काठमाडौं। कुमारी बैंकले काठमाडौंको बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले हात्तिगौंडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका वडा नं ४ को समन्वयमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दुई सयभन्दा बढी महिला तथा युवा उद्यमीको सहभागीता रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम केसीको उपस्थितिमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाका लागि उद्यमशीलता प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको वडा नं ४ का अध्यक्ष केसीले बताए ।
वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकको छ । बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो र सचेतनामूलक सन्देश विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको बताइएको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका आफ्ना ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।