अदुवाको व्यावसायिक खेती हुन थालेपछि सिन्धुलीका किसानले यसबाटै वार्षिक ४ करोड रुपैयाँ भन्दाबढी आम्दानी गर्न थालेका छन् । जिल्लाका व्यावसायिक अदुवाखेती गर्ने र अन्य गरी करीब १ हजार १ सय किसानले अदुवाखेती गर्दै आएका छन् । हाल जिल्लाको ३ सय ५५ हेक्टर जमीनमा अदुवाखेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । गतवर्ष सिन्धुलीका किसानले ४ हजार ९ सय १५ मेट्रिकटन अदुवा विक्री गरेको कार्यालयको तथ्याङ्क छ ।
अदुवा उत्पादनका लागि जिल्लाको अरुणठाकुर, ककुरठाकुर, भद्रकाली, निपाने गाविसलाई जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रका रूपमा घोषणा गरी अनुदान सहयोग गर्दै आएको छ । त्यस्तै, कमलामाई नगरपालिका, जलकन्या, बितिजोर, मझुवा, रतनचुरा, आम्बोटे, अमले, बस्तीपुरलगागत जिल्लाका २५ गाविसमा पनि व्यावसायिक अदुवाखेती भइरहेको छ । ककुरठाकुर र अरुणठाकुर गाविसमा मात्र ५ सय कृषकले व्यावसायिक अदुवाखेती गर्दै आएको कृषि विकास कार्यालय सिन्धुलीका वरिष्ठ कृषि अधिकृत डोरबहादुर रायमाझीले बताए । ‘जिल्लामा अदुवाखेती गर्ने एक किसानले वार्षिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी लिने गरेका छन्,’ उनले भने, ‘आन्तरिक र बाह्य खपतबाट सिन्धुलीका किसानले वार्षिक झण्डै ५ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।’
सिन्धुलीका केही किसानले करीब डेढ दशक अघिबाट अदुवाखेती शुरू गरेका थिए । हाल भने प्रायः सबै कृषकले व्यावसायिक अदुवाखेती गर्न थालेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा समेत सडकको सुविधा पुगेका कारण अदुवाको बजारीकरणमा कुनै समस्या नहुने भएपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । जिल्लामा अदुवा उत्पादन वार्षिक १० देखि १५ प्रतिशतले वृद्धि हुँदै गएको अधिकारीको भनाइ छ । सिन्धुलीमा उत्पादित अदुवा छिमेकी जिल्ला रामेछाप, सर्लाहीको लालबन्दी, धनुषाको ढल्केबर, उदयपुरको कटारी, सिरहाको मिर्चैया हुँदै भारतको बजारसम्म पुग्ने गरेको छ ।
सिन्धुलीमा उत्पादित अदुवाले अझै पनि माग धान्न सकेको छैन । त्यसैले पनि जिल्लाका किसानले यसलाई जुनारपछिको मुख्य बालीका रूपमा लिएका छन् । जिल्लामा स्थानीय नसे, विकासे, बोसे, भोजपुरे, इलामे, धनकुटे र कपुरकोट–१ जातका अदुवाको व्यावसायिक खेती गरिँदै आएको छ । अदुवाको बीउ विकास गर्दै खेतीलाई निरन्तरता दिन सक्ने हो भने यसले जिल्लाको विकासमा समेत महइभ्वपूर्ण भूमिका खेल्न सक्ने कृषि विकास कार्यालयले बताएको छ । तर, जिल्लाका किसान भने अदुवा प्रशोधनका लागि आधुनिक मेशिन, अदुवामा लाग्ने रोगको समयमै पहिचान तथा उपचार, नयाँ प्रविधिको बीउको उत्पादन, अदुवाखेतीका लागि प्राविधिक र दक्ष जनशक्ति तथा तालीमको अभाव र बजारसम्म कृषकको पहुँच पुग्न नसक्दा समस्या परेको बताउँछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.