logo
विद्युत् व्यापारमा फड्को
विद्युत् व्यापारमा फड्को

जसरी बीमा गर्दा जोखिमको वितरण हुन्छ त्यसैगरी बढ्दो भूराजनीतिक जोखिमको बीचमा रहेको नेपालले पनि बंगलादेश र चिनियाँ बजार खाज्ने काममा भारतलाई नचिढ्याई अघि बढ्नपर्छ ।

A
१८ आश्विन २०८१

बंगलादेशमा भएको विद्यार्थीहरूको विद्रोह र सरकार परिवर्तनले अनिश्चित बनेको विद्युत् निर्यातले बिहीवार भने ठोस रूप लिएको छ । बिहीवार नेपाल, भारत र बंगलादेश बीच त्रिपक्षीय सम्झौता भएसँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो । सम्झौतापछि नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने पक्काजस्तै भएको छ । अब भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट उसको नियमअनुसार निर्यात अनुमति पाएपछि नेपालले बिजुली बंगलादेश निर्यात गर्न सक्नेछ । यो विद्युत् व्यापारमा नयाँ फड्को हो र यसले थप विद्युत् उत्पादन र व्यापार विस्तारका लागि बाटो खुलेको पनि छ ।  नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार नेपालले वर्षायामका ५ महीना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टको दरमा भारतीय प्रसारण लाइन हुँदै दैनिक ४० मेगावाटका दरले बंगलादेशलाई विद्युत् बेच्न पाउने भएको छ । यसअनुसार नेपालले ५ महीनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्नेछ जसबाट ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी गर्ने प्राधिकरणको भनाइ छ । 

भारतले नेपालको बिजुलीमा चासो नदिएकाले सम्भावना भएर पनि बिजुली उत्पादनमा ठूलो लगानी आएको थिएन । अहिले भारतले आफैले पनि लगानी गरेको छ भने तेस्रो मुलुकको लगानी नभएका परियोजनाको बिजुली उसले खरीद गरिरहेको छ । यद्यपि नेपालमा अत्यधिक आयोजना नदीप्रवाही भएकाले सुक्खा याममा भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ । बंगलादेशमा विद्युत् निर्यात गर्न भारतलाई नमनाई सम्भव छैन । अहिले बंगलादेशमा सत्ता परिवर्तन भएसँगै भारत र बंगलादेशको सम्बन्ध त्यति न्यानो देखिएको छैन । यस्तो अवस्थामा पनि त्रिदेशीय सम्झौता हुन सक्नु निकै सकारात्मक विषय हो ।  विद्युत् व्यापार मात्र होइन, उत्पादनमा पनि त्रिदेशीय लगानीको अवधारणामा अघि बढ्नु आवश्यक छ । बंगलादेशले सन् २०४१ सम्म नवीकरणीय ऊर्जाको अंश बढाएर ४० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । यसका लागि नेपाल तथा भुटानलगायतबाट जलविद्युत् आयात गर्ने रणनीतिमा बंगलादेश रहेको छ । त्यसैले बंगलादेश नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न पनि इच्छुक छ । तर, दुई देशबीच ऊर्जा व्यापारका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले नेपाल र बंगलादेशले संयुक्तरूपमा बनाउने भनिएको सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा भारतलाई पनि सहभागी गराउन नेपाल र बंगलादेश राजी भएका छन् । भारत पनि परियोजना निर्माणमा संलग्न भए त्यसबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्न सहज हुने देखिन्छ । भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने भएकाले यसमा भारतलाई पनि संलग्न बनाउँदा निर्यात सुनिश्चित हुन्छ । ऊर्जा रणनीतिक महत्त्वको वस्तु भएकाले भारतको नीति परिवर्तन नहोला भन्न सकिँदैन जुन विगतमा देखिएको पनि हो । त्यसैले त्रिदेशीय अवधारणामा बिजुली उत्पादन र व्यापारमा सहभागिता दूरदर्शी रणनीति साबित हुन सक्छ । यद्यपि सबै देशले आआफ्नो स्वार्थ हेर्ने भएकाले नेपालले ज्यादै सोचविचार गरेर सम्झौता गर्नु आवश्यक छ । 

नेपालले विद्युत् व्यापारका लागि भारतीय निर्भरतामा मात्र लाग्दा कुनै दिन समस्या आउन सक्छ । त्यसो हुँदा नयाँ बजारको खोजी गर्नु पनि उत्तिकै आवश्यक छ । जसरी बीमा गर्दा जोखिमको वितरण हुन्छ त्यसैगरी बढ्दो भूराजनीतिक जोखिमको बीचमा रहेको नेपालले पनि बंगलादेश र चिनियाँ बजार खाज्ने काममा भारतलाई नचिढ्याई अघि बढ्नपर्छ । सबैभन्दा महङ्खवपूर्ण देशमै औद्योगिकीकरण गरी अधिकतम बिजुली देशभित्रै खपत हुने वातावरण बनाउनु जरुरी छ ।  भूसामरिक पक्षमा विशेष सतर्कता अपनाउन सकिएन भने अहिले भैरहवा र पोखरा विमानस्थलमा भारतीय असहयोगले समस्या भोग्नुपरे जस्तो नियति नआउला भन्न सकिँदैन । यस्तोमा हाइड्रोजन उत्पादन एउटा बलियो विकल्प हुन सक्छ । तर, त्यसको विकासका लागि अनुसन्धान र लगानी आवश्यक छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.