काठमाडौं । भारत सरकारले बास्मतीबाहेकको चामल र गहुँ निर्यातमा रोक लगाएका बेला नेपाल सरकारले पनि व्यापारिक प्रयोजनका लागि आयात हुने खाद्यान्नमा १० प्रतिशतसम्म अग्रिम आयकर लिने व्यवस्था गरेपछि खाद्यान्नको भाउ बढ्ने आशंका गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटसँगै ल्याएको आर्थिक विधेयकमा खाद्यान्न आयात गर्दा भन्सारमा वस्तुअनुसार १ दशमलव ५ देखि १० प्रतिशतसम्म अग्रिम आयकर लिने व्यवस्था छ । यसअघि ५ प्रतिशतसम्म अग्रिम आयकर लिने व्यवस्था थियो ।
‘भारतबाट धान आयात गर्दा भारत सरकारलाई २० प्रतिशत निर्यात कर तिर्नुपर्छ,’ नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले भने, ‘यसकारण महँगो भएको धान नेपाल आयात गर्दा थप अग्रिम आयकर तिर्नुपर्दा मूल्य बढ्न गई उपभोक्तालाई महँगीको भार पर्छ ।’ अधिकांश धानमिलले भारतबाट धान ल्याई चामल बनाएर नेपालमा विक्री गर्छन् ।
आर्थिक विधेयकको प्रावधानअनुसार धान आयातमा २ र दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर लाग्छ । ‘अहिले हामीले धान आयात गर्दा भारतलाई २० प्रतिशत निर्यात कर तिर्छौं, नेपाल सरकारलाई ५ प्रतिशत कृषि सेवाशुल्क र २ प्रतिशत अग्रिम आयकर तिर्दा २७ प्रतिशत शुल्क बुझाउनुपर्ने अवस्था छ,’ अग्रवालले भने ।
यसो हुँदा चामलको मूल्य बोरामा १०० रुपैयाँसम्मले महँगिने उनको भनाइ छ । दालमा १० प्रतिशत अग्रिम आयकर तिर्दा किलोमै १० देखि १५ रुपैयाँसम्म महँगो भइसकेको उनले आर्थिक अभियानसँगको कुराकानीमा बताए । भन्सारमा १० प्रतिशत अग्रिम आयकर कर बुझाउनुपर्नेमा अधिकांश दैनिक उपभोग्य वस्तु रहेका छन् । सरकारले आलु र प्याज आयात गर्दासमेत १० प्रतिशत अग्रिम आयकर असुल्ने भएको छ । मैदा, आँटा र पिठो आयातमा २ दशमलव ५ प्रतिशत अग्रिम आयकर लिन थालेको छ । तरकारी, आलु, प्याज, माछालगायतमा उच्च दरको अग्रिम आयकरले यस्ता वस्तुको मूल्य आकाशिने र आम उपभोक्ता मारमा पर्ने व्यवसायीको दाबी छ । ‘अहिले बढाइएको अग्रिम आयकर पहिलाजस्तो आयातकर्तालाई फिर्ता हुँदैन,’ आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्द गुप्ताले भने, ‘नयाँ व्यवस्थाअनुसार लिइएको अग्रिम आयकर पछि व्यवसायीको आयकर दायित्वमा मिलान गर्ने हो । मिलान हुन नसके खर्च दाबी गर्न मिल्छ ।’
उनका अनुसार कर मिलान र खर्च दाबी कारोबार गरेको वर्ष नै गर्नुपर्ने व्यवस्था नयाँ आर्थिक ऐनमा गरिएको छ । यसअघि सोही आर्थिक वर्षमा मिलान नभए अर्को आर्थिक वर्षको लागि कर फिर्ता दाबी सार्ने व्यवस्था थियो ।
अग्रिम आयकर फिर्ता नहुने व्यवस्थाले आयातित खाद्यान्नको भाउ थप बढाउने विभागका एक पूर्वमहानिर्देशकले आर्थिक अभियानलाई बताए । सरकार भने देशभित्रै पर्याप्त मात्रामा उत्पादन हुने गरेका वस्तुको आयात कम गर्न र त्यस्ता वस्तुको उत्पादन देशभित्रै बढाउन यस्तो कर लगाइएको बताउँछ । सरकारले देशभित्रै उत्पादन हुने धेरै खाद्यान्नबाट घरेलु आवश्यकता पूरा भएर बचत हुने बताउँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आव २०७८/७९ मा नेपालमा चामल, मकै, कोदो, गहुँ, जौ र फापरसहित ७१ लाख १० हजार ८०० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । मन्त्रालयका अनुसार नेपालमा वार्षिक ५४ लाख ६१ हजार ३०० मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । त्यस हिसाबले १६ लाख ४९ हजार ५०० मेट्रिक टन खाद्यान्न बचत भएको देखिन्छ । तर, भन्सार विभागको तथ्यांकअनुसार सोही वर्ष १६ लाख ६ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । व्यवसायी भने भारतबाट खाद्यवस्तु नल्याए मिल चलाउनै गाह्रो हुने बताउँछन् । भारतबाट सस्तोमा कृषि सामग्री आउने भएकाले नेपाली उत्पादनले बजार नपाउने स्थिति लामो समयदेखि रहँदै आएको छ ।
गत बुधवार बजेटमाथि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वर्षमान पुनले आगामी दिनमा आयातित वस्तुको मूल्य बढ्ने स्पष्ट पारेका थिए । मन्त्री पुनले आयातमा अग्रिम आयकर लगाउँदा स्वदेशी कृषि बजार संरक्षित हुने दाबी गर्दै आएका छन् ।
आन्तरिक उत्पादनलाई संरक्षण गर्न कृषिजन्य वस्तुको आयातमा अग्रिम आयकर लगाइएको र आयात प्रतिस्थापनका लागि १० प्रतिशत अग्रिम आयकर लगाइएकाले आयातित वस्तु स्वाभाविक रूपमा महँगो र हाम्रो कृषि बजार संरक्षित हुने उनको विश्वास छ ।