको शिक्षाको जिम्मा लिइएका छन् ।
त्यस्तै, हामीले तिलगंगा अस्पतालसँग सहकार्य गरेर 'गिफ्ट अफ भिजन'को कार्यक्रम सञ्चालन गरिरहेका छौं । आर्थिक अवस्था कमजोर भएका आँखाका बिरामीलाई क्लबले सहयोग गर्दै आएको छ । क्लिन त्रिपुरेश्वरबाट शुरू भएको अभियान अहिले ग्रीनभ्याली ग्रीन नेपालसम्म पुगेको छ ।
हामी रोटरीका ७ ओटा क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएका छौं । यस्ता योजना सफल पार्न योग्य सदस्यहरूमात्रै छनोट गर्नु पर्छ ।
समाजमा केही गर्ने योजना छ
हरि काफ्ले, नयाँ सदस्य, रोटरी क्लब अफ त्रिपुरेश्वर
रोटरीले गर्ने समाजसेवा स्वच्छ भावनाले हुने गरेको देखेको छु । त्यसैले म पनि यसको सदस्य बनेर यसमा जोडिएको छु । लिडिङ बाइ डुइङमा विश्वास राख्छु । म म्यानेजमेन्ट विद्यार्थी हो र लेखक पनि हो । म लिडरसिपमा विश्वास गर्छु । स्वच्छ भावनाले काम गरे त्यसको पछाडि हरकोही खडा हुन्छ र स्रोत पनि जुट्छ ।
विश्वका विभिन्न देशमा गएर विभिन्न क्षेत्र (फाइनान्स, दूतावास, युएनडीपी, वर्ल्ड बैंक) मा काम गरेको अनुभव मसँग छ । त्यसैले मेरो अनुभव शेयर गर्दै स्वच्छ भावनाले अन्य सहयोगी सहयात्रीहरूलाई पनि अभिप्रेरित गर्दै समाजमा केही गर्ने योजना छ र त्यो गर्न सक्छु भन्ने आत्माविश्वास लिएर क्लबमा आवद्ध भएको छु ।