गत बिहीवारदेखि शनिवारसम्मको अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभरमा ६ अर्बभन्दा बढीको बालीनाली तथा पशुधन क्षति भएको प्रारम्भिक तथ्यांकले देखाएको छ । देशभरबाट विवरण अद्यावधिक हुने क्रम जारी नै रहेकाले क्षतिको आँकडा योभन्दा बढी हुने देखिन्छ । मुलुकको आर्थिक वृद्धिदरमा सुधार हुने अपेक्षा गरिरहेका बेला यसले अर्थतन्त्रलाई थप समस्यामा पार्न सक्छ र थप नेपालीलाई गरीबीतर्फ धकेल्न सक्छ । त्यसैले सरकारले कृषिक्षेत्रको क्षतिलाई गम्भीरताका साथ लिएर किसानहरूको मनोबल जोगाउन आवश्यक छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा झन्डै एक चौथाइ अंश कृषिक्षेत्रको छ । त्यसमा पनि धानको अंश बढी छ । धान उत्पादन बढी भएको वर्ष नेपालको आर्थिक वृद्धिदर उच्च रहेको देखिन्छ । यस वर्ष पनि मौसमअनुकूल भएकाले धान उत्पादन बढ्ने र सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पुग्न सक्ने विश्लेषण भइरहेको थियो । तर, ठूलो वर्षाले कृषि बालीमा व्यापक क्षति पुर्याएको छ । सरकारले प्रारम्भिक अनुमान गरेअनुसार सबैभन्दा बढी नोक्सान कृषिक्षेत्रले नै बेहोरेको देखिन्छ तर पूर्ण विवरण आएपछि यो अझै बढ्ने सम्भावना छ ।
बाढीपहिरोले नोक्सान पुर्याएको मात्र होइन, सडक सम्पर्क विच्छेद हुँदा कृषि बालीले बजार नपाउने समस्या पनि आएको छ । कतिपय किसानको तरकारी बजारमा पठाउन समस्या भएको छ । त्यस्तै अहिले नेपाली स्याउले राम्रो बजार पाइरहेको छ तर सडक सञ्जाल भत्किएकाले त्यसलाई बजारसम्म पुर्याउन समस्या भएको छ । यस्ता थुप्रै अन्य बाली पनि छन् । त्यसैले बाढीले कृषिक्षेत्रमा बहुआयामिक असर पुर्याएको छ । बाढीले कृषिक्षेत्रमा पनि क्षति पुर्याएको छ । कुलो बगाएको छ । आन्तरिक बसाइँ व्यापक भइरहेको सन्दर्भमा जसोतसो कृषि पेशा अपनाएर गाउँमा टिकिरहेको वर्गलाई अहिलेको क्षतिले आन्तरिक बसाइ सर्न बाध्य बनाउन सक्छ किनभने घर र खेत दुवै बगाएको अवस्थामा गाउँमा टिक्ने आधार नै खोसिएको छ । नेपालको कृषि निर्वाहमुखी छ । ग्रामीण क्षेत्रका अत्यधिक जनता कृषिमा नै निर्भर छन् । कृषिमा निर्भर जनसंख्याको आर्थिक हैसियत उच्च छैन । दुखजिलो गरेर दुई छाक हातमुख गर्न सक्ने अवस्थाका किसानलाई यो बाढी र पहिरोले गरीबीतर्फ धकेल्ने सम्भावना देखिन्छ ।
नेपालमा यसै पनि कृषि पेशामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिएको छैन । दुखिया पेशा मानिने कृषिमा जोखिम पनि बढेको बढ्यै छ । त्यसैले कृषि क्षेत्रमा लाग्ने जनसंख्या र कृषि उत्पादन पनि घट्ने सम्भावना छ । त्यसैले सरकारले कृषिक्षेत्रका क्षतिलाई गम्भीरतापूर्वक लिएर किसानहरूलाई राहत दिन आवश्यक छ । यस्तो राहत नगदभन्दा पनि उनीहरूलाई कृषिमा लाग्न सहयोग पुग्ने खालको हुनु उपयुक्त हुन्छ । यस्तो समस्या बारम्बार आइरहने हुँदा किसानहरूलाई कृषि बीमा गर्न उत्प्रेरित गर्न आवश्यक छ । सरकारले ७५ प्रतिशतसम्म अनुदान दिएर किसानहरूलाई बीमा गर्न प्रोत्साहन दिने नीति लिएको छ । तर, सरकारले बीमा कम्पनीहरूलाई दिनुपर्ने दायित्वबापतको रकम उपलब्ध नगराएकाले अहिले यो बीमा स्थगित भएको अवस्था छ । यद्यपि यस्तो सुविधा सर्वसाधारण किसानको पहुँचमा नपुगेको आशंका छ । अहिले कृषि उपजको बजारीकरणमा समस्या छ । सरकारले दशैंलाई लक्षित गरी यात्रुहरूलाई गन्तव्यमा पुर्याउन बढी लागिपरेको छ जुन आवश्यक पनि छ । साथसाथै, कृषि उत्पादनलाई बजारमा पुर्याउन विशेष ध्यान दिनु आवश्यक छ । कृषि जोखिमको व्यवसाय हो । त्यो जोखिम कम गर्न र लागत कम गराउन सरकारले विविध सहयोग गर्नुपर्छ । त्यसैले कृषिक्षेत्रमा भएको अहिलेको क्षतिबाट सरकारले तत्कालका लागि राहत दिने मात्र होइन, दीर्घकालीन रणनीतिसमेत बनाउन आवश्यक देखिन्छ ।